कार्की सरकारका मन्त्रीहरु चुनाव लड्न दौडादौड – Naya Bikalpa
January 10, 2026, Saturday      Epaper
जेनजीको आन्दोलनबाट निर्माण भएको सरकारले जेनजीकै भावनामाथि खेलवाड

कार्की सरकारका मन्त्रीहरु चुनाव लड्न दौडादौड

काठमाडौं । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउने मूल प्रयोजनका लागि गठन संविधानभन्दा बाहिर गएर गठन गरिएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्रीहरु थपिने क्रम जारी छ । प्रधानमन्त्री कार्कीबाट पछिल्लो समय पुस ११ गते परराष्ट मन्त्री नियुक्त भएका नेपाली सेनाका पूर्व रथी बालानन्द शर्मा पौडेलले माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्नका लागि गठित समितिका संयोजक भएर काम गरेका थिए । निर्वाचनको मिति आउन दुई महिना बाँकी छँदा परराष्ट मन्त्रीमा पौडेलको नियुक्तिलाई लिएर अनेक खाले चर्चा पनि भएका छन् ।

बढीमा ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने घोषणा गरेकी प्रधानमन्त्री कार्कीले गरेको पाँचौं पटकको बिस्तारसंगै मन्त्रिपरिषद्को आकार १५ सदस्यीय भएको छ । आकारको हिसावले यो मन्त्रिपरिषद् २०४६ को परिवर्तनपछि बनेको कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकार र २०६९ मा सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायधीश खिलराज रेग्मी नेतृत्वको अन्तरिम सरकारलाई समेत माथ गरेको छ ।

एकतिर मन्त्रिमण्डलको आकारले उचाई लिएको छ भने अर्कातिर मन्त्री नियुक्तिका क्रममा प्रधानमन्त्री कार्कीले चुनावमा नजाने व्यक्तिलाई मन्त्री बनाइने कुरा सार्वजनिक रुपमा बताएकी पनि थिइन् । तर पछिल्लो समय मन्त्रीहरुका अभिव्यक्ति र कार्यशैली हेर्दा उनीहरु पनि कोही दल नै खोलेर चुनावी प्रचारप्रसारमा जुटेका छन् भने कोही नयाँ भनिएका दल र तिनका नेताको गुणगान गाउनमा व्यस्त देखिएका छन् । तिनैमध्येका एक हुन् उर्जामन्त्री कुलमान घिसिंग । नेपाल विद्याुत प्राधिकरणको कार्यकारी निर्देशक भएर काम गरेका कुलमानमा मन्त्री नियुक्त हुनुअघि माओवादी पार्टी प्रवेश गरेर चुनावमा प्रतिस्पर्धा गर्ने हुटहुटी जागेको थियो । तर २३ र २४ भदौको जेन जी बिद्रोहपछि गठन गरिएको कार्की नेतृत्वको सरकारमा सहभागी भएपछि कुलमानकै निर्देशनमा उज्यालो नेपाल पार्टी गठन गरिएको छ । र उनी सो पार्टीको संरक्षक छन् । सोही पार्टीबाट चुनाब लड्ने तयारीमा रहेका कुलमान पछिल्लो समय संगठन बिस्तार अभियानमा जुटेका छन् ।

यतिमात्र होइन, पुराना दलहरु सबै भ्रष्ट भए भनेर तिनको बिकल्पमा आएको दाबी गर्ने सहकारीको रकम भ्रष्टाचार गरेको आरोपमा थुनामा बसेर हालैमात्र करिब ३ करोड धरौटी बुझाएर रास्वपाका रवि लामिछाने थुनामुक्त भएका छन् । सोही दलसंग सहकार्य गरी चुनावमा जाने तयारीमा रहेको भनिएका उनै उर्जामन्त्री कुलमानले रास्वपा र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसंग पार्टी बिलय हुने गरी एकतामा नजाने निर्णय गरेका छन् ।

उर्जामन्त्री कुलमान मात्र होइन, कार्की सरकारको प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल पनि आफ्नो चुनावी तयारीका लागि राजनीतिक भेटघाट गर्दै आएका छन् । प्रधानमन्त्री कार्कीको दूतका रुपमा मन्त्री खरेलले पछिल्लो समय प्रमुख राजनीतिक दलका नेताहरुलाई भेटेर चुनावी वातावरण बनाउने काम गर्दै आएका छन् । त्यसक्रममा मन्त्री खरेलले रास्वपाको पार्टी कार्यालयमा सो पार्टीको चुनाव चिन्ह घण्टी बजाउदै प्रफुल्ल मुद्रामा प्रवेश गरेका थिए । यतिमात्र होइन, उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैं भ्रष्टाचारीहरुका लागि यो खतराको घण्टी भएको बताए । मन्त्री खरेलले यतिमात्र भनेनन् घण्टीको चर्चा गर्दै चुनाव गर्नका लागि आत्मीय र मनोभाव बुझेको घण्टी भएको समेत बताए । उनले फागुन २१ गते रास्वपाले घण्टी बजाउँने बताउँदै सो पार्टीका अध्यक्ष लामिछानेको खुलेर प्रशंसा गरेका थिए । यसबाट मन्त्री खरेल पनि भोलिका दिनमा रास्वपा प्रवेश गरेर चुनाब लड्ने वा सो पार्टीको समानुपातिक सूचीमा बस्ने तयारीमा रहेको बुझ्न सकिन्छ ।

