पूर्णबहादुर खड्काले भने- अनुशासन समितिको स्पष्टीकरण ‘हास्यास्पद’, जवाफ नदिने संकेत – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

पूर्णबहादुर खड्काले भने- अनुशासन समितिको स्पष्टीकरण ‘हास्यास्पद’, जवाफ नदिने संकेत

काठमाडौं : नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रीय अनुशासन समितिले सोधेको स्पष्टीकरणलाई ‘हास्यास्पद, निरर्थक र अर्थहीन’ भन्दै त्यसको औचित्यमाथि प्रश्न उठाएका छन् ।

बुधबार बसेको अनुशासन समितिको बैठकले कार्यवाहक सभापतिको हैसियतमा पार्टीको लेटरप्याड प्रयोग गरी विज्ञप्ति जारी गरेको आरोपमा खड्कासँग सात दिनभित्र स्पष्टीकरण माग्ने निर्णय गरेको थियो। तर खड्काले उक्त निर्णयलाई अस्वीकार गर्दै आफूले स्पष्टीकरण नदिने संकेत गरेका छन् ।

उनले नयाँविकल्पसँग भने, ‘अवैधानिक महाधिवेशनबाट बनेका संरचनाले स्पष्टीकरण सोध्नु नै हास्यास्पद र अर्थहीन हुन्छ ।’

उनले आफूले पार्टीको सक्कली लेटरहेड प्रयोग गरेको दाबी गर्दै विशेष महाधिवेशनबाट गठन भएको कार्यसमितिलाई नै अवैधानिक ठहर गरेका छन् । सोही विषयमा आफूले सर्वोच्च अदालतमा मुद्दा दायर गरिसकेको र हाल उक्त मुद्दा विचाराधीन अवस्थामा रहेको उनको भनाइ छ ।

खड्काका अनुसार नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको निर्णयअनुसार नै आफूलाई कार्यवाहक सभापतिको हैसियतमा अदालत जाने अख्तियारी दिइएको थियो । उनले विशेष महाधिवेशन संविधान, प्रचलित कानून, राजनीतिक दलसम्बन्धी ऐन तथा पार्टी विधानविपरीत भएको जिकिर गर्दै अदालत पुगेको स्पष्ट पारे ।

खड्काले विवाद अदालतमा विचाराधीन रहेकै अवस्थामा आफूले कार्यवाहक सभापतिको हैसियतमा गतिविधि जारी राखेको पनि बताएका छन् । साथै, आफूले अवैधानिक ठानेको संरचनाबाट जारी टिकट लिएर निर्वाचनमा सहभागी हुनु नैतिक रूपमा उचित नहुने ठहर गर्दै प्रतिनिधिसभा निर्वाचनमा नउत्रिएको उल्लेख गरे ।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको थियो । तर तत्कालीन सभापति शेरबहादुर देउवा पक्ष उक्त महाधिवेशनमा सहभागी भएको थिएन ।

विशेष महाधिवेशनलाई निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध खड्का सर्वोच्च अदालत पुगेका छन्, जहाँ मुद्दा अझै विचाराधीन छ ।

यता, खड्काले कार्यवाहक सभापतिको हैसियतमा पटक–पटक विज्ञप्ति जारी गर्दै आएपछि अनुशासन समितिले उनलाई सचेत गराएको थियो । चैत ३० गते पुनः विज्ञप्ति जारी गरेपछि समितिले फेरि छलफल गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०८३ बैशाख २, १६: ५६

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०८३ बैशाख २, १६: ५६

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०८३ बैशाख २, १६: ५६

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...