सरकारलाई लाइफभन्दा बढी लाइकको चिन्ता, निजी क्षेत्रलाई अपराधी सरह व्यवहार गरियो : सभापति थापा – Naya Bikalpa
July 5, 2026, Sunday      Epaper

सरकारलाई लाइफभन्दा बढी लाइकको चिन्ता, निजी क्षेत्रलाई अपराधी सरह व्यवहार गरियो : सभापति थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले नागरिकका वास्तविक समस्या समाधानभन्दा लोकप्रियता हासिल गर्ने प्रयासमा बढी ध्यान दिएको आरोप लगाएका छन्। उनले सरकारको कार्यशैली सामाजिक सञ्जालमा चर्चा बटुल्ने उद्देश्यमा केन्द्रित भएको दाबी गर्दै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा पर्याप्त संवेदनशीलता नदेखिएको बताएका हुन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित सरकारको सय दिनको कार्यसम्पादन तथा सयबुँदे कार्यक्रमबारे पार्टी संयन्त्रको समीक्षात्मक कार्यक्रममा बोल्दै थापाले सरकारले भूमिहीन नागरिकको समस्या समाधान गर्ने नाममा वैकल्पिक व्यवस्थापन नगरी डोजर चलाएको आरोप लगाए।

भूमिहीनको समस्या दीर्घकालीन र संरचनागत प्रकृतिको भएको उल्लेख गर्दै उनले त्यसको समाधान कानुनी प्रक्रिया र उचित व्यवस्थापनमार्फत हुनुपर्नेमा सरकारले नागरिकको उठिबास लगाउने शैली अपनाएको बताए। संविधान निर्माणका क्रममा भूमिहीन दलितका अधिकार सुनिश्चित गर्न विशेष व्यवस्था गरिएको स्मरण गराउँदै उनले त्यसको मर्मअनुसार सरकार अघि बढ्न नसकेको टिप्पणी गरे।

उनले सरकारलाई नागरिकको जीवनभन्दा ‘लाइक’को चिन्ता बढी भएको आरोप लगाउँदै लोकप्रियताका लागि गरिने निर्णयले दीर्घकालीन समस्या समाधान नगर्ने बताए।

यद्यपि, सरकारले दलित समुदायसँग माफी माग्ने विषयलाई उनले सकारात्मक कदमका रूपमा मूल्यांकन गरे। साथै, प्रधानमन्त्रीले सिंहदरबारबाटै शासकीय सुधारका काम अघि बढाउने संकेत दिएको विषयलाई सामान्य भए पनि सकारात्मक सुरुआतका रूपमा लिनुपर्ने उनको भनाइ थियो।

सभापति थापाले सरकारमाथि निजी क्षेत्रप्रति पनि नकारात्मक दृष्टिकोण अपनाएको आरोप लगाए। आर्थिक अपराध नियन्त्रणका लागि कानुनी कारबाही आवश्यक रहेको र त्यस्ता प्रयासमा नेपाली कांग्रेसको पूर्ण समर्थन रहने स्पष्ट पार्दै उनले त्यसको नाममा सम्पूर्ण निजी क्षेत्रलाई अपराधी वा ठगका रूपमा चित्रित गर्नु गलत भएको बताए।

उनका अनुसार सुशासन कायम गर्न दोषीलाई कानुनबमोजिम कारबाही गरिनुपर्छ, तर सरकारको कार्यशैलीका कारण निर्माण व्यवसायी, बैंकर तथा अन्य उद्यमी–व्यवसायी त्रसित बनेका छन्। निजी क्षेत्रप्रति अविश्वासको वातावरण सिर्जना हुँदा लगानी, उद्यमशीलता र आर्थिक गतिविधिमा नकारात्मक असर परेको उनको भनाइ थियो।

थापाले मुलुकमा भयको वातावरण सिर्जना भएकाले नयाँ व्यवसाय सुरु गर्नसमेत मानिसहरू हिच्किचाइरहेको दाबी गरे। सरकार न्यून, मध्यम तथा ठूला पुँजी परिचालन गर्न सक्ने वर्गमा समेत आत्मविश्वास जगाउन असफल भएको उनको टिप्पणी थियो।

सम्बन्धित समाचार

कांग्रेसले १५औं महाधिवेशनलाई डिजिटल र कागजरहित बनाउने
कांग्रेसले १५औं महाधिवेशनलाई डिजिटल र कागजरहित बनाउने
  • २०८३ असार २१, १५: २९

काठमाडौं : नेपाली कांग्रेसले आगामी १५औँ केन्द्रीय महाधिवेशनलाई प्रविधिमैत्री, कागजरहित (पेपरलेस) र पूर्ण रूपमा डिजिटल प्रणालीमा आधारित बनाउने निर्णय गरेको...

सार्वजनिक खरिदमा सुशासन र पारदर्शिता अपरिहार्य : मुख्यमन्त्री बानियाँ
सार्वजनिक खरिदमा सुशासन र पारदर्शिता अपरिहार्य : मुख्यमन्त्री बानियाँ
  • २०८३ असार २१, १५: २९

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले सार्वजनिक खरिद प्रक्रियालाई थप पारदर्शी, जवाफदेही र...

प्रतिपक्षको बहिष्कारपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
प्रतिपक्षको बहिष्कारपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
  • २०८३ असार २१, १५: २९

काठमाडौँ : लुम्बिनी प्रदेश सभाको आजको बैठक प्रमुख प्रतिपक्ष तथा अन्य विपक्षी दलहरूले सामूहिक रूपमा बहिष्कार गरेपछि कार्यवाही रोकिएको छ...