छठ पर्वका लागि काठमाडौंका १७ स्थानमा घाट निर्माण तथा व्यवस्थापनको तयारी तीव्र – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

छठ पर्वका लागि काठमाडौंका १७ स्थानमा घाट निर्माण तथा व्यवस्थापनको तयारी तीव्र

काठमाडौं । छठ पर्व नजिकिएसँगै काठमाडौं उपत्यकाका विभिन्न नदी किनार, तलाउ तथा जलाशयमा घाट निर्माण, सरसफाइ र व्यवस्थापनको काम तीव्र पारिएको छ ।

पछिल्ला वर्षमा काठमाडौंमा छठ पर्व मनाउनेको सङ्ख्या बढ्दै गएपछि यस वर्ष पनि उपत्यकाका विभिन्न १७ स्थानमा छठ पूजाका लागि आवश्यक तयारी भइरहेको छ ।

गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, बागमती नदी किनार, टेकु र वंशीघाटलगायत स्थानमा छठ घाट निर्माण तथा व्यवस्थापनको काम भइरहेको छ । छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्ने धार्मिक परम्परा छ । चार दिनसम्म विभिन्न विधि र आस्थाका साथ मनाइने यस पर्वमा व्रतालु नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर सूर्यको उपासना गर्छन् ।

गौरीघाटस्थित छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंहका अनुसार गौरीघाटमा मात्रै ५५७ जना व्रतालुले पूजा गर्न सक्ने गरी घाट निर्माण भइरहेको छ । घाटमा पाल टाँग्ने, बत्तीको व्यवस्था गर्ने, नदी किनार सरसफाइ गर्ने तथा आवश्यक पूर्वाधार तयार पार्ने काम भइरहेको उनले जानकारी दिए ।

“काठमाडौंमा पनि छठ मनाउने परम्परा बढ्दै गएको छ । हामीले तयारी अन्तिम चरणमा पुर्‍याएका छौँ । अहिले पाल टाँग्ने र सरसफाइ गर्ने काम भइरहेको छ,” सिंहले भने ।

उनले अस्ताउँदो र उदाउँदो सूर्यको आराधना गरिने छठ पर्वको धार्मिक महत्व ठूलो रहेको बताए । मनोकामना पूरा हुने विश्वासका साथ पनि छठको व्रत बस्ने परम्परा रहेको उल्लेख गर्दै उनले व्रतालुलाई सहज रूपमा पूजा गर्ने वातावरण बनाउन आफूहरू जुटेको बताए ।

काठमाडौंमा छठ पर्व मनाइने प्रमुख स्थानमा गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, बागमती नदी किनारको थापाथली, टेकु, वंशीघाट, कुपण्डोल र बल्खु क्षेत्र रहेका छन् ।

त्यसैगरी विष्णुमती नदी किनार, नख्खु नदी किनार, तीनकुने दोभान, टङ्केश्वर, बोक्सीदह, कुलेश्वर, रामघाट तथा बालाजुस्थित बाइसधारामा पनि छठ पूजा गरिँदै आएको छ ।

काठमाडौं महानगरपालिकाले विगतका वर्षमा कमलपोखरी, गौरीघाट, बोक्सीदह, बागमती दोभान, टङ्केश्वर, बल्खुस्थित कुमारी क्लब क्षेत्र, कुलेश्वर भलिबल ग्राउन्ड र रामघाटलाई छठ पूजाका प्रमुख स्थलका रूपमा व्यवस्थापन गर्दै आएको छ । बालाजु बाइसधारा र वंशीघाटलगायत स्थानमा पनि पर्वका अवसरमा घाट निर्माण तथा व्यवस्थापन गरिन्छ ।

छठ पर्वअन्तर्गत कात्तिक २८ गते शनिबार खरना विधि गरिनेछ । कात्तिक २९ गते आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गरिनेछ भने कात्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व समापन हुनेछ ।

सम्बन्धित समाचार

मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
  • २०८३ कार्तिक २७, १६: ४७

काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...

भक्तपुरको प्रजापति कम्प्लेक्समा आगलागी
भक्तपुरको प्रजापति कम्प्लेक्समा आगलागी
  • २०८३ कार्तिक २७, १६: ४७

भक्तपुर । भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको एक रेस्टुरेन्टमा शनिबार बिहान आगलागी भएको छ। शनिबार बिहान करिब ७...

छठ पर्वको दोस्रो दिन आज ‘खरना’
छठ पर्वको दोस्रो दिन आज ‘खरना’
  • २०८३ कार्तिक २७, १६: ४७

काठमाडौं : मधेसको प्राचीन मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ। चार दिने यो पर्वको दोस्रो दिन बर्तालु आज ‘खरना’...