–उत्तम कार्की
हाम्रो यो माया कहिल्यै नछुटोस्
पिउँदा पानीमा तिम्रै जुठो होस्…।
लक्ष्मण राईको शव्द रचना र उर्गेन दोङको संगीतको यही बोलको लोकप्रिय गीत लोभलाग्दो श्रव्यदृश्यसहित गाउँ–सहरमा घन्कँदा केहीलाई त कौतुहलले सताउँछ– यो कर्णप्रिय स्वर कसको होला भनेर । तर, धेरैलाई हेक्का छ र आत्मियता पनि । त्यसैले, जोकोहीले मुक्तकण्ठले प्रशंसा गर्छन्– गीतको शब्द, संगीत, स्वर, अभिनय सबै उत्कृष्ट छन् । यतिमात्रै होइन– मायाप्रीति, भूगोल, मौलिक संस्कृति, भेषभूषा, राष्ट्रप्रेम आदि विविध विशेषताले भरिएका अन्य थुप्रै गीत छन्– उनको आवाजमा सजिएका ।
यद्यपि विक्रम सम्वत् २०७९ मा सार्वजनिक भएको यही गीतले उनलाई अझ प्रष्ट चिनायोे, स्थापित गरायो अनि चर्चित पनि बनायो । असीमित कलाका धनी उनलाई बहुप्रतिभाकी प्रतिमूर्ति भन्दा अत्युक्ति नहोला । कतै नेपाली सांगीतिक आकाशमा उज्यालो थप्नका लागि उनको जन्म भएको त होइन भन्ने लाग्छ । प्रसंग– गायन जगतकी प्रखर नक्षत्र, नयाँ पुस्ताकी होनहार गायिका बेनिशा पौडेलको हो ।
बेनिशाको जन्म २०५८ साल साउन ३१ गते झापा जिल्लाको हालको दमक नगरपालिका–१० मा पूण्य पौडेल र मेनकाका १ छोरा तथा १ छोरीमध्ये दोस्रो सन्तानको रूपमा भएको हो ।
मध्यमवर्गीय परिवारका बेनिशाको बाल्यकाल साथीसंगीको तुलनामा सुखद्–पृथक रह्यो । अध्ययनका अलावा अतिरिक्त क्रियाकलापमा सदा अब्बल उनलाई करिव ४ वर्षको उमेरमा घरबाट पैदल १० मिनेटको दुरीमा रहेको ‘ब्राइटर बोडिङ स्कुल’मा भर्ना गरियो । त्यहाँबाटै २०७५ मा एसइइ पास गरिन् ।
अब भने बेनिशाको दैनिकीमा केही परिवर्तन आयो । आफ्नो परिचय दिनसक्ने बेलाबाटै गीतसंगीत भनेपछि हुरुक्कै हुने उनी उच्च शिक्षा अध्ययनसँगै रोजाइकै क्षेत्रमा लागेर भविष्य खोज्ने निधोमा पुगिन् । अनि काठमाडौं भित्रिइन् । त्यतिबेला उनलाई बस्न–अध्ययन गर्न मध्यबानेश्वर क्षेत्र अनुकुल बन्यो । र त त्यहींको रत्नरज्यलक्ष्मी क्याम्पस भर्ना भइन् । त्यही दौरानमा साथीभाई, आफन्तहरूको सरसंगतले संगीत क्षेत्रतर्फ पो बढी आकर्षित भइन् ।
‘म सानैदेखि रमाइलो स्वभावकी थिएँ । चञ्चले र रसिक भएकाले नै होला यसै क्षेत्र–विधा रोजें । पहिलेबाटै एफएम, टिभीमा बजेका गीत सुनेर एक्लै गुन्गुनाउँथें, कतिपय गायक–गायिकाले गाएको गीत त हुबहु मिलाएर गाउँथें । फेरि, टोलछिमेकको पूजाआजा, जात्रा, विहेबटुलो, चाडपर्वमात्रै होइन– विद्यालयमा आयोजना गरिने हरेक साँस्कृतिक कार्यक्रममा पनि आकर्षकको केन्द्र बन्थें’ बेनिशा आफ्नो विगत स्मरण गर्छिन्– ‘म त्यहाँ पुगिनँ भने बेनिशा किन आइन भनेर सवैले सोधखोज गर्दथें । त्यतिबेला विद्यालयमा आयोजना हुने अतिरिक्त क्रियाकलापमध्ये साँस्कृतिक कार्यक्रममा म नै अग्रणी हुन्थें । विद्यालय, अन्तरविद्यालय, क्षेत्र–जिल्ला, अञ्चल, प्रदेशस्तरिय आदि प्रतियोगितामा उत्कृष्ट भएर थुप्रै पुरस्कार जितेको छु ।’
