
काठमाडौं : नेपालको लामो समयदेखिको हवाई रुटसम्बन्धी माग सम्बोधन गर्न भारत सहमत भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको दुई दिने भारत भ्रमणका क्रममा भारतले काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउन सहमति जनाएको हो ।
नेपाल र भारतले सोमबार जारी गरेको संयुक्त वक्तव्यको बुँदा नम्बर ८ मा उक्त सहमति उल्लेख गरिएको छ । सहमतिअनुसार हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको ‘बी३४५’ हवाई मार्गलाई दुईतर्फी बनाइनेछ । यससँगै अन्तर्राष्ट्रिय विमानले भैरहवा हुँदै नेपाल प्रवेश गर्न सक्ने बाटो खुल्ने अपेक्षा गरिएको छ ।
संयुक्त वक्तव्यमा भनिएको छ, ‘हाल एकतर्फी रहेको बी३४५ काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउन दुवै पक्ष सहमत भएका छन् । यस सम्बन्धमा आवश्यक कार्यविधिलाई अन्तिम रूप दिन तथा छलफलमा रहेका अन्य नागरिक उड्डयनसम्बन्धी प्रस्तावलाई सम्बोधन गर्न प्राविधिक परामर्श गरिनेछ ।’
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा हवाई रुटको विषय सार्वजनिक गरिएको थिएन । तर, त्यसपछि जारी संयुक्त वक्तव्यमा भैरहवा रुटलाई दुईतर्फी बनाउने सहमति समेटिएको हो ।
नेपाललाई भैरहवा रुट उपलब्ध गराउने विषयमा भारतले पनि बागडोग्रा विमानस्थलका लागि नेपालसँग हवाई मार्गको प्रस्ताव गरेको थियो । यस विषयमा दुवै देशबीच छलफल हुँदै आएको भए पनि पछिल्लो द्विपक्षीय वार्ताबाट भैरहवा रुटलाई दुईतर्फी बनाउने सहमति जुटेको हो ।
नेपालले एक दशकभन्दा लामो समयदेखि भारतसँग थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन माग गर्दै आएको थियो । विशेषगरी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि थप हवाई रुटको आवश्यकता झन् बढेको थियो ।
अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए पनि पर्याप्त हवाई प्रवेशमार्ग नहुँदा यी विमानस्थलले अपेक्षित रूपमा अन्तर्राष्ट्रिय उडान विस्तार गर्न सकेका छैनन् । भारत हुँदै नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय विमानले मुख्यतः सिमरा हवाई मार्ग प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।
यसअघि काठमाडौं विमानस्थलबाट उडेका अन्तर्राष्ट्रिय विमानले भैरहवा हुँदै लखनउतर्फ जान सक्ने भए पनि भारतबाट नेपाल प्रवेश गर्दा यही मार्ग प्रयोग गर्न पाउँदैनथे । नयाँ सहमतिपछि उक्त एकतर्फी व्यवस्था हटेर दुवैतर्फी हवाई आवागमनको सम्भावना खुल्नेछ ।
यसले विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तार गर्न सहज हुने अपेक्षा गरिएको छ । त्यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन र व्यावसायिक सम्भावना बढाउन पनि यसले सहयोग पुर्याउन सक्नेछ । थप प्रवेशमार्ग उपलब्ध हुँदा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई नेपालका क्षेत्रीय विमानस्थलसम्म उडान सञ्चालन गर्न सहज हुने र हवाई सेवामा प्रतिस्पर्धात्मक क्षमता बढ्ने अपेक्षा गरिएको छ ।
नेपालका प्रधानमन्त्रीहरूको भारत भ्रमणमा हवाई रुटको विषय पटकपटक उठ्ने गरे पनि यसअघि ठोस सहमति हुन सकेको थिएन । प्राविधिक, हवाई सुरक्षा तथा हवाई क्षेत्र व्यवस्थापनसम्बन्धी विषयमा दुई देशबीच छलफल र मतभिन्नता रहँदै आएको थियो ।
यसपटक प्रधानमन्त्री शाहको भारत भ्रमणमा हवाई रुटको विषयलाई प्राथमिकतामा राखिएको थियो । भ्रमणअघि नै दुवै देशका अधिकारीबीच यसबारे छलफल भइरहेको थियो । त्यसको परिणामस्वरूप भैरहवा रुटलाई दुईतर्फी बनाउने सहमति जुटेको हो ।
यद्यपि, सहमति कार्यान्वयनका लागि आवश्यक प्राविधिक प्रक्रिया र कार्यविधि टुंग्याउन बाँकी छ । संयुक्त वक्तव्यमा पनि यसका लागि दुवै देशबीच थप प्राविधिक परामर्श गर्ने उल्लेख छ ।
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको बदलिँदो स्वरूप, प्रविधिको विकास र उद्योगका रूपमा विस्तार भइरहेको अवस्थालाई...
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी भएको छ । भ्रमणको...
नयाँ दिल्ली (भारत) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहमा नेपालको भविष्य र भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने स्पष्ट...