धनराजले रातो पासपोर्टमा मलाई फसाएः रामचन्द्र अधिकारी – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper
२०५६ सालकाे राताे पासपाेर्ट दुरूपयाेग काण्ड

धनराजले रातो पासपोर्टमा मलाई फसाएः रामचन्द्र अधिकारी

 

नयाँ विकल्प,


काठमाडौं – नेपाली कांग्रेस नेता तथा विश्व हिन्दू महासंघका पूर्वअध्यक्ष, पूर्व सहायकमन्त्री रामचन्द्र अधिकारी यतिवेला राजनीतिकै कारण निरासामा छन् ।

धार्मिक प्रवृत्ति गौप्राणी अधिकारी निरासाका कारण राजनीतिबाट झण्डै झण्डै पलायन समेत हुन पुगेका थिए । तर दृढ इच्छा शक्ति भएका आयुर्वेद क्षेत्रका बिज्ञ उनी आज कांग्रेसमा महासमिति सदस्यको हैसियतमा सीमित छन् ।

उनीसँगै राजनीति गरेकाहरु अहिले पनि चुनाव लडिरहेका छन्, सांसद र मन्त्री भएका छन् तर उनलाई बीचमा एउटा गम्भिर आरोप लगाइयो । पासपोर्ट काण्ड रचियो । जुन काण्डका नायक वा षडयन्त्र, तिकडम र जालझेलका खलनायक थिए, तत्कालिन नेपाल तरुण दलका महामन्त्री धनराज गुरुङ, जो आज कांग्रेसका एक से एक नेताले अनुशासन पालना गरे नगरेको निष्कर्ष दिने तहमा पुगेका छन् ।

निमेष भरमै आफ्नो विरोधीलाई ठेगान लगाउन अनुशासनको डण्डा प्रहार गर्ने त्यो शक्तिशाली अनुशासन विभागको सदस्य भएका गुरुङले अधिकारीलाई रातो पासपोर्ट बेचेको भन्दै फसाए। तर अधिकारीले त्यो आरोपबाट सफाई पाए ।

‘त्यसमा मेरो कुनै दोष नै देखिएन । मैले सफाई पाएँ । तर पनि राजनीतिमा मलाई फसाउन त्यो घटना गराइएको थियो कि जस्तो लागेको छ । त्यो घटना सम्झेर के काम लाग्छ र बाबु ?’, अधिकारीले नयाँ विकल्पसँग प्रश्न गरे ।

आफू त्यो रातो पासपोर्टको बारेमा थाहै नभएको तर एक दिन धनराज गुरुङले ‘हामीलाई अलिकति सहयोग गर्नु पर्याे दाइ, हामी त्यसलाई दुरुपयोग गर्दैनौं’, यताउति भनेर फकाएको अधिकारी सम्झन्छन् ।

‘म त सोझो मान्छे, साथीभाइले भनेपछि हार्न नसक्ने । धनराजले पासपोर्ट लगेर कहाँ राखेको थियो, त्यही ठाउँमा सिज गरेर समातेर बाहिर आयो । त्यसबेला उसले अरु सांसदको पनि पासपोर्ट त्यसै गरी लगेको रहेछ । उसले के गर्छु भनेर लगेको हो, मलाई थाहा भएन । कहीँबाट सन्चालित थियो कि भन्ने पनि लाग्यो’, अधिकारीले भने ।

आफूलाई ड्यामेज गर्नका लागि उनलाई युज गरेको हो कि ? तर कुनै स्वच्छ र सही तरिकाले मेरो पासपोर्ट लगेको होइन रहेछ । कुनै डिजाइनमा गरेको थियो भन्ने घटनाक्रमले बुझ्न सकिन्छ । मेरोमात्र होइन, हस्तबहादुर मल्ललगायतको पनि थियो, तर उनीहरुले पनि पछि टिकट पाए, आफूलाईचाहिँ कारवाही गरेको अधिकारी झलझली सम्झन्छन् ।

‘म उनीप्रति (धनराजप्रति) कुनै नकारात्मक टिप्पणी पनि गर्दिनँ । तर त्यो सही र गलत को हो भन्ने प्रकृति र नियतिले पनि एकदिन छुट्याउनेछ भन्ने मलाई विश्वास छ । म अध्यात्ममा विश्वास राख्ने मान्छे । हामीले कसैलाई केही भन्नु पर्दैन । त्यो परिस्थिति घटनाक्रमले ती मान्छे कस्ता हुन् भन्ने अन्तिमसम्ममा चिनिने छन्’, अधिकारीले भने ।

