निर्वाचनपछिको प्रधानमन्त्री गगन थापा – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper
विशेष महाअधिवेशनले कांग्रेसको गुटउपगुट भताभुङ्ग, जेनजीको भावनाअनुसार विवादित छविलाई टिकट नदिँदा आमजनता उत्साहित

निर्वाचनपछिको प्रधानमन्त्री गगन थापा

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापालाई आम निर्वाचनपछिको प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माको प्रस्ताव र अर्का उपसभापति पुष्पा भुसालको समर्थनपछि बैठकले ‘विशिष्ट परिस्थितिको माग’ भन्दै सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने निर्णय गरेको हो । यहि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता भएपछि बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।

भदौ २३ र २४ गतेको जेन जी विद्रोहपछि कांग्रेसभित्र नेतृत्व हस्तान्तरणको बहस अघि बढिरहेका बेला निर्वाचनपछि नियमित १५औं महाधिवेशन कि निर्वाचनअघि नै विशेष महाधिवेशनको मुद्धाले कांग्रेसभित्र चर्को विवाद शुरु भएको थियो । यहि विवादका बीच तत्कालीन महामन्त्रीद्धय थापा र शर्माको अगुवाईमा भएको विशेष महाधिवेशनले जेन जी विद्रोहपछिको जनमतलाई सम्बोधन गर्दै नेतृत्व चयन गरेको हो । यद्यपि यो प्रकृयामा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता डा. शेखर कोइराला पक्षीय नेताहरु सहमत थिएनन् । त्यसका बाबजुद सम्पन्न महाधिवेशन र त्यसबाट चुनिएका सभापति थापाको हस्ताक्षरलाई सहज रुपमा लिदैं देउवा र कोइराला पक्षीय नेताहरुले मनोनयन पत्र दर्ता गरेसंगै कांग्रेसभित्रको विवाद अन्त्य त भएको छ नै, साथै त्यसले कांग्रेसको पक्षमा देशव्यापी जनलहर ल्याएको छ । यसो हुँदा पछिल्लो करिब एक महिनाको मिडिया कांग्रेसकै राजनीति वरिपरि घुमिरहेको छ ।

जेनजी आन्दोलनले उठाएका मुद्दालाई स्वामित्व लिएर मुलुकमा सुशासन स्थापित गर्ने संकल्प र योजनाका साथ कांग्रेसले नयाँ ढंगबाट बाटो तय गरेको हो । खासगरी युवापुस्तामाझ लोकप्रिय नेता थापालाई अघि सार्दा निर्वाचनमा युवाहरुको साथ र सहयोगले निर्वाचन परिणाम आफ्नो पक्षमा आउने कांग्रेसको बिश्वास छ । अर्कातिर, कांग्रेसको सरकार बनाउने अवस्था आएमा प्रधानमन्त्रीको उम्मेदवार को हो त भन्ने अन्यौल हटाउन कांग्रेसले थापालाई प्रधानमन्त्रीको प्रस्ताव गर्दै अघि सारेको हो । नेपालको जगका रुपमा रहेको मधेशमा सभापति थापालाई भावी प्रधानमन्त्रीका रुपमा उभ्याएर कांग्रेसले देश निर्माण गर्न चाहेको यसबाट बुझ्न सकिन्छ ।

कांग्रेसले निर्वाचनअघि नै आफ्नो नेतालाई प्रधानमन्त्रीको प्रस्ताव गरेको यो पहिलो पटक भने होइन । यसअघि नेता कृष्णप्रसाद भट्टराईलाई पनि भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेको थियो ।

यहि वीचमा कांग्रेसले प्रधानमन्त्रीका रुपमा अघि सारेका सभापति थापा यसअघिका दुई वटा निर्वाचनमा आफूले लगातार जित हात पार्दै आएको काठमाडौं क्षेत्र नं ४ छाडेर माघको ठण्डीमा मधेश ओर्लेका छन् । उनले नेपाली कांग्रेसको पकड रहदै आएको सर्लाही क्षेत्र नं ४ लाई रोजेका छन् । हिजोका दिनमा कांग्रेसको भोट बैंक भनेकै मधेश थियो । जतिबेला मधेशले कांग्रेसलाई साथ दियो त्यतिबेला कांग्रेसको नेतृत्वमा पटक पटक सरकार गठन भएको थियो । तर जब मधेशबाट कांग्रेस क्रमशः कमजोर भयो तब कांग्रेसको नेतृत्वमा सरकार गठन हुन मुस्किल भएको हो । त्यसकारण हिजोको भोट बैंकलाई पुनः आफ्नो पक्षमा फर्काउन पनि कांग्रेसलाई मधेशबाट प्रधानमन्त्रीको नयाँ कार्ड अघि सारेको हो । यो त्यहि क्षेत्र हो जहाँ २०७९ को प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र हैसियतमा अमरेश सिंहले जित हात पारेका थिए ।

