‘‘जरा अभियान’ नै १५औं महाधिवेशनको जग – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper
कांग्रेस संसदीय दलमा समावेशी र भूगोलको प्रतिनिधित्व गराउन गगन विश्व सफल सिटौला हटाउँदा पुराना रिसाए नयाँ हौसिए

‘‘जरा अभियान’ नै १५औं महाधिवेशनको जग

काठमाडौं । पार्टीभित्रको आन्तरिक द्धन्दका कारण फागुन २१ गतेको निर्वाचनमा नराम्ररी पराजय भोग्नु परेको नेपाली कांग्रेसले अन्ततः संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे लगायत कांग्रेस संसदीय दलको सबै पदमा सर्वसम्मत चयन भएको छ । निवर्तमान सभापति शेरबहादुर देउवा निकट रहेका आङदेम्बे पछिल्लो समय गगन–विश्व निकट भएकै कारण संसदीय दलको नेतामा सर्वसम्मत भएका हुन् ।

संसदीय दलको नेतामा चयन भए लगत्तै उनले राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा कमला पन्तलाई मनोनित गरेका थिए । यसअघि राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतामा कृष्ण सिटौला रहेका थिए । आङदेम्बेले सिटौलालाई हटाएर पन्तलाई नेता चयन गरेका हुन् । कांग्रेसमा संसदीय दलका नेताले राष्ट्रिय सभा संसदीय दलको नेता मनोनित गर्ने व्यवस्था रहेको छ । यसअघि सिटौलालाई तत्कालीन संसदीय दलका नेता शेरबहादुर देउवाले राष्ट्रिय सभामा संसदीय दलको नेता मनोनित गरेका थिए । त्यस्तै, प्रतिनिधि सभाको उपनेतामा अभिषेक प्रताप शाह चयन भएका छन् । आङदेम्बेले प्रतिनिधि सभामा संसदीय दलको मुख्य सचेतकमा बासना थापा र सचेतकमा निश्कल राईलाई मनोनित गरेका छन् । यसरी संसदीय दलको नेतामा जनजाति र पूर्वी पहाडीबाट आङ्देम्वे, उपनेतामा मधेशी अनुहारबाट शाह, कर्णाली तथा महिलाबाट बासना थापा र नयाँ युवा पुस्ताबाट इलामबाट निर्वाचित निश्कल राईलाई संसदीय दलको जिम्मा लगाउँदै कांग्रेसको नीतिअनुसार संसदमा भूमिका खेल्ने जिम्मेवारी प्रदान गरेर गगन विश्वले समावेशी र भूगोललाई समेत समेटेको देखिन्छ ।

यसैवीच, कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई निलम्बन गर्ने निर्णय गरेको छ । कान्छाराममाथि वैशाख ७ गते अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो । उनले पार्टी नेतृत्वका विरूद्ध वद्नियत राखी भ्रमपूर्ण र तथ्यहिन अभिव्यक्ति दिएको आरोपमा स्पष्टीकरण सोधिएको थियो । कान्छारामले वैशाख ८ गते स्पष्टीकरण बुझाएका थिए । स्पष्टीकरण जबाफ प्रारम्भिक रूपमा हेर्दा सन्तोषजनक एवं चित्तबुझ्दो नदेखिएको हुँदा यस विषयमा थप अनुसन्धान गरी निर्णय तहमा पुग्नु पर्ने देखिएकोले कान्छारामलाई सभापतिबाट निलम्बन गरिएको अनुशासन समितिले जनाएको छ । ‘निज पूर्ण बहादुर तामाङ (कान्छाराम) लाई सभापति पदमा राखिराख्दा अनुसन्धान कार्य प्रभावित हुने भएकोले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ (८) (ङ) तथा ऐ. नियमावली, २०७६ को नियम २८ (३) बमोजिम अनुशासन उल्लघंन गरेको कसुरमा निर्णय नहुन्जेल सम्मका लागि कान्छारामलाई आजैका मितिदेखि नेपाली कांग्रेस रामेछाप जिल्लाको सभापति पदमा रही कामकाज गर्न नपाउने गरी निलम्वन गर्ने निर्णय गर्दछ,’ अनुशासन समिति बैठकको निर्णयमा भनिएको छ । यसैगरी, अनुशासन समितिले बिभिन्न जिल्लाका सात जना नेताहरुलाई स्पष्टिकरण सोधेको छ ।

महासमित सदस्य एवं लुम्बिनी प्रदेशका वन मन्त्री देवकरण प्रसाद कलवार (सन्तु), कोशी प्रदेशका मन्त्री एवपूर्व केन्द्रीय सदस्य प्रदिप सुनुवार, लुम्बिनी प्रदेशका यातायात तथा पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपाने, लुम्बिनी प्रदेश सभा सदस्य एवं लुम्बिनी प्रदेशका उपसभापति राजु खनाल, मधेश प्रदेशका मन्त्री जंगीलाल राय तथा मधेश प्रदेशका सांसदद्धय सकुन्ती देवी महरा र कौशल किशोर रायलाई स्पष्टिकरण सोधेको छ । यसअघि, अनुशासन समितिले निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई समानान्तर भेला राखेर पार्टीको लेटरप्याड दुरुपयोग गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । तर पछिल्लो समय समानान्तर भेला गरिएता पनि लेटरप्याड प्रयोग नगरेपछि अनुशासको कार्बाही सम्बन्धी मुद्धालाई तामेलीमा राख्ने निर्णय गरेको थियो । तर रामेछाप सभापति तामाङलाई गरिएको निलम्बन तथा आफ्ना पक्षीय नेताहरुलाई सोधेको स्पष्टिकरणलाई लिएर देउवा समूहले आपत्ति जनाएको छ ।