२०५६ सालको आमचुनावमा टिकट बाँड्ने बेलामा अधिकारीलाई कारवाही गरिएको थियो । चुनाव अगाडि कारवाही गरिए पनि सबैभन्दा बढी भोट लमजुङमा उनकै निर्वाचन क्षेत्र र एरियाबाट कांग्रेसलाई आएको थियो । आफू कारवाहीमा परेपनि घर–घरमा गएर कांग्रेसको पक्षमा उनले भोट मागेका थिए ।

चुनाव प्रचारमा जाने बेलामा कांग्रेसका तत्कालिन सभापति गिरिजा प्रसाद कोइरालाले अधिकारीलाई ‘राम्रो गरेर आउनुस्, म कारवाही फुकुवा गरिदिन्छु’ भनेको झल्झली सम्झन्छन् । तर त्यसबेला नेपाली कांग्रेसका खुमबहादुर खड्का र उनी मार्काका नेता, कार्यकर्ताको जगजगी थियो ।
तरुण दल महामन्त्री गुरुङ तत्कालिन प्रभावशाली नेता खड्काका खास मान्छे थिए ।

सरकारमा भए गरेको भ्रष्टाचार र अनियमितताको विषयमा अधिकारी बारम्बार संसदमा बोल्ने गर्दथे । एक दिन उनलाई प्रतिनिधिसभा अघि सिंहदरबारमा त्यस बेलाका प्रभावशाली नेता खड्काले चोरी औंला ठड्याँदै भनेका थिए –‘रामचन्द्रजी सरकारको विरोध वा भ्रष्टाचारको विषयमा धेरै कुरा उठाउँदै हुनुहुन्छ, परिणाम ठीक हुन्न है । तपाइँ अलिक बड्ता हुनुहुँदैछ ।’

खड्काले धम्क्याएको केही समयपछि नै अधिकारी रातो पासपोर्ट अपचलनको अभियोगमा फसेका थिए । न्यायलबाट सफाई पाएपछि २०५६ सालको चुनावमा कांग्रेसले बहुमत ल्यायो , चुनाव सकिएपछि उनलाई पार्टीले कारबाही पनि फुकुवा गरिदियो ।

‘पार्टीले कारबाही फुकुवा त गर्यो, तर ड्यामेज भइसकेपछि त्यसको के अर्थ ?’ अधिकारी प्रश्न गर्छन, ‘मैले केही गरेको थिइनँ, तर मेरो राजनीतिमा धक्का लाग्यो । तर जसले मलाई फसायो ऊचाहिँ नेता भयो ।’

अधिकारीलाई कारबाही गर्दा भने गृहमन्त्री गोविन्दराज जोशी थिए । जोशीले नै रातो पासपोर्ट प्रकरणमा अधिकारीसहित धनराजलाई पनि अभियोग लगाएर थुनाएका थिए । उनै जोशीलाई गुरुङ सदस्य रहेको कांग्रेसको केन्द्रीय अनुसाशन समितिले पाँच बर्षको लागि कारबाही गरिसकेको छ ।

जोशीले २०७४ सालको संघीय संसदको निर्वाचनमा नेता रामचन्द्र पौडेलबिरुद्ध अन्तरघात गरे÷नगरेको विषय छानबिनको पक्ष हो तर सत्य यो हो कि धनराजलाई कुनै बेला प्रहरीको कष्टडीमा थुनाउँदा गृहमन्त्री भएको जोशीलाई उनै गुरुङले हस्ताक्षर गरेको निर्णयबाट जोशीलाई पाँच बर्षसम्म पार्टीको साधारण सदस्यबाट निकालियो ।

भीभीआईपी व्यक्तिलाई दिँदै आएको रातो पासपोर्ट नेपाली कांग्रेसका केही नेताले दुरूपयोग गरेको सूचनाको आधारमा प्रहरीले अनुसन्धान गर्नुअघि केन्द्रीय लागुऔषध नियन्त्रण ब्युरोले अपरेसन चलाएको थियो । ब्युरोले अनुसन्धन अधिकृत प्रहरी नायव उपरीक्षक हेमन्त मल्ल ठकुरीलाई लागू औषधको अपरेसन गर्न जिम्मेवारी दिँदा गल्फुटारको एउटा घरमा छापा मार्दा रातो पासपोर्ट फेला परेको थियो ।

त्यसैबेला कांग्रेसका लमजुङका सांसद रामचन्द्र अधिकारीसहित केही अन्य नेताका पासपोर्ट उक्त घरमा फेला परेका थिए । प्रहरीको अनुसन्धानले कूटनीतिक रातो पासपोर्ट यसरी दुरूपयोग भएको पाएपछि गृह मन्त्रालयका तत्कालीन सहसचिव श्रीकान्त रेग्मीको नेतृत्वमा समिति बनाएर बाँकी अनुसन्धान गरेको थियो ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ श्रावण २५, १६: ३३

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ श्रावण २५, १६: ३३

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ श्रावण २५, १६: ३३

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...