जतिबेला उनले कांग्रेसले आफूलाई टिकटबाट बंचित गरेका कारण स्वतन्त्र उम्मेदवारी दिन बाध्य भएको भन्दै कांग्रेसजनहरुसंग मत मागेका थिए । कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका सिंह २० हजार १७ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार नागेन्द्र कुमारले १८ हजार २५३ मत पाएका थिए । उनलाई तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सघाएका थियो । निर्वाचनमा सर्लाही–४ का अर्का स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादव १४ हजार ६२२ मत पाएर तेस्रो भएकी थिइन् । चौथो भएका जसपा नेपालका राजेशकुमार मिश्र ५ हजार ८१३ पाएका थिए । नेता सिंह प्रवेश गरेको दल रास्वपाका उम्मेदवार धिरज ठाकुर ३१८ पाएर नवौं स्थानमा आएका थिए । उनै सिंहको यस पटक कांग्रेसमा प्रवेश गरी टिकट लिने चाहना थियो । तर कांग्रेसले टिकट नदिएपछि उनले आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सो क्षेत्रमा उम्मेदवारी दिएका छन् । त्यस हिसावले यो पटक रास्वपाबाट उम्मेदवारी दिएका कारण सिंहको अवस्था ज्यादै कमजोर हुँदै गएको देखिन्छ । अर्कातिर, कांग्रेसले भावी प्रधानमन्त्री घोषणा गरेका सभापति थापा मधेशका जनताको माग अनुसार नै सर्लाही झरेका हुन् । त्यसअर्थमा मधेशका जनताका लागि यो पहिलो अवसर बन्दै छ कि आफूले मत दिएर पठाएको जनप्रतिनिधिलाई प्रधानमन्त्रीका रुपमा हेर्न पाउने ।

जुन ऐतिहासिक अवसर गुमाउनु भन्दा पनि अत्याधिक मत दिएर नयाँ रेकर्ड बनाउन चाहन्छन् । त्यसकारण पनि सर्लाही क्षेत्र नं ४ ले यतिबेला सिंगो मुलुकको ध्यान खिचेको छ । मिडियाहरु पनि समाचारका लागि सर्लाही क्षेत्र नं ४ तिर केन्द्रित हुन थालेका छन् । स्वतन्त्र विश्लेषकहरुको भनाईमा कांग्रेस सभापति गगनको यात्रालाई अब कसैले रोक्न सक्ने छैन । सर्लाही–४ मा नेकपा एमालेबाट अमनिशकुमार यादव, नेपाली कम्युनिस्ट पार्टीबाट रजनिश राय, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट रामेश्वर राय यादव, जनमत पार्टीबाट राकेश मिश्रलगायत उम्मेदवार छन् ।

त्यसो त एमालेले केपी ओली र राष्टिय स्वतन्त्र पार्टीले काठमाडौं महानगरपालिकाका निवर्तमान प्रमुख बालेन्द्र साहलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेका छन् । रास्वपा अध्यक्ष रवि लामिछानेको क्रेज धुलिसात भएपछि सो पार्टीले बालेनलाई महानगरको प्रमुखबाट राजीनामा दिन लगाएर पूर्वी नेपालको झापामा पुर्याएको छ । यो त्यहि निर्वाचन क्षेत्र हो जहाँबाट एमाले अध्यक्ष ओली निर्वाचित हुँदै आएका छन् । प्रधानमन्त्रीका हैसियतमा ओलीले सो क्षेत्रमा गरेको विकास अरुहरुका लागि समेत अनुकरणीय भएको छ । त्यसकारण सर्लाही क्षेत्र नं ४ जस्तै झापा क्षेत्र नं ५ ले पनि यतिबेला सिंगो मुलुकको राजनैतिक ध्यान खिचेको देखिन्छ ।

अर्कोतिर कांग्रेको विशेष महाअधिवेसनले नीति र नेतृत्व परिवर्तन गरेसँगै यसपटकको आम निर्वाचन मा पटकपटक सरकारमा रहेर विभिन्न काण्डमा मुछिएका विवादित छविलाई टिकट नदिदा र टिकट वितरणमा आर्थिक चलखेल नदेखिएकाले जेनजी पुस्तादेखि सर्वसाधारण जनता पनि कांग्रेसप्रति उत्साहित देखिएका छन । (नयाँ विकल्प साप्ताहिकबाट)

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०८२ माघ १२, १६: १२

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०८२ माघ १२, १६: १२

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०८२ माघ १२, १६: १२

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...