गण्डकी प्रदेशमा सात निर्देशनालय र दुई केन्द्र खारेज, एक सय ८५ कर्मचारी दरबन्दी घटाइयो – Naya Bikalpa
November 24, 2026, Tuesday      Epaper

गण्डकी प्रदेशमा सात निर्देशनालय र दुई केन्द्र खारेज, एक सय ८५ कर्मचारी दरबन्दी घटाइयो

गण्डकी : गण्डकी प्रदेश सरकारले प्रदेशमा रहेका विभिन्न सातवटा निर्देशनालय र दुई वटा केन्द्र खारेजसँगै एक सय ८५ कर्मचारी दरबन्दी घटाउने निर्णय गरेको छ ।

गण्डकी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको विद्यमान खर्च कटौतीसँगै प्रशासनिक संरचनालाई मितव्ययी बनाउनले लक्ष्यका साथ यो निर्णय गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।

निर्णयसँगै खारेज गरिएका निर्देशनालयहरूबाट प्रवाह हुँदै गरेका काम तथा सेवाहरू आगामी दिनमा मन्त्रालयका महाशाखाहरूबाटै उपलब्ध गराउने जानकारी दिँदै उनले यसबाट सेवा प्रवाहमा कुनै असर नपर्ने बताए ।

त्यस्तै जिल्लास्तरका विभिन्न ३२ वटा निकायलाई गाभेर १७ वटामा झार्ने निर्णय गरिएको मुख्यमन्त्री पाण्डेले जानकारी दिए । निर्णयअनुसार खारेज हुने निर्देशनालयहरूमा पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपंछी तथा मत्स्य विकास निर्देशनालय, पूर्वाधार विकास निर्देशनालय, वन निर्देशनालय, शिक्षा विकास निर्देशनालय र प्रादेशिक स्वास्थ्य निर्देशनालय रहेका छन् ।

खारेज भएका केन्द्रमा प्रादेशिक स्वास्थ्य तालिम केन्द्र र प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र रहेका छन् । यसअघि प्रदेशको विद्यमान प्रशासनिक संरचना बोझिलो भएको र खर्च धान्न नसकिने अवस्था आएको भन्दै सरकारले गठन गरेको प्रदेश प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिले दिएको प्रतिवेदन अनुसार प्राप्त सुझावका आधारमा यो निर्णय गरिएको उनले बताए ।

प्रतिवेदनलाई आवश्यकता र औचित्यका आधारमा क्रमशः कार्यान्वयन गर्दै लाने सन्दर्भमा यो कदम चालिएको उल्लेख गर्दै उनले यसबाट संरचनागत सुधार, चालु खर्च कटौती, छरितो प्रशासनसँगै मितव्ययी एवम् सेवा प्रवाहलाई प्रभावकारी बनाउने विश्वास लिइएको बताए ।

सरकारले एक सय ८५ जना कर्मचारीको दरबन्दी घटाएकोमा अधिकृतस्तरका ४१, सहायकस्तरका ९६ र श्रेणीविहीन ४८ रहेको सरकारले जनाएको छ ।

सम्बन्धित समाचार

सुनकोशी-मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्दका कागजात ७ दिनभित्र उपलब्ध गराउन निर्देशन
सुनकोशी-मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्दका कागजात ७ दिनभित्र उपलब्ध गराउन निर्देशन
  • २०८२ श्रावण २६, १३: २१

काठमाडौं : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयमा सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन...

अयोध्याबाट छुटेको रेल जनकपुरधाममा आइपुग्यो
अयोध्याबाट छुटेको रेल जनकपुरधाममा आइपुग्यो
  • २०८२ श्रावण २६, १३: २१

काठमाडौं : भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू कमला एक्सप्रेस रेल आज बिहान जनकपुरधाम आइपुगेको छ । जनकपुरधाम आइपुगेको...

दशौं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि
दशौं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि
  • २०८२ श्रावण २६, १३: २१

काठमाडौं : दशौं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु हुँदैछन् । औपचारिक उद्घाटन यही मंसिर १६ गते हुने भए पनि केही खेल...