भण्डारीको समर्थनमा पोखरेलको उम्मेद्वारी – Naya Bikalpa
January 11, 2026, Sunday      Epaper
भक्तपुरको सल्लाघारीमा एमालेको ११औं महाधिवेशन उद्घाटन, ओलीको अधिनायकवादबिरुद्ध पदाधिकारीहरुमा तीब्र ध्रुवीकरण

भण्डारीको समर्थनमा पोखरेलको उम्मेद्वारी

काठमाडौं । आगामी मंसिर २७ गतेदेखि शुरु हुने नेकपा (एमाले) को ११ औं महाधिवेशनमा अध्यक्ष पदमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्यालनसहित प्रतिस्पर्धा हुँदैछ । मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा महाधिवेशन उद्घाटन हुने र २८ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा बन्द सत्र हुनेछ ।

ओलीलाई टक्कर दिनका लागि एमालेको सक्रिय राजनीतिमा आउन खोजेकी पूर्व राष्ट्रपति विद्या भण्डारीलाई सदस्यता नवीकरणमा विवाद निकालेर रोकेपछि वरिष्ठ उपाध्यक्ष पोखरेल भण्डारीको समर्थमा मैदानमा उत्रिएका हुन् । तर पनि अध्यक्ष ओलीले एमाले नेतृत्वका लागि आफूलाई निर्विकल्प नेता भएको भाष्य निर्माण गर्न खोज्दैछन् । त्यसैका लागि ओली पक्षीय नेताहरुले खुलेरै लविङ शुरु गरेका छन् । लगातार दुई कार्यकाल एमाले अध्यक्ष भएका ओली तेस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्दैछन् ।

महासचिव शंकर पोखरेलले गतसाता एक सार्वजनिक कार्यक्रममा राष्ट्रिय राजनीतिको चुनौतिहरु सामना गर्नसक्ने योग्य नेता भएकाले केपी शर्मा ओलीलाई नै फेरि पार्टीको नेतृत्व प्रदान गर्न लागिएको बताए । उनले पार्टी अध्यक्ष ओलीमाथि चौतर्फी आक्रमण र घेराबन्दी भइरहेको भन्दै त्यो घेराबन्दी र आक्रमण एमाले पार्टी कमजोर बनाउनका लागि गरिएको घेराबन्दी भएको बताएका छन् । उनले यस्तो परिस्थितिमा पार्टीका सम्पूर्ण नेता, कार्यकर्ताहरूले प्रतिस्पर्धा भन्दा एकीकृत हुनुपर्नेमा जोड दिएका छन् ।
पोखरेलमात्र होइन, ओली पक्षीय नेताहरु चितवन महाधिवेशनमा उपाध्यक्ष भीम रावलका बिरुद्ध जसरी एकजुट भएर प्रचार गरेका थिए, अहिले पोखरेलका बिरुद्ध त्यस्तै अभियान संचालन गर्ने तयारीमा छन् । त्यसो त चितवन महाधिवेशन र अहिलेको महाधिवेशनको परिस्थिति भिन्न रहेको चर्चा पनि एमालेबृत्तमा छ । हुन पनि हिजो ओलीका बिरुद्ध बोल्न नसक्ने नेताहरु औलामा गन्न सकिने थिए भने अहिले खुलेरै आएका धेरै भइसकेका छन् । यसका साथै, एमाले उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेकी पूर्व राष्ट्रपति भण्डारी नै खुलेर पोखरेलका पक्षमा आएपछि ओली पक्षीय नेताहरुले सोचेजस्तो नहुने देखिन्छ ।

भण्डारीको छत्रछायामा अध्यक्षको उम्मेद्वारी दिने तयारीमा रहेका पोखरेल प्यालनसहितको तयारीमा छन् । तर प्यालन घोषणाअघि ओली र पोखरेल दुबै पक्ष पर्ख र हेरको अवस्थामा छन् । उनीहरु एकअर्का समूहमा रहेकाहरुको नाम हेरर मात्र अन्तिम समयमा प्यानल सार्वजनिक गर्ने रणनीतिमा छन् । यसका पछाडि दुबैको तर्क अहिले नै प्यानल सार्वजनिक गर्दा विपक्षीले रणनीति बदल्ने भएकाले अध्यक्ष बाहेकको प्यानल अन्तिम समयमा घोषणा गर्न लागिएको बताइन्छ ।
एमालेको ११ औँ महाधिवेशन नजिकिएसँगै पदाधिकारीहरु ध्रुवीकृत भएका छन् । हाल एमालेमा १९ मध्ये १८ पदाधिकारी छन् । सचिव टोपबहादुर रायामाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा निलम्बनमा छन् ।

