डेमोक्रेसीलाई अटोक्रेसीमा परिणत गर्नेहरुको उदण्डताले निम्त्याएको खतरा – Naya Bikalpa
November 8, 2025, Saturday      Epaper

डेमोक्रेसीलाई अटोक्रेसीमा परिणत गर्नेहरुको उदण्डताले निम्त्याएको खतरा

-सुदीन दवाडी
काठमाडौं । नाती पुस्ताको शान्तिपूर्ण आन्दोलनबाट सिर्जित परिस्थितिका कारण नेपालको राजनीति भाँडभैलोको अवस्थाबाट गुज्रिरहेको छ । परिवर्तित अवस्थालाई नजरअन्दाज गर्दा तत्कालिन एमाले कांग्रेसको गठबन्धन सरकारलाई जेनजीले अपदस्त गरिदिए । पटक पटक गठबन्धन भनिएता पनि वास्तविकता चाहि ओली देउवा र प्रचण्डले सत्ताको बागडोरलाई म्युजिकल चियर अटोक्रेसीको रुपमा विगत १० वर्ष देखि तीन नेताले सत्ताको रजगज गरिरहे । सरकारको नेतृत्वमा १० वर्षमा सबैभन्दा कम समय शेरबहादुर देउवाको रहेता पनि सत्तामा भने कहिले माओवादी त कहिले एमालेसँग टाँसिरहे । १० वर्षदेखि नेपालको समग्र राजनीति यी तीन नेताको हातमा घुमिरह्यो तर कुनै किसिमको मुलुकका लागि स्वागतयोग्य कार्य भएन हुन सकेन, मुलुकको वृहत्तर विकासमा ध्यान जाने कुरा परै जाओस् नागरिकको दैनिक जीवनसमेत कष्टकर हुँदै जाँदा सत्ता प्राप्ति गरेका नेताहरुको ध्यान नपुग्दा एकाएक भाद्र २३÷२४ को जेनजी पुस्ताको आन्दोलनले उग्ररुप लियो । आन्दोलनमा विभिन्न स्वार्थी समूहको घुसपैठपछि ७६ जना निर्दाेष स्कुले बालबालिका र सामान्य नागरिकको जानै जाने गरी नरसंहार भयो । निर्दाेष स्कुले बालबालिकालाई ताकिताकी गोली हानेपछि सोही निहुमा विभिन्न स्वार्थी समूहबाट सम्मानित सार्वेच्च अदालत, सिंहदरबार, संसद भवन, शीर्ष नेताहरुका घरलगायत, मुलुकका सार्वजनिक सम्पत्तिमाथि आगजनी तथा लुटपाट हुँदा बिसौ अरब राज्यको नोक्सानी हुन पुग्यो ।

त्यतिमात्र होइन ठूलो मात्रामा युवाहरुलाई रोजगारी दिइरहेका व्यक्तिगत व्यापारिक उद्योग व्यवसाय समेतको आगजनी भई ५०औं हजार युवा युवतीहरु बेरोजगारी हुने अवस्थाको सिर्जना भयो । देशभरका जेलहरुबाट राजनैतिक दलको आडमा कैदी जीवन बिताइरहेका १४ हजार कैदी भाग्न सफल भए । ठूलो मात्रामा हात हतियार लुटियो भागेका कैदी ९ हजार जति फर्के भने अझै ५ हजारको हाराहारी जेल बाहिरै छन् । लुटिएका हातहतियार ठूलोमात्रामा फोला परेको छैन । त्यसले गर्दा जुनसुकै बेला पनि सो हतियार प्रयोग भएमा मुलुकमा फेरि ठूलो द्वन्द्व हुन सक्ने खतरा छँदैछ । सुरक्षा निकायले चिन्ता व्यक्त गरिरहेको छ ।
यसरी आँधीबेहरी नै आउनेगरी आन्दोलनको तयारी भइरहेको सरकारले पत्तो नै पाएन अदुरदर्शी, धमण्ड र सत्ताको मात लागेकाहरुले सत्ता चलाउँदा देशमा यति ठूलो विध्वंस हुन पुग्यो । यो कसले गर्दा निम्तियो ? ओली देउवाले गएको असार १५ गते दही चिउरा खाने निहुँमा मुलुक र पार्टीको लागि भन्दा पनि ओली देउवाका निजी स्वार्थबाट प्रेरित भएको गठबन्धनका नेतृत्वकर्ता ओलीको कारण मुलुक विध्वंशतिर लम्किरहेको थियो । अदुरदर्शी नेताहरु मन्त्रीमण्डलमा पटक पटक मन्त्री भएर असफल भएका घमण्डी र गुट प्रेरित व्यक्तिहरुले मुलुक भित्रभित्रै आगो दनदनी सल्किसकेको पत्तै पाएनन् । त्यसैले त प्रधानमन्त्री, मन्त्रीहरु, झण्डा, गार्ड, गाडी सुरक्षा गार्ड समेत छाडेर भाग्नु प¥यो । सुरक्षा निकायले समेत बचाउन नसकेपछि धोती र टोपी भएर सेनाको हेलिकप्टरबाट भाग्ने स्थिति सिर्जना भयो । त्यतिबेला सेनाले उद्दार नगरेको भए तत्कालीन सत्तासिनहरुको ज्याने जाने खतरा छँदैथियो । सत्ताको मातको उडण्डता र घमण्डता एकै छिनमा चकनाचुर भयो । सुरक्षा निकायको निगरानीमा ढेडहप्ताको बसाइपछि परिवारले बल्ल भेट्न पाए । श्रीलंका, बंगलादेशपछि यसरी निर्वाचित सांसदबाट प्रचण्ड बहुमत प्राप्त सरकारको २७ घण्टामा नै अपदस्त भएको घटना विश्वमा कमै होला तर नेपालमा भयो । विश्व राजनीति नै चकित अवस्थामा पुग्यो । यी सबै घटनाक्रम विगत १० वर्षदेखि सत्ता र पार्टी एकलौटी ढंगले पञ्चायतभन्दा निरकुंकतन्त्रले चलाउने मुख्य पात्र भनेको ओली, देउवा, प्रचण्ड नै हुन् । यिनका पछाडि सधैं राजनीतिलाई उद्योगधन्दा चलाइरहेका पत्रहरु खलनायकको रुपमा तीनवटै पार्टीमा परिचित छँदैछन् । ती पात्रहरु भनेको जनताबाट अनुमोदित हुन नसकेका र आफ्नै पार्टीबाट पनि केन्द्रीय सदस्य समेत बन्न नसकेकाहरुले सधैं खलनायकका रुपमा शीर्ष नेतृत्वलाई धाकछोप गर्दै आइरहे स्वार्थ लुटिरहे ।
भाद्र २३÷२४ को आन्दोलनकर्ता नातीपुस्ता जेनजीहरुले त्यति ठूलो माग उठाएका पनि थिएनन् । यति विध्वंस गर्न भनेर पनि आन्दोलन स्वरुप कोरिएको देखिँदैन ।

उनीहरुले ५ वटा मुख्य माग उठाएका थिए । जसअनुसार कुशासन विरुद्ध, भ्रष्टाचार विरुद्ध, वाक स्वतन्त्रता बहाली, आर्थिक पारदर्शिता र नेपोवेबी अन्तर्गत सामान्य नागरिकको पहुँच र अवसरको खोजीबारे रहेको हुँदा लोकतान्त्रिक संघीय गणतन्त्र शासन पद्धति भित्रका जाहेज माग थिए । जुनकुरा नेपालको संविधान २०७२ ले पनि निर्दिष्ट गरेकै कुरा हो । तर तीन नेता पालैपालो सत्तासिन भइरहँदा संविधानको कतिपय धाराहरु मिच्ने, पार्टी पार्टीको गठबन्धन भनिएता पनि ओली, देउवा, प्रचण्डले जे चाहो त्यही हुने, सिंगो मन्त्रिमण्डलका सदस्यहरु कठपुतली सरह रमिते भइरहने । संसदमा सांसदहरुले सरकारका कमिकमजोरी बारे बोलेका कुरालाई प्रतिशोधका रुपमा लिने र कार्यान्वयन नगर्ने ओली नेतृत्वको सरकार दिनप्रति दिन आलोचित हुँदै थियो बालुवाटारबाट तत्कालीन प्रधानमन्त्री ओली सुरक्षा निकायको सल्लाह विपरित गर्जँदै थिए । तर त्यो गर्जन केही घण्टामै चकनाचुर हुन पुग्यो ।

यसरी बहुमतको दम्भ देखाइरहेका ओलीको जेनजी पुस्ताले अपदस्त गरेपछि मुलुकमा यतिखेर दलविहिनहरुको सरकार बन्न पुगेको छ ।

तीन नेता सरकारमा रहँदा होस् या पार्टी चलाउँदा होस्, सरकार र पार्टी नेतृत्वको आलोचक कोही पनि ओली र देउवासँग टिक्न सक्दैन थिए, धोक्रेठ्याक लगाइन्थ्यो । धोक्रेठ्याक लगाएको धेरै उदाहरणहरु छन् । त्यसैले नाती पुस्ताले उठाएका मागसँगै नेपाली राजनीतिले त्रय नेताको सम्मानपूर्वक विधाई खोजिरहेको छ । तर यी तीन नेता विधाई र विश्राम लिने पक्षमा देखिँदैनन् । हाल कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यबहाक मौखिक रुपमा तोकेका भएता पनि लिखित रुपमा दिएको आधिकारिक जानकारी प्राप्त भएको छैन । उता एमाले अध्यक्ष त गुण्डुबाट ठाडो चुनौति नै दिँदै आएका छन् । उनकै कारण मुलुक फेरि मुदभेडतिर जाने सम्भावना नकार्न सकिँदैन । पुष्पकमल दाहाल प्रचण्ड राजनीतिमा सधैं चतुर खेलाडीको छवि बनाएका भएता पनि यो पटक अलि धरमराएर केन्द्रीय समिति भंग गरेर महाधिवेशन तयारी समितिको संयोजक भन्दै कुर्लदै जेनजी भाइबहिनीको समर्थन जुटाउन दौडिरहेका छन् ।

कांग्रेसमा त देउवाका विरुद्ध ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर नै बुझाई सकेको भएता पनि वर्तमान संस्थापन पक्षले स्वीकार नगर्दा कांग्रेसभित्र भाँडभैलो सुरु भएको देखिन्छ । विभिन्न बहना बनाएर वर्तमान संस्थापन पक्षले बैठक पटक पटक स्थगित गर्ने, दोसारोपण थुपार्दै गइरहेका कारण संस्थापन पक्षले देउवाबिना पार्टी चलेन भन्दै फर्काउने रणनीति लिइरहेको आँकलन गरिँदैछ । एमाले अध्यक्ष ओली सचिवालयमा अल्पमतमा पर्दा पनि केन्द्रीय समितिमा बहुमत देखाएर पेल्दै गएको देखिन्छ । यसरी पार्टी पार्टीभित्र तीन नेताको चरम असन्तुष्टि हुँदा पनि पद नछाड्दा वर्तमान सरकारका नेतृत्वकर्ता प्रधानमन्त्री सुशीला कार्कीदेखि जेनजी पुस्ताको आक्रोश बढ्दै गएको आँकलन देखिन्छ ।
लोकतन्त्रमा बहुमतको कदरलाई समेत लत्याउँदै लोकतान्त्रिक विधि र विधान विपरीत आफुलाई लोकतन्त्रवादी भनेर शासन सत्ता चलाउँदै आएका नेताहरु यति आलोचित र राजनीतिबाट बहिगर्मनको आवाज बुलन्द भइरहँदा टसमस नगरी पदमा बसिरहनु लोकतन्त्रको बरखिलाप नै मान्नुपर्छ । परिवर्तित अवस्थामा सरकारको नेतृत्वमा युवा, पार्टीको नेतृत्वमा युवा भन्ने आवाज बुलन्द हुँदापनि लोकतान्त्रिक विधिको वर्खिलाप गर्ने तीन नेताको बहिर्गमन नहुने हो भने न त कार्की सरकारले शान्तिसँग काम गरेर निर्वाचन गर्न सक्छ न त मुलुकमा नै शान्ति बहाली हुन्छ । यी तीन नेता नेतृत्वमा रहँदासम्म मुलुकले अब शान्तिको शास फेर्न सक्ने सम्भावना कमै देखिँदैछ । यता जेनजीले गरेको आन्दोलनको उपलब्धी अन्य स्वार्थी समूहले हडप्ने अवस्था सिर्जना नहोला भन्न सकिँदैन ।

सम्बन्धित समाचार

मतदाता नामावली संकलन उत्साहजनक : आयोग
मतदाता नामावली संकलन उत्साहजनक : आयोग
  • २०८२ कार्तिक १६, १८: ०५

काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन  जारी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा...

नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान
नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान
  • २०८२ कार्तिक १६, १८: ०५

काठमाडौँ : नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि तत्कालीन कार्यको आह्वान गरेको छ...

नेपाल दक्षिण अफ्रिकासँग पराजित
नेपाल दक्षिण अफ्रिकासँग पराजित
  • २०८२ कार्तिक १६, १८: ०५

काठमाडौं : हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ । जितका लागि नेपालले दिएको...