यो भन्दा पनि राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेताबाट कृष्ण प्रसाद सिटौलालाई हटाएको विषयलाई सो समूहले असामान्य भनेर देउवा पक्षीय नेताहरु झन उग्र हुँदा नेपाली कांग्रेस एकाकार हुने सम्भावना कम हुँदै गएको अनुमान गरिएको छ ।
तत्कालीन १४औं महाधिवेशनबाट देउवा गुटलाई अत्याधिक बहुमत प्राप्त भएकोे केन्द्रीय कार्य समितिले पार्टीको विधान लत्याउँदै ४८ दिने बैठक गर्दा कांग्रेसभित्र ठूलो खाडल पर्न गयो । अन्ततगत्वा नियमित महाधिवेशन र विशेष महाधिवेशन पक्षधर विभाजित हुन पुग्दा विशेष महाधिवेशन भयो ।

विषेश महाधिवेशनलाई निर्वाचन आयोगदेखि सम्मानित सर्वाेच्च अदालतले समेत कानुनी मान्यता प्रदान गरिसकेको छ । आफ्नै पार्टीभित्र आफुले नै निर्माण गरेको नेतृत्व र पार्टी संरचना विरुद्ध सर्वाेच्च अदालतमा पार्टीभित्रको आन्तरिक व्यवस्थापन मिलाइदिन गुहार मागेका तत्कालीन देउवापक्षीय नेताहरु यतिबेला पनि फेरि सम्मानित अदालतमा पुर्नविचार गरि पाउन भन्दै बहस गरिरहेका छन् । एकातिर पुनविचार भनेर अड्को थाप्ने र अर्काेतिर १४औं महाधिवेशनका बहुमत कार्यसमितिले निर्णय गरेको १५ महाधिवेशन वैशाखको अन्तिमान नै गर्ने भन्दै स्मार्ट पार्टी प्यालेसमा दैनिक भोज गरेर बैठक गरिरहेका छन् । यता गएको बुधबार कांग्रेस संसदीय दल र पार्टीको अनुशासन समितिले अति संवेदनशील निर्णयहरु गरेको छ ।

देउवा पक्षीय मनोनित तरुण दलका केन्द्रीय अध्यक्षले राजीनामा समेत दिएका छन् । विवादित छवि भएका विधान गुरुङले पार्टीको नीति र निर्देशन विपरित अभिव्यक्ति दिने र निर्वाचनमा समेत असयोग गरेका आरोप खेपीरहेका बेला एकाएक राजीनामा दिनुले देउवा गुटको निर्देशन होइन भन्ने अवस्था देखिँदैन । रामेछापका कांग्रेस सभापति कान्छाराम तामाङले विशेष महाधिवेशनदेखि निर्वाचन हुँदै पार्टी सभापति गगनकुमार थापासँग तीन अरब पैसा रहेको एक अरव निर्वाचनमा खर्च भएको र दुई अरब बाँकी रहेको भन्दै अपुष्ट अभिव्यक्ति दिएका कारण सोधिएको स्पष्टीकरणमा उनले पुस्टाई गर्न नसकेपछि बुधबार उनलाई पार्टी अनुसानको कारवाही स्वरुप पद मुक्त गरिएको छ । चर्चामा आउन निज कान्छाराम तामाङले यसभन्दा अगाडिको संसद देखि नै पार्टीको नीति विपरित अभिव्यक्तिहरु पटक पटक दिँदै आएका थिए । तत्कालीन संसदमा समेत उपप्रधानमन्त्री रहेका प्रकाशमान सिंह र परराष्ट्रमन्त्री आरजु राणालाई अवको संसदमा देख्न नपरोस् भनेर भगवान पशुपतिनाथसँग प्रार्थना गर्दै चर्चामा आएका थिए ।

त्यसैगरी कांग्रेस संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित भएका भिष्मराज आङ्देम्वेले बुधबारै कांग्रेसका पूर्व महामन्त्री एवं उपप्रधानमन्त्री समेत भइसकेका, २०७९ को आमनिर्वाचनमा झापाबाट पराजित भएका सिटौला राष्ट्रिय सभामा पुनः निर्वाचित भई राष्ट्रिय सभाको अध्यक्ष बन्न आएका सिटौलालाई राष्ट्रिय सभाको संसदीय दलको नेताबाट समेत पदमुक्त गरिएको छ । सिटौला पार्टी विधान मिच्दै १५ औं महाधिवेशन ढकेल्ने र विशेष महाधिवेशन पछार्न कम्मर कसेर लागेका थिए । निकै लामो समयसम्म कांग्रेसको नेतृत्वमा बसेर पार्टी संगठन कमजोर बन्दै जाँदा पनि गुटकै संरक्षण गर्दै आएका देउवा पक्षीय नेताहरु विशेष महाधिवेशन स्वीकार गरेर जरा अभियान अन्तर्गत अध्यावधिमा समावेशन हुन आए सभावेश गरिने र अन्यथा जरा अभियान मार्फत देउवा पक्षका नेताहरु बडारिने हो कि भन्ने आशंका बढ्दै गएको देखिन्छ ।

यसरी देउवा गुटका हटका कारण पार्टीमा १४औं महाधिवेशको निर्वाचनपछि तत्कालीन संस्थापन पक्षका नेताहरुले देउवालाई उपयोग गर्दै आफु अनुकूल पार्टीलाई एकलौटी निर्णय गर्दै जाँदा पार्टीमा ठूलो बिग्रह उत्पन्न भएकोले यसको परिणाम अहिले खड्का लगायत नेताहरुले भोगिरहेका छन् ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०८३ बैशाख २१, १३: ०६

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०८३ बैशाख २१, १३: ०६

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०८३ बैशाख २१, १३: ०६

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...