उसो त बेनिशा कक्षा १० मा अध्ययन गर्दैगर्दा ‘सुरसाला आइडल जुनियर’ले पुल्चोकमा आयोजना गरेको प्रतिष्पर्धात्मक गायन प्रतियोगितामा ‘टप थट्टी’ भएकै हुन् । त्यसले पनि उनमा हौसला बढायो । अनि कलेज भित्रिएपछि समेत उत्साहित भएर गायनलाई निरन्तरता दिइरहिन् । फलस्वरुप ‘नेपाल आइडल सिजन–४’ मा ‘टप सेभेन’ भइन् । हरविधाका गीत गाउन उत्तिकै पोख्त बेनिशा २०७६ बाटै व्यवसायिक रुपमा गायन क्षेत्रप्रति समर्पित भएकी हुन् । उनले अहिलेसम्म २ सय ५० हाराहारी गीत गाइसकेकी छिन् । त्यसमा आधा दर्जनबढी चलचित्रका छन् । उनले गाएको चर्चित र व्यवसायिक ढंगले सफल गीतहरूमा ‘बिहे भको छैन…’, ‘नछुटोस्…’, ‘जहाँ छुन्छु…’, ‘आँखैमा लाउने गाजल…’, ‘पटुकी बेरेको…’, ‘पर्दैन पर्दैन…’, ‘यस्तो माया…’, ‘सम्बन्ध तिम्रो मेरो…’, ‘यो नजरमा नजर मिलाई…’, ‘चन्द्रमा…’, ‘फूलबुट्टे चोली…’, ‘मलाई पराई बनाएर…’ आदि पर्दछन् ।
नेपालका असंख्य गायिकाहरूको भिडमा पृथक पहिचान बनाउन सफल बेनिशाले स्वदेश–विदेशका सामान्यदेखि ठूल्ठूला ‘स्टेज प्रोग्राम’हरूमा समेत गाएर ‘वान्स मोर, वान्स मोर’ कमाइसकेकी छिन् । गायनकै सिलसिलामा उनी नेपालका विभिन्न स्थान–सहर र विदेशको मामिलामा भारत, अष्ट्रेलिया, जापान, रोमानियालगायत पुगिसकेकी छिन् । यस अर्थमा नेपाली संगीत क्षेत्रको उत्थान, संरक्षण, सवद्र्धन, प्रवद्र्धन तथा विकासमा उनको महत्वपूर्ण योगदान छ । श्रोता–दर्शकमाझ फरक–मिठो स्वाद पस्कन माहिर बेनिशा हाल संगीत जगतकै एउटा आकर्षक मानिन्छिन् । र त ‘राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठान’ (एलसिपिए), ‘प्रस्तोता समाज नेपाल’, ‘युवा परिषद कला साहित्य सञ्जाल’को सदस्यसमेत रहेकी उनी दर्जनौं सम्मान, पुरस्कार तथा अवार्डबाट अभिनन्दित भइसकेकी छिन् ।
‘म्युजिक खबर म्युजिक अवार्ड–२०७६’, ‘ओ.एस. नेपाल म्युजिक अवार्ड–२०७६’, ‘बिराट म्युजिक एण्ड फिल्म अवार्ड–२०७८’, ‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड–२०७९’, ‘राष्ट्रिय रापति म्युजिक अवार्ड–२०७९’, ‘निम अवार्ड–२०२३’, ‘हिमालयन इन्टरनेशनल म्युजिक अवार्ड–२०२३’, ‘बिन्दाबासिनी म्युजिक अवार्ड–२०८१’, ‘रेडियो कान्तिपुर म्युजिक अवार्ड–२०८१’ आदि यसैका केही नमुना हुन् ।