हाल रहेका १८ पदाधिकारीमध्ये ओली पक्षमा १२ जना र पोखरेल पक्षमा ६ जना खुलेका हुन् । महाधिवेशनको मिति नजिकिँदै गर्दा तीन उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल र गुरुप्रसाद बराल ओलीको पक्षमा खुलेका छन् । शुक्रबार पौडेल र पृथ्वी सुब्बा ओलीको पक्षमा उभिएसँगै हाल उपलब्ध पदाधिकारीमध्ये ओलीको पल्ला भारी भएको देखिएको छ । त्यस्तै महासचिव शंकर पोखरेल सहित तीनैजना उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल र पृथ्वीसुब्बा गुरुङ पनि ओली पक्षमै खुलेका छन् । ६ सचिवमध्ये चार जना लेखराज भट्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्मा अर्याल पनि ओली पक्षमा खुलेका छन् । ओलीको पक्षमा खुलेका यी सबै नेताहरु अहिलेको विषम परिस्थितिमा ओलीको विकल्प खोज्न नहुने बताउँदै ओलीलाई सहयोग गर्ने सार्वजनिक रुपमै घोषणा गरिरहेका छन् । अर्कातिर, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई तीनजना उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी र सुरेन्द्र पाण्डेले साथ दिने भएका छन् । त्यस्तै सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराई पनि पोखरेललाई साथ दिँदै सोही समूहबाट महाधिवेशनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।

भदौ २३ र २४ को जेनजी आन्दोलनपछि एमालेको विद्या भण्डारी समूह र विगतमा नेकपाकालको १० बुँदे पक्षधर भनेर चिनिएका नेताहरुले ओलीलाई नेतृत्व हस्तान्तरण गर्न दबाब दिँदै आएका थिए । उनीहरुले जेनजी आन्दोलनको भावना अनुसार पार्टी रुपान्तरणको मुद्दा समेत अघि सार्दै आएका छन् । यतिमात्र होइन, पूर्व राष्ट्रपति भण्डारीले गतसाता एक सार्वजनिक कार्यक्रममा केपी ओली प्रधानमन्त्री भएको बेला घटेको घटनाको नैतिक जिम्मेवारी पनि ओलीले नै लिनुपर्ने बताएकी छन् । तर ओलीले उक्त घटनाको अझैसम्म पनि जिम्मेवारी लिनु त परको कुरा जेनजी आन्दोलनलाई विदेशी षड्यन्त्रको रुपमा व्याख्या गर्दै आएका छन् ।

केन्द्रमा देखिएको विभाजनको रेखा एमालेको प्रदेश, जिल्ला हुँदै तल्लो तहसम्मै कोरिएको छ । जसको असर महाधिवेशनमा परेता पनि आन्तरिक मात्र हुनेछ । तर गुटगत जितहारको असर आसन्न फागुन २१ गतको प्रतिनिधिसभा निर्वाचनमा पर्ने देखिन्छ । जसले गर्दा पार्टीका आधिकारिक उम्मेद्वारका बिरुद्ध हुने बागी उम्मेद्वारी वा अन्तरघात हुन सक्नेछ । यसबाट अन्ततः प्रतिनिधिसभामा एमालेको उपस्थितिमै असर पर्न जान सक्छ ।

सम्बन्धित समाचार

कांग्रेस विशेष महाधिवेशन : जुलुस, झाँकीसहित नेता, कार्यकर्ता कार्यक्रम स्थल प्रवेश
कांग्रेस विशेष महाधिवेशन : जुलुस, झाँकीसहित नेता, कार्यकर्ता कार्यक्रम स्थल प्रवेश
  • २०८२ मंसिर २२, ११: ३८

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन केहीबेरमा सुरु हुँदैछ...

कांग्रेस विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा बढ्यो चहलपहल
कांग्रेस विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा बढ्यो चहलपहल
  • २०८२ मंसिर २२, ११: ३८

काठमाडौं : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि राजधानीको भृकुटीमण्डपमा आज बिहानैदेखि देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूको चहलपहल बढेको छ ।...

गायक प्रशान्त तामाङको निधन
गायक प्रशान्त तामाङको निधन
  • २०८२ मंसिर २२, ११: ३८

काठमाडौं : गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । ४२ वर्षीय तामाङको दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो...