राजनीतिमा बढ्दै अपराधिकरण – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

राजनीतिमा बढ्दै अपराधिकरण


दुर्गा प्रसाद गौतम,


नेपाली भाषाको शब्द राजनीति अंग्रेजी भाषाको शब्द पोलिटिक्सबाट अनुवादित भएको हो । जुन यूनानी भाषाको शब्द पोलिसीबाट उत्पत्ति भएको हो । यूनानी भाषामा पोलिसीको अर्थ समुदाय वा समाज भन्ने हुन्छ ।

त्यसैले राजनीति भन्नासाथ सामान्यतया व्यक्ति वा नागरिकको समाजमा रहने निस्वार्थ हिस्सेदारी भन्ने बुझ्नु पर्दछ । राजनीति समाजहित मानवहित तथा कल्याणकारिता वृद्धिका लागि विशेष लक्ष्य तथा उद्देश्यसहित विश्व अर्थ व्यवस्था तथा मानव सभ्यतामै दुरगामी प्रभाव छोड्नका लागि राज्यव्यवस्था सञ्चालनका लागि कटिबद्धभै गरिने विश्व रुपान्तरणको पद्धति वा व्यवस्था हो ।

प्राचीन समयमा राजनीतिलाई सामाजिक कौशलता, सद्भाव, सदाचार, स्नेह, प्रेम, सहिष्णुता तथा आपसी भाइचारा वृद्धि गर्दै आर्दश समाज निमार्णको आधारशिलाको रुपमा चित्रित गरिएको पाइन्छ । तत्कालिन समाजमा राजनैतिक मूल्य–मान्यताहरु समाजमा प्रचलित धार्मिक, सांस्कृतिक तथा सामाजिक मान्यताबाट धेरै प्रेरित हुने गरेको पाइन्छ ।

पौराणिक महापुराणका कथाहरुमा व्यक्त भएका विभिन्न कालखण्डका अलौकिक व्याख्याहरुमा समेत राजनीति समाज सेवाको आधारशिला र राजनीतिज्ञका राजनेता उक्त समाजको आर्दश वा प्रेरकको रुपमा चिनिने गरेका पाइन्छ ।

यी कथाहरुले राजनीति राज्य व्यवस्थाको सर्वोच्च नीति र उक्त नीतिको पालना स्वयम् राजनीतिज्ञको पनि स्वधर्मको रुपमा चित्रित गरेको पाइन्छ । त्यसबाट हामी के स्पष्ट हुन जरुरी छ भने राजनीति विश्व अर्थव्यवस्थामा सुचित सबै नीतिहरुमध्येको श्रेष्ठ नीति हो ।

उक्त नीतिकै आधारमा समाज वा अर्थव्यवस्थाको आवश्यक अन्य नीति नियमहरुको निर्माण, तर्जुमा र विश्लेषण हुने भएकाले यो नीति सामाजिक आर्दशको केन्द्रविन्दु हुन जरुरी छ । राजनीतिमा भ्रष्टाचार, दुराचार पदलोलुप, आफन्तवाद, नाताबाद, कृपावाद, स्वार्थबाद, तल्लो, उपल्लो, तलमाथि, बाहिर, भित्र आदि जस्ता विभाजनकारी कलुसित व्यविचारपूर्ण दृष्टिकोण वर्जित हुन्छ ।


राजनीतिको प्रमुख ध्येय व्यक्ति, परिवार, समाज, राष्ट्र दुवै विश्व मानव जातिकोनै उत्थान, विकास, ज्ञानको विकास, सबैमा समान सहभागिता सहित राज्य व्यवस्थामा पहुँच र त्यसको समान फलदायी उपभोग रहेको हुन्छ ।

त्यसैले राजनीतिमा सामाजिक सेवा र उक्त सेवाभर समर्पित हुने व्यक्ति वा व्यक्तिहरुको समूहलाई राजनीतिकर्मी वा राजनीतिज्ञ भन्ने गरिन्छ । राजनीतिलाई सामाजिक सेवाका रुपमा चित्रित गरिएका कारण सामाजिक सेवामा निस्वार्थ ढंगले समर्पित हुँदै समाजको रुपान्तरण समाजमा रहेका नकारात्मक पक्षहरु निरुपणका खातिर सामाजिक अभिचरणको रुपमा क्रियाशिल रहने व्यक्ति नै राजनीतिज्ञ हो ।

जसलाई सिंगो समाजले आफ्नो आर्दशको रुपमा हेरेको हुन्छ । जसले समाजमा रहेको विभिन्न प्रकारका सामाजिक, सांस्कृतिक, परम्परागत, आर्थिक, राजनैतिक दासतामा जकडिएर रहेको समाज र उक्त समाजमा प्रताडित हुन बाध्य पारिएका आम जनसमुदायलाई उक्त दासताबाट उन्मुक्ति दिलाउनका लागि संघर्ष गरेर सिंगो समाज वा राष्ट्रलाई आफ्नो एजेण्डा वा रोडम्यापमा डो¥याई आमजनतालाई यस्तो सामाजिक, सांस्कृतिक, परम्परागत, आर्थिक तथा राजनैतिक दासताबाट मुक्तिका लागि संघर्षमा लामबद्ध गराई समाजनै रुपान्तरण गर्दछ, त्यस्तो व्यक्ति राजनेताको उदाहरणका लागि अब्राहम लिंगकन, नेल्शन मण्डेला, गान्धि, विश्वेश्वरप्रसाद कोइराला आदिलाई हामी राजनेताको रुपमा चित्रित गर्न सक्दछौं ।

यि माथि उल्लेख गरिएका महापुरुषहरु आफ्नो तात्कालिन समाज वा राष्ट्रमा रहेको विभिन्न स्वरुपको मानविय दासत्ताबाट समाजलाई मुक्ति दिलाई आफ्नो जीवन पर्यन्त मुलुक, समाज तथा राष्ट्र निर्माणका खातिर आफ्नो चिन्तन र क्रियाशिलतालाई जीवन्त राख्नुभयो ।

यसबाट पनि समाजमा राजनीति के हो र यसको आकर्षण किन र कसरी औचित्यपूर्ण हुन्छ भन्ने कुरा पुष्टि गर्न धेरै आधार प्राप्त हुन्छन् । समकालिन समयमा प्राय अल्पविकसित तथा विकासोन्मुख मुलुकहरुमा राजनीतिको परिभाषा र सन्र्दभ नै उल्टो हुँदै गएका परिदृश्यहरु हाम्रा सामुन्ने उर्जागर हुँदै गएका छन् ।

जसका कारण यस्ता मुलुकहरुमा ठूलो ऊर्जाशील यूवा जनशक्ति दिनानुदिन राजनीति भन्ने वितृष्णा ओकल्न थालेको छ । यसले सिंगो समाजलाई परिवर्तन पश्चात् सही दिशातर्फ उन्मुख गर्न नसकेको भान पर्दै गएको छ ।

यस्ता मुलुकहरुमा राजनैतिक क्षेत्रमा क्रियाशिल राजनैतिक नेता तथा कार्यकर्ताहरुको व्यवहार तथा आचरणले राजनीति एउटा फोहोरी खेल र अकुत गैरकानूनी धन आर्जन गर्ने व्यवसाय पोे हो की भन्ने भान पर्न थालेको छ ।

यसले एकातर्फ समाजमा असल कर्तव्यनिष्ठ र सदाचारी मानिसहरुका साथै आत्मसम्मानलाई सबैथोक सम्झने ठुलो युवाहरुको जमातलाई राजनीतिबाट बिमूख बनाउँदै लगेको छ भने समाजमा अत्याचार, व्यभिचार, अन्यायलाई प्रश्रय दिने खालका भावना बोकेका दुराचारी प्रवृतिलाई संस्थागत गर्दै राजनीतितर्फ उन्मुख गर्दै लगेको छ ।

जसका कारण यस्ता मुुलुकहरुमा राजनीति कतै अपराधिकरणतर्फ उन्मुख त हुँदै जाने होइन ? भन्ने खतरा सिर्जना हुँदै गएको छ ।


हामीले नेपालको सन्दर्भलाई पछिल्लो समय नेपाली राजनीतिको क्षीतिजमा देखिएका परिदृश्यहरुसँग एकाकार गरेर हे¥यौं भने नेपाली राज्य व्यवस्था राजनीतिका नाममा अपराधिकरण त संस्थागत हुँदै गइरहेको छैन भन्ने भान पर्न थालेको छ ।

आधुनिक नेपालका निर्माता पृथ्वी नारायण शाहको कालखण्डको लगत्तै पछिदेखि नेपाली राज्यको राजनैतिक क्षेत्रमा विभिन्न कालखण्डमा देखिएका परिदृश्यहरुलाई नियाल्ने हो भने नेपालको राजनीतिमा आफन्तवादले जरा गाड्दा सँधै राज्य सञ्चालन गर्ने शासक अन्धो हुनु पुगेको र उसले जनताको चाहना तथा आवाजको हवाला दिएता पनि कहिल्यै त्यसको कदर नगरेको र त्यही हवालाबाट आफू सत्तामा आएपछि आफ्ना आसेपासे भाइ भारदार र आफन्तवादको घेरामा लिप्त भएको उदाहरणहरु प्रसस्त छन् ।

जसको तात्कालिन समयको पछिल्लो उदाहरण १०४ वर्षको जहाँनियाँ राणा शासन हो । जहाँनियाँ राणा साशनको अन्त गर्न तात्कालिन समयमा टंक प्रसाद, धर्मभक्त, गंगालाल, दशरथ चन्द, शुक्रराज शास्त्री, विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी लगायत धेरै तत्कालिन समयमा राजनीतिज्ञहरुले ठुलो प्रयत्न गर्नुभयो । राणशासनको अन्तपछि पनि दशौ वर्षको राजनैतिक अस्थिरता पश्चात् जननिर्वाचित प्रधानमन्त्रीका रुपमा जननायक विश्वेश्वरप्रसाद कोइरालाले छोटो समयको सरकार चलाउनु भयो ।

उहाँको प्रधानमन्त्रीको कालमा व्यक्त भएका विचार अबलम्वन गरिएका नीतिहरुका आधारमा वास्तवमै विश्वेश्वर प्रसाद कोइरालामा राज नेताहरुमा हुनुपर्ने गुणहरु थिए भन्ने पुष्टि हुन्छ । तथापि त्यस पश्चात् उहाँले आफ्नो जीवनकालमा नेपाली राज्य सत्तालाई निर्देशित गर्ने कुनै अवसर प्राप्त गर्नु भएन ।

२०४६ सालमा गणेशमान सिंहको नेतृत्वमा संयुक्त वाममोर्चाको समेत संलग्नमा जनआन्दोलन समाप्तभै सरकारबाट आफूलाई प्रधानमन्त्री बन्न गरिएको आग्रहलाई तात्कालिन नेपाली काँग्रेसका ‘का’ सभापति श्री कृष्ण प्रसाद भट्टराईलाई बनाउन प्रस्ताव गरी राजनीतिमा स्वधर्म र विवेक तथा राष्ट्रप्रतिको एक जिम्मेवार नेताको दायित्व के हो भन्ने कुरालाई स्थापित गर्नुभयो ।

लगत्तै त्यस पश्चात्को निर्वाचनमा कृष्ण प्रसाद भट्टराई पराजित भएपछि गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्री बन्नको लागि नेपाली काँग्रेसको बहुमत प्राप्त सरकारको आफ्नै पार्टी अन्तरकलहका कारण सृजित परिस्थितिका कारणले सृजना हुन गएको मध्यावधि निर्वाचनले नेपाली राजनीतिमा केही मात्रामा अपारदर्शिता, गुटगत विचार र स्वार्थ तथा पद लोलुपताले प्रवेश गर्यो भने त्यसपछिको हङ्गपार्लियामेन्ट तथा उक्त पार्लियामेन्ट प्रथा सरकारहरु बनाउनकै लागि थालनी गरिएको सांसद् खरिद बिक्री प्रकृया नै नेपालमा राजनैतिक रुपमा भ्रष्टाचारलाई संस्थागत गर्ने प्रस्थान विन्दुको रुपमा देखा प¥यो ।

उक्त समयावधिमा बनेका हङ्गपर्लियामेन्ट प्रथा सरकारहरुको कार्यनीतिमा भएका कमीकमजोरी र त्यसैको आडमा जनतामा बढ्न गएको केही हदसम्मको आक्रोशलाई आधार बनाएर माओवादी १० वर्षे शसस्त्र विद्रोह भयो ।

१० वर्षे जनयुद्धको अन्ततिर राजाले आफ्नो हातमा शासन सत्ता लिई जनाधिकारकै अवमूल्यन ग¥यो भनी तत्कालीन सात राजनैतिक दल र माओवादी विद्रोहीकाबीच भएको १२ बुँदे दिल्ली सम्झौता पश्चात् २०६२÷०६३ को जनआन्दोलनले नेपालबाट राजतन्त्रलाई उन्मूलन ग¥यो ।

तत्कालीन माओवादी विद्रोहीले जनताको लागि समानतामा आधारित राज्य सिर्जना गर्न भनी वर्गीय, जातीय, क्षेत्रीय द्वेषलाई वृद्धि गर्ने गरी मानिसहरुलाई आफूतिर आकर्षित गरे पनि पछिल्लो समय राज्यसत्तामा प्राय सामेल रहेका माओवादी पार्टीका नेताहरुको आफन्तवाद, नातावाद, कृपावाद, घरियावाद र व्यापक पदलोलुपता र भ्रष्टाचारका कारण जनतामा जुन जोगी आएपनि कानै चिरेको भन्ने उखान चरितार्थ हुन पुगेको अनुभव गर्न थालेका छन् ।


२०६२÷०६३ को आन्दोलनताका जनताले राजनैतिक नेतृत्वमा ठुलै भरोसा गरेको भएपनि त्यसपछि नेपाली राजनीति क्षेत्रमा विकसित भएका घटनाक्रमहरुले पछिल्लो राजनैतिक परिवर्तन पछि विस्तारै राजनीति व्यवसायिकरण र अपराधिकरण संस्थागत हुँदै गएको पाइन्छ ।

जसका कारण राजनीतिमा आफन्तवाद, नातावाद, कृपावाद, गुटवाद तथा असहिष्णु प्रवृतिलाई संस्थागत हुन पुगेको छ । आज २०६२÷०६३ को परिवर्तन अगाडि कुनै हैसियत नभएका विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु रातारात करोडपति भए ।

यिनीहरुले कसरी यो सम्पत्ति आर्जन गरे भन्ने कुरामाथि न छानविन भयो, न त खोज खबरको पद्धति नै विकास । झन् पछिल्लो समय एक पछि अर्को त्रासद्धि तथा अन्यायपूर्ण परिपार्टीले नेपाली राजनीतिमा अन्याय, व्यभिचार, भ्रष्टाचार र अपराधिकरण संस्थागत हुँदै गएको र आउँदा दिनमा राजनीतिमा अपराधिकरण व्यवसायिक खेतीका रुपमा त विकसित हुने हो की भन्ने खतरा बढेर गएको छ ।–(लेखक आर्य स्कुल सितापाइलाका संस्थापक प्रिन्सिम्पल हुन् ।)

सम्बन्धित समाचार

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०७७ भाद्र ३०, १३: ५०

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७७ भाद्र ३०, १३: ५०

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५एफ अन्तर्गत क्लस्टर २ को नेतृत्वमा अभिमुखीकरण तथा वार्षिक योजना कार्यक्रम सम्पन्न
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५एफ अन्तर्गत क्लस्टर २ को नेतृत्वमा अभिमुखीकरण तथा वार्षिक योजना कार्यक्रम सम्पन्न
  • २०७७ भाद्र ३०, १३: ५०

काठमाडौं : लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५एफ अन्तर्गत क्लस्टर २ द्वारा आयोजित एक दिवसीय ‘लिडरसिप ओरियन्टेसन एन्ड अनुअल प्लानिङ वर्कसप’ लायनहरुमा...