प्रेस युनियनमा लम्साल एण्ड कम्पनीको ‘लूट’ – Naya Bikalpa
June 9, 2026, Tuesday      Epaper
‘लोमान्थाङ समिट’का नाममा मन्त्रालयदेखि दूतावाससम्म मगन्तेहरुको लर्को

प्रेस युनियनमा लम्साल एण्ड कम्पनीको ‘लूट’

काठमाडौं । नेपाल प्रेस युनियनले मुस्ताङमा गर्न लागेको भनिएको ‘लोमान्थाङ समिट’ का नाममा जथाभावी रकम असुलेर अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवको मिलिभगतमा ‘लूट’ मच्चाइएको छ ।
युनियनको हेटौंडा महाधिवेशनबाट अध्यक्ष बनेलगत्तै शिव लम्सालले संस्थालाई कमाउ खाने भाँडो बनाउँदै आएको गुनासो देशभरका युनियनकर्मीहरुले गर्दै आएका छन् । लम्सालको यस्तो कमाउ धन्दा रोकेर युनियनलाई पत्रकारहरुको संस्था बनाउनु पर्नेमा वरिष्ठ उपाध्यक्ष प्रेम केसी र महासचिव दिलिप पौडेलले भागबण्डाको ललिपपमा सहमति जनाएर सहयोगीको भूमिका निर्वाह गरेका छन् ।

सबैभन्दा पहिलो कुरा त ‘लोमान्थाङ समिट’ का बारेमा केन्द्रीय कार्य समितिका सदस्यहरुलाई यो कस्तो समिट हो, किन राखिएको हो र यसको उपलब्धी के हुनेछ भन्नेबारे आजसम्म पनि कुनै जानकारी नै गराइएको छैन । सदस्यहरुमात्र होइन, वरिष्ठ उपाध्यक्ष केसीले पनि युनियनकर्मीमाझ लम्सालले के गर्न खोजेको हो मैले पनि बुझ्न सकेको छैन’ यता महासचिव पनि असन्तुष्टि व्यक्त गरिरहेका छन् । लम्सालको हप्कीपछि भनेर पटक पटक सुनाउने गरेको युनियनका एक केन्द्रीय सदस्यले बताए । ती सदस्य भन्छन्, ‘वरिष्ठ उपाध्यक्षलाई नै अध्यक्षले यो हदको बेवास्ता गरेका छन् भने हामीजस्ता सदस्यको के हालत होला र हाम्रो कुरा कसले सुन्ला ?’ युनियनकर्मी माझ अध्यक्ष लम्सालका बारेमा यस्तो टिप्पणी गरेता पनि उपाध्यक्ष केसी र महाससचिव पौडेल यतिबेला समिटका नाममा उठाइएको रकमको हिस्सेदारी बन्न सकिने आश गर्दै हो मा हो मिलाएर अध्यक्ष लम्सालको पछाडि कुदिरहेका छन् ।

अर्कातिर युनियनका अन्य पदाधिकारी र सदस्यहरु लम्सालले युनियनलाई ‘प्राइभेट कम्पनी’ बनाउन लागेको गुनासो गर्दै आएका छन् । युनियनका जिम्मेवार पदाधिकारीहरुलाई नै अहिलेसम्म कार्यक्रमका बारेमा कुनै जानकारी समेत नदिनुले अध्यक्ष लम्सालले युनियनलाई कसरी एकलौटी गर्दै लगेका छन् भन्ने प्रष्ट हुन्छ । ‘लोमान्थाङ समिट’ का नाममा रकम असुल्ने धन्दा चलाउँदै आएका लम्साल, केसी र पौडेलले कोषाध्यक्ष माधव धिताललाई पूर्णतः बेवास्ता गर्दै आएका छन् ।

समिटका नाममा अहिलेसम्म भएका कुनै पनि भेटघाटमा कोषाध्यक्ष धिताललाई छैन । धिताल हेटौंडा महाधिवेशनमा शेरबहादुर देउवा खेमाबाट कोषाध्यक्षमा निर्वाचित भएका थिए । युनियनमा देउवा खेमाको उपस्थिति ज्यादै न्यून छ । अध्यक्ष लम्सालले सार्वजनिक स्थानमा प्रेस युनियनमा देउवा समूहको कुनै अस्तित्व नभएको भन्दै आगामी महाधिवेशनमा एकजना सदस्यसमेत आउन नदिने धम्की दिदै हिडेका छन् । धिताल भने यस्ता रकमहरु उठाउँदा बैंकमार्फत नआई व्यक्तिगत तवरबाट आएका रकमको हिसाब किताब नभएको हँुदा निकै डराइरहेको बुझिन्छ । युनियनको हालसम्म यस्ता कार्यक्रमहरुको आर्थिकरुपमा पारदर्शी बनाउन सकेको छैन । उता, आफ्नै टिमबाट उपाध्यक्षमा निर्वाचिन नकुल अर्याललाई पनि लम्साल एण्ड कम्पनीले पूरै कर्नरमा पार्दै आएको छ । एकाध भेटघाट बाहेक उपाध्यक्ष अर्याललाई अन्यत्र कहिंकतै सहभागी नगराइएको उनकै गुणासो छ । यसो हुँदा अर्याल पनि लम्साल एण्ड कम्पनीप्रति पूरै रुष्ट भएर भड्किएका छन् । जसले गर्दा युनियनभित्रै ‘लोमान्थाङ समिट’ पक्षधर र बेवास्तामा पारिएका गरी दुई गुट खडा हुन पुगेको छ । बेवास्तामा पारिएकाहरु समिटमा सहभागी भएर लम्साल एण्ड कम्पनीको बदमासीको साक्षी बस्न नसकिने निष्कर्षका पुगेको एक केन्द्रीय सदस्यले बताए ।