सरकारले फागुन २१ गतेको चुनावी तयारी तिब्र ढंगबाट अघि बढाएको बताएता पनि चुनाबका लागि राजनीतिक वातावरण भने बन्न सकेको छैन । त्यसैले चुनाव गराउने मूल प्रयोजनका लागि गठन गरिएको सरकारका प्रधानमन्त्री कार्की निर्वाचन गर्न नसकेको खण्डमा संपूर्ण कलंकको टीका आफूले लगाउनु पर्ने भएकोले त्यसप्रति बढी नै सचेत देखिएकी छन् । त्यसैले उनले जेन जी समूहका एकजना अगुवा सुदन गुरुंग (जसलाई उनले आफ्नो जेठो छोरो भनेर सम्बोधन गर्ने गरेकी छन्) मार्फत दुई साताअघि नै प्रतिनिधिसभा पुनस्र्थापनाको कुरा अघि सारेकी थिइन् । त्यसो त प्रतिनिधिसभा विघटन बिरुद्ध प्रमुख दुई दल नेपाली कांग्रेस र एमाले भदौ २७ को निर्णय बदर गरी मुलुकलाई भदौ २४ गतेकै अवस्थामा फर्काउन माग गर्दै सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन पुगेका छन् । एमाले र नेपाली कांग्रेसका बिघटित प्रतिनिधिसभाका सदस्यहरु प्रतिनिधिसभा पुनस्र्थापनाको माग राख्दै सर्वोच्च अदालत पुगेका हुन् । एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवासंगको सल्लाहमा ती दलका निवर्तमान सांसदहरु सर्वोच्च अदालत पुगेका हुन् । तिनै दलका शीर्ष नेताहरुलाई शनिबार बालुवाटारमा बोलाएर प्रधानमन्त्री कार्कीले छलफल गरेकी थिइन् ।

उनले तीनै दलका शीर्ष नेताहरुलाई बिन्ती बिसाउँदै निर्वाचन सफल गराउनका लागि आग्रह गरेकी थिइन् । यसको पछाडिको कारण भनेको कार्कीले प्रथम महिला प्रधानमन्त्रीको रुपमा इतिहासमा नाम लेखाउन सफल भएता पनि निर्वाचन गराउन नसकेमा उनी अक्षम ठहरिने छिन् । जबकि यसअघि सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायधीश खिलराज रेग्मी नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्ले तोकिएको समयमा चुनाब गराएको थियो । त्यसैकारण आजपर्यन्त खिलराजको नाम लिने गरिन्छ । चुनाव गराएर राजनीतिक दलहरुलाई सत्ता हस्तान्तरण गर्ने कार्कीको चाहना भए पनि चुनाव हुन नसकेमा के गर्ने भन्ने चिन्तामा छिन् । त्यसकारण चुनाव हुन नसक्दा बरु बिघटित प्रतिनिधि सभा पुनस्र्थापना भएमा बालुवाटारबाट बाहिर निस्कन सहज हुने प्रधानमन्त्री कार्की र उनको टिमले बिश्लेषण गरेको छ भने यदि त्यसो भएमा जेनजीको भावनामा ठूलो खेलवाड भएको बुझ्न कठिन हुने छैन । (नयाँ विकल्प साप्ताहिकबाट)

सम्बन्धित समाचार

कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा सहभागिताका लागि दोलखाबाट अपिल
कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा सहभागिताका लागि दोलखाबाट अपिल
  • २०८२ पुष १४, १६: ४४

काठमाडौं : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा व्यापक सहभागिताका लागि नेपाली कांग्रेस दोलखाले औपचारिक अपील जारी गरेको छ। कांग्रेसको दोस्रो...

देउवाले पार्टीमा तानाशाही प्रवृत्ति लादेका कारण विशेष महाधिवेशन निम्त्यो : कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ
देउवाले पार्टीमा तानाशाही प्रवृत्ति लादेका कारण विशेष महाधिवेशन निम्त्यो : कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ
  • २०८२ पुष १४, १६: ४४

काठमाडौं : नेपाली कांग्रेसका अग्रज नेता गोपालमान श्रेष्ठले पार्टीको दोस्रो विशेष महाधिवेशनमा देशभरका कार्यकर्तालाई कुनै पनि डर-त्रास नमानिकन सहभागी हुन...

विशेष महाधिवेशनमा सभापति नै उपस्तिति हुनु भन्दै निमन्त्रणा
विशेष महाधिवेशनमा सभापति नै उपस्तिति हुनु भन्दै निमन्त्रणा
  • २०८२ पुष १४, १६: ४४

काठमाडौं : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटनमा प्रमुख अतिथिका लागि सभापति शेरबहादुर देउवालाई निम्तो गरिएको छ । आयोजक समितिले...