नयाँ विकल्प

झापा– झापामा विभिन्न पार्टी परित्याग गरी एकसय भन्दा बढी नेता कार्यकर्ता राप्रपा प्रवेश गरेका छन् ।
कोरोना कहरको बिच पनि झापामा राप्रपा प्रवेश गरेका हुन् । झापा(३ का संघीय सांसद तथा राप्रपा नेता राजेन्द्र लिङ्देनको विशेष सक्रियतामा भद्रपुर नगरपालिका वडा नं २ स्थित डिगाउँबाट नेपाली कांग्रेस, नेकपा लगायतका पार्टीबाट १०७ जना राप्रपा प्रवेश गरेका हुन् ।
यसैगरी भद्रपुर २ गौरीशंकर बस्तीमा पनि २३ जना युवा पनि राप्रपा प्रवेश गरेका छन् ।
नव प्रवेशीहरुलाई पार्टी सदस्यता प्रदान गर्दै राप्रपा नेता राजेन्द्र लिङ्देनले प्रतिकूल परिस्थितिकाबीच राप्रपालाई उठाई छाड्ने संकल्पका साथ अगाडि बढिरहेको बताए ।
सामाजिक दुरी कायम गर्दै भएको समारोहमा नेता लिङ्देनले यस वर्ष वर्षौंदेखि समस्याको रुपमा रहेको बाढी नियन्त्रण र जङ्गली हात्तीको आक्रमणको पिडाबाट डिगाऊँ, दशरथपुर लगायतका आसपासका गाउँलाई जोगाउन सकेकोमा सन्तोष र प्रसन्नता व्यक्त गरेका छन् ।
यो मेरो सपना थियो, अझै पूरा भइसकेको छैन तर पूरा हुने क्रममा छ, राप्रपा नेता लिङ्देनले भने। “बाढी र हात्ती नियन्त्रणको लाभ केवल राप्रपालाई मत दिनेले मात्र नभइ कांग्रेस, कम्युनिस्ट सबैले लाभ लिन सकेकोमा यहाँबाट निर्वाचित जनप्रतिनिधिको रुपमा आफूलाई गर्व लागेको छ ।