नगदै दिनेको सम्पत्ति छानविन गर्नुपर्ने माग
संघीय मन्त्रालयमात्र होइन, प्रदेशका मन्त्रालयमा पनि ल म्साल एण्ड कम्पनीले जिल्ला शाखामार्फत मन्त्रीहरुलाई यसैगरी दबाब दिएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई प्रदेशको प्रतिष्ठासंग जोडिएको विषय भएकोले सहयोग गर्न अध्यक्ष लम्सालले दबाब दिएका छन् । यतिमात्र होइन, कांग्रेसले जितेका बिभिन्न पालिका र संघ तथा प्रदेशका सांसदहरुसंग पनि रकम अभावका कारण युनियनको बेइज्जत हुने भयो भन्दै रकम असुल्दै आएका छन् । अझ रोचक कुरा त के छ भने ठूलो आर्थिक कारोवार हुने नाकाका जिल्लास्थित युनियनका अध्यक्ष र पुराना नेताहरुलाई जसरी पनि ‘लोमान्थाङ समिट’ सफल बनाउनु पर्ने र त्यसका लागि रकमको अभाब हुन पुगेकोले आवश्यक सहयोग नजुटाए राम्रो नहुने भन्दै धम्की दिएको जिल्लाका प्रेस युयिनका एक नेताले बताए । विभिन्न जिल्लाबाट केन्द्रिय सदस्यमा निर्वाचितहरुलाई प्रत्येक दिन फोनमा पैसा उठाउन निर्देशन दिएको भन्दै कतिले युनियन नै छाड्ने भन्न थालेका छन् । यसरी पटक पटक विवादित बन्दै आएका लम्सालले युनियनलाई कमाई खाने भाँडो बनाएर जीवन गुजारिरहेका छन् ।
पटक पटक पार्टीदेखि विभिन्न निकायमा उनले ठगी धन्दाको उजुरी र सामाजिक सञ्जालमा पनि छताछुल्ल भएकै हो । तर पनि पार्टीभित्र गुटका नाममा ब्रह्मालुट गर्ने लम्साल एण्ड कम्पनीको प्रेस युनियनका पदाधिकारीहरुको समेत बद्नाम भइरहेको एक केन्द्रीय सदस्यले विकल्पलाई बताए । उता पार्टीका नेताहरुलाई तपाईंको गुटलाई सहयोग गर्न यस्ता कार्य गरेको भन्दै नेताहरुसँग पनि मोटो रकम फुत्काउन बिहान बिहान नेताहरुको ढोका चहार्दै हिँड्ने लम्साललाई नगदै दिने नेताहरुको समेत सम्पत्ति खोजविन, छानविन हुनुपर्ने माग सर्वत्र उठिरहेको छ ।

मगन्ते पत्र मन्त्रालयदेखि दुतावासम्म
‘लोमान्थाङ समिट’ लाई अन्तर्राष्टिय समिटको जामा लगाएर महत्व दिएको देखाउन लम्साल एण्ड कम्पनीले एक दुईजना पत्रकारलाई नेपाल बाहिरबाट बोलाएको बताइएको छ । त्यसक्रममा भारतबाट पनि केही पत्रकारहरु सहभागी हुदैछन् भनेर त्यहि नाममा रकम असुल्नका लागि लैनचौरस्थित भारतीय दुतावाससम्म लम्साल एण्ड कम्पनीले पटक पटकको प्रयासपछि गतसाता भेटघाटको मौका पाएको थियो । स्रोतका अनुसार दूतावासका तर्फबाट प्रेस शाखामा कार्यरत एकजना जुनियर कर्मचारीले भारतबाट पत्रकारहरुले सहभागिता जनाउने विषयमा अहिलेसम्म औपचारिक कुनै जानकारी आफूहरुलाई नभएको बताएका थिए । उनले यदि भारतबाट कोही पत्रकार सहभागी हुदैछन् भने कुन मिडियाबाट को को सहभागी हुँदैछन् भनेर कार्यक्रमको विवरणसहित सहभागीहरुको सूची पेश गर्न दुतावासले भनेपछि लम्साल एण्ड कम्पनीभित्र छट्पटी शुरु भएको चर्चा युनियनभित्रै हुन थालेको छ ।

