कांग्रेसको जिल्ला अधिवेशन मंसिर २४ र २५ तथा पुस ४ र ५ मा हुने – Naya Bikalpa
November 29, 2026, Sunday      Epaper

कांग्रेसको जिल्ला अधिवेशन मंसिर २४ र २५ तथा पुस ४ र ५ मा हुने

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको जिल्ला र प्रदेश अधिवेशन गर्ने कार्यतालिका लगभग टुंगो लगाएको छ । पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लाहरूमा मंसिर २४ र २५ गते तथा अन्य जिल्लाहरूमा पुस ४ र ५ गते जिल्ला अधिवेशन गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।

सभापति थापाका अनुसार मौसमको प्रतिकूलता र हिमपात हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै हिमाली जिल्लाहरूको अधिवेशन मंसिरको अन्तिम सातामै सम्पन्न गर्ने योजना बनाइएको हो । बाँकी जिल्लाहरूमा भने पुस ४ र ५ गते एकैसाथ अधिवेशन हुनेछ । यद्यपि, निर्वाचन समितिले सम्बन्धित जिल्ला कार्यसमितिसँगको सल्लाहमा कुनै विशेष परिस्थिति वा बाध्यता आइपरेमा मितिमा सामान्य हेरफेर गर्न सक्ने लचकतासमेत राखिएको छ ।

यसैगरी, पार्टीको प्रदेश अधिवेशन आगामी पुस १२ देखि १८ गतेको बीचमा सम्पन्न गर्ने गरी निर्वाचन समितिले आन्तरिक तयारी अघि बढाएको छ । सभापति थापाले सातवटै प्रदेशको अधिवेशन एकैदिन नगरी एक–दुई दिनको फरक पारेर सञ्चालन गरिने स्पष्ट पारेका छन् । सबै प्रदेश अधिवेशनहरूमा पार्टीका केन्द्रीय प्रमुख पदाधिकारीहरू स्वयं उपस्थित भएर सम्बोधन तथा समन्वय गर्ने कार्यक्रम रहेकाले मिति फरक–फरक राख्न लागिएको हो ।

सबै मितिहरुको अन्तिम टुंगो लगाएर घोषणा भने निर्वाचन समितिले सबै जिल्ला समिति तथा प्रदेश समितिसँग परामर्श गरेपछि भोलीसम्ममा गर्ने पनि सभापति थापाले स्पष्ट पारे ।

पार्टीको१५औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति र संशोधित विधानले निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाएसँगै कांग्रेसले देशभरका ७५३ वटै पालिकामा ‘हामी तयार छौं अभियान’ सञ्चालन गर्नुका साथै जिल्ला र प्रदेश अधिवेशनमार्फत संगठन सुदृढीकरणलाई तीव्रता दिएको हो ।

सम्बन्धित समाचार

चोभार सबस्टेसन सञ्चालनमा
चोभार सबस्टेसन सञ्चालनमा
  • २०८३ मंसिर १४, १४: ४१

काठमाडौं : काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको चोभार सबस्टेसन सञ्चालनमा आएको छ...

दशौं राष्ट्रिय खेलकुद :आर्मी र कोशी  सेमिफाइनलमा
दशौं राष्ट्रिय खेलकुद :आर्मी र कोशी  सेमिफाइनलमा
  • २०८३ मंसिर १४, १४: ४१

सुर्खेत : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले एक–एक गोलको बराबरी खेलेका छन् । सुर्खेतको वीरेन्द्रनगरस्थित...

चार महिनामै २० अर्ब ४८ करोडको विद्युत् निर्यात
चार महिनामै २० अर्ब ४८ करोडको विद्युत् निर्यात
  • २०८३ मंसिर १४, १४: ४१

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको...