प्रधानमन्त्री शाहद्वारा छठ पर्वको शुभकामना, सुशासन र समृद्धिको लक्ष्यमा प्रेरणा मिल्ने विश्वास – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

प्रधानमन्त्री शाहद्वारा छठ पर्वको शुभकामना, सुशासन र समृद्धिको लक्ष्यमा प्रेरणा मिल्ने विश्वास

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शाहले छठ पर्वले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै भगवान् सूर्यदेव र छठी माताको आराधना गरी मनाइने यस पर्वले सबैको जीवनमा सुख, शान्ति, आरोग्य र समृद्धि ल्याओस् भन्ने कामना गरेका छन् ।

छठ पर्वलाई प्रकृति र आस्थासँग जोडिएको महान् पर्वका रूपमा उल्लेख गर्दै प्रधानमन्त्री शाहले यसले जीवनको गहिरो दर्शनसमेत सिकाउने बताएका छन् । उदाउँदो सूर्यसँगै अस्ताउँदो सूर्यलाई पनि समान श्रद्धा र सम्मानका साथ अर्घ्य दिने परम्पराले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्न प्रेरित गर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री शाहले चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्वसमेत स्मरण गराएका छन् । उनका अनुसार पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन उदाउँदो सूर्यलाई जलाशयको किनारमा अर्घ्य दिने परम्परा रहेको छ ।

सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले छठ पर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव र सकारात्मक सोचलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

शुभकामना सन्देशको अन्त्यमा उनले मैथिली भाषामा समेत शुभकामना दिँदै भनेका छन्, ‘छैठके बहुत रास शुभकामना ! दीनानाथ आ छैठ परमेश्वरी सब के जीवन में सुख, शान्ति आ समृद्धि लइथिन से कामना करैछि ।’

सम्बन्धित समाचार

रास्वपाका २० जना सांसद चीन प्रस्थान
रास्वपाका २० जना सांसद चीन प्रस्थान
  • २०८३ कार्तिक ३०, ११: ३५

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको छ । पार्टी महामन्त्री...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०८३ कार्तिक ३०, ११: ३५

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...

एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
  • २०८३ कार्तिक ३०, ११: ३५

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...