दूतावासका जुनियर कर्मचारीले यस्तो बताएपछि अध्यक्ष लम्साल, वरिष्ठ उपाध्यक्ष केसी र महासचिव पौडेल अक्क न बक्क परी फर्केको युनियनकै एक पदाधिकारीले बताए । लम्साल एण्ड कम्पनीको कमाउ धन्दा बारेमा पहिलेदेखि नै जानकार दूतावासका अधिकारीहरुले लम्साल एण्ड कम्पनीलाई पन्छाउनका लागि भारतबाट सहभागी हुने पत्रकारहरुको नाम मागेका हुन् । यतिमात्र होइन, मोदी बिरोधी कुनै पनि मिडियाका पत्रकारका नाममा दूतावासले कुनै पनि किसिमको खर्च नगर्ने सन्देश पनि दिएका थिए । युनियनका एक पदाधिकारीका अनुसार भारतबाट सहभागी बोलाउनु भन्दा पनि त्यसका नाममा पैसा जुटाउन युनियनका लम्साल, केसी र पौडेल दुतावास धाउन थालेका हुन् । भारतीय दुतावासमात्र होइन, चिनिया दुतावासमा समेत उनीहरुले सहयोगका लागि बिभिन्न च्यानलमार्फत दवाव दिएका छन् । तर प्रेस युनियनबाट बास्तबिक पत्रकारहरु बाहिरिदै गएको र अहिले संस्थामा काम नगर्ने तथाकथित पत्रकारहरु हावी भएकोले युनियनमा लागानी गर्नु बालुवामा पानी खन्याउनु जस्तै भएको भनी चिनिया दूतावासका अधिकारीहरुलाई नेपालकै खासगरी बामपन्थी पत्रकारहरुले रायसल्लाह दिएको बताइएको छ । जसका कारण चीनियाहरुले उनीहरुका लागि गेट बन्द गरिदिएका छन् ।

सम्मेलनका नाममा सिंहदरबारमा कांग्रेसले संहालेका सबै मन्त्रालयमा पुगेर लम्साल, केसी र पौडेलले कांग्रेसको भातृसंस्थाले पहिलो पटक आयोजना गर्न लागेको कार्यक्रम सफल बनाउनका लागि भन्दै आर्थिक सहयोगको हात पसारेका छन् । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीलाई वातावरणको मुद्धालाई प्राथमिकता दिइने भएकोले सहयोग जुटाइदिन अनुनय विनय गरेका छन् भने परराष्ट मन्त्री आरजु राणा देउवालाई अन्तर्राष्ट्रिय समिटमा बिभिन्न देशबाट प्रतिनिधि आउने भएकोले सहयोग जुटाइदिन भन्दै मन्त्रालयमा पुग्ने गरेका छन् । त्यसरी सहयोग जुटाइदिए बापत मन्त्री राणालाई बिशिष्ट अतिथि बनाउने प्रलोभन उनीहरुले दिएका छन् ।

समिटका नाममा रकम जुटाउनका लागि उनीहरुले कतिसम्म नाटक गरेका छन् भन्ने कुरा उद्घाटनदेखि समापनसम्मका योजनाबाट पनि प्रष्ट हुन्छ । उद्घाटन कार्यक्रम राजधानीमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवबाट गराउने तयारी भइरहेको बताइएको छ । जसमा परराष्ट मन्त्री राणा बिशिष्ट अतिथिको रुममा रहने छन् । यसैगरी उद्घाटनको भोलिपल्ट पोखरामा हुने कार्यक्रमको प्रमुख अतिथि महामन्त्री गगन थापालाई बनाउने तयारी भइरहेको भएता पनि युनियनको नेतृत्व चरम विवादित बन्दै गएको हुँदा थापाले पोखरा जान इच्छा नदेखाएको बुझिन्छ । समापन कार्यक्रम जोमसोममा राख्ने तय गरिएको बताइएको छ । तर अतिथि अहिलेसम्म तय भइसकेको छैन । त्यसका लागि लम्साल एण्ड कम्पनी मोटो रकम दिने व्यक्तिको खोजीमा छन् । (नयाँ विकल्प साप्ताहिकबाट साभार)

सम्बन्धित समाचार

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
  • २०८२ बैशाख २२, १३: ०३

काठमाडौं : नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । पद तथा गोपनीयताको...

धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
  • २०८२ बैशाख २२, १३: ०३

धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा...

नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
  • २०८२ बैशाख २२, १३: ०३

काठमाडौं : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा नवनियुक्त गृहमन्त्री सुधन गुरुङ...