त्यसो त नेपालीमा कथन छ– ‘नम्बरी सुनलाई कसी लगाइरहनु पर्दैन ।’ हो, नम्बरी सुन जहाँ जाँच गराए पनि त्यसले आफ्नो असली गुण देखाउँछ नै । ठीक यस्तै, बेनिशाको हकमा कुनै फुँदा गाँसेर परिचय दिइरहनु पर्दैन । औपचारिक चिनजान नभए पनि अधिकांशको नजरमा नौलो छैनन् उनी ।
बालकदेखि वृद्धासम्म, विपन्नदेखि सम्पन्नसम्म, गाउँदेखि सहरसम्म, जनजातिदेखि गैरजनजातिसम्म अनि स्वदेशीदेखि विदेशीसम्म हरेक तहतप्कामाझ लोकप्रिय बनेकी छिन्, मनमस्तिष्कमा बस्न सफल भएकी छिन् । अझ काँचको पर्दामा आँखा डुलाइरहनेले त उनलाई नामबाटै मार्गदर्शक ठान्छन् । सुरुमा झट्ट हेर्दा सामान्य युवतीजस्तो लागे पनि वास्तविक गहिराइमा पुगेपछि थाहा हुन्छ कि जिम्मेवार–व्यक्तित्व हुन् भनेर । साथै, मिजासिलो स्वभाव, गम्भीर र भद्र पनि । कामको सिलसिलामा आइलागेका जस्तोसुकै चुनौतीको सामना गर्दै त्यसलाई अवसर र अनुभव ठान्छिन् । फेरि सदा सफलता प्राप्त गर्नु उनको पर्याय नै हो ।
‘कोही मानिस बाँचेर मरिरहेका हुन्छन् त कोही मरेर पनि बाँचिरहन्छन् । मृत्यु त्यो हो– जसको शरीर छुट्नासाथ संसारमा अरू केही बाँकी रहँदैन । अनि जो धेरैको सम्झनामा जीवित रहने छाप छोडेर शारीरिक रूपमा बिदा हुन्छ त्यो उसको मरण होइन– बरु अमरता हो । र त मानिस भएर जन्मिएपछि समाजमा केही न केही राम्रो काम गर्नुपर्छ, आफ्नो कार्यलाई जीवन्त राख्न सक्नुपर्छ’ आफूले गायन पेशा अँगाल्नुको कारणबारे बेनिशा प्रष्ट्याउँछिन्– ‘जीवन संयोग हो र मृत्यु शाश्वत हुन्छ । अस्थायी रूपमा आर्जित पद तथा सम्मानभन्दा सिर्जना–इतिहास महत्वपूर्ण हुन्छ ।’
आफ्नो सफलताबारे उनी भेद खोल्छिन्– ‘आत्मबल नै सफलताको सबैभन्दा ठूलो सूत्र हो । सफल मानिसका जीवन–कथाबाट यही प्रमाणित हुन्छ । आत्मबलले मानिसलाई उच्च स्थानमा पु¥याउँछ– जुन सबै मानिसमा हुँदैन । फेरि, जीवनमा आउने उत्तारचढावलाई जसले सहज ढंगले लिन्छ– त्यही मानिस सफल हुन्छ । त्यो मानिस सफलताको शिखर चुम्न सफल हुन्छ– जो जीवनका कतिपय तगारालाई शक्तिमा परिणत गर्छ ।’
काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार काठमाडौंको गौरीघाटमा ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको हो । दीपेन्द्र के...
काठमाडौं।दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योललाई फेरि पक्राउ गरिएको छ।उनलाई गएको वर्ष गरिएको असफल सैनिक शासन प्रयासका कारण पक्राउ...
काठमाडौं। पत्रकार आचार्य कमल रिजालको पौराणिक उपन्यास ‘शकुन्तला ‘प्रकाशनमा आएको छ ।यो उनको पाँचौं उपन्यास हो । यस कृतिको पृष्ठभूमि...