साउनको अन्तिम सोमबार : पानीको प्रवाह बेवास्ता गर्दै शिवालयमा भक्तजनको घुइँचो – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

साउनको अन्तिम सोमबार : पानीको प्रवाह बेवास्ता गर्दै शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं । साउन महिनाको अन्तिम सोमबार आज पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि वर्षा भइरहे पनि भक्तजनहरू छाता ओढेर तथा वर्षामा भिज्दै शिवालय पुगेर पूजा–आराधना गरिरहेका छन्।

साउन महिना र सोमबार भगवान् शिवको प्रिय महिना तथा बार मानिने भएकाले यस अवधिमा देशभरका शिवालयमा भक्तजनको विशेष भीड लाग्ने गर्छ। आज काठमाडौं उपत्यकाका पशुपतिनाथ, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, आशापुरेश्वर र भालेश्वरलगायतका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।

त्यस्तै, काभ्रेपलाञ्चोकका साँगा, धनेश्वर र लड्केश्वर, बाँकेको बागेश्वरी, तनहुँको देवघाट तथा म्याग्दीको गलेश्वरलगायतका प्रमुख शिवालयमा पनि श्रद्धालुको उल्लेख्य उपस्थिति रहेको छ।

साउन महिनाका प्रत्येक सोमबार व्रत बसेर शिवको पूजा–आराधना गर्दै आएका महिलाहरूले आज विधिपूर्वक व्रत समापन गर्ने गर्छन्। अन्य सोमबार व्रत बस्न वा पूजाआजा गर्न नपाएका श्रद्धालुले अन्तिम सोमबार व्रत बसेर शिवको आराधना गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वाससमेत रहँदै आएको छ।

साउनको सोमबार भगवान् शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरूले व्रत, पूजापाठ, दान तथा धार्मिक अनुष्ठान गर्ने परम्परा छ। विशेषगरी महिलाहरूले हरियो वस्त्र, चुरा तथा मेहन्दी लगाएर शिवको पूजा गर्ने चलन छ।

विवाहित महिलाले श्रीमान्को दीर्घायु तथा पारिवारिक सुख–समृद्धिको कामना गर्दै र अविवाहित महिलाले सुयोग्य वर प्राप्तिको कामनासहित साउन महिनामा महादेवको व्रत बस्ने धार्मिक परम्परा रहेको छ।

यसैबीच, पशुपतिनाथ मन्दिरमा बोलबम यात्रीका लागि जल चढाउन उत्तरतर्फको ढोकाबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको छ। भक्तजनले वासुकी हुँदै उत्तर ढोकाबाट जल चढाउन सक्ने व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

भक्तजनलाई सहज रूपमा दर्शन गराउन आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारवटै ढोका खुला गरिएको छ।

धार्मिक मान्यताअनुसार साउन महिनालाई भगवान् शिवको विशेष महिना मानिन्छ। शिवपुराणमा समेत साउन महिनासँग भगवान् शिवको विशेष सम्बन्ध रहेको उल्लेख पाइने भएकाले यस महिनाभर शिवको विशेष पूजा–आराधना गर्ने परम्परा रहँदै आएको छ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता
प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता
  • २०८३ श्रावण २५, १०: ३७

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...

कांग्रेस कमजोर हुँदा अधिनायकवाद र अस्थिरता निम्तिने खतरा, पार्टी एकता जोगाउन ट्रेड युनियनका पूर्व नेतृत्वको ध्यानाकर्षण
कांग्रेस कमजोर हुँदा अधिनायकवाद र अस्थिरता निम्तिने खतरा, पार्टी एकता जोगाउन ट्रेड युनियनका पूर्व नेतृत्वको ध्यानाकर्षण
  • २०८३ श्रावण २५, १०: ३७

काठमाडौं : नेपाली कांग्रेसभित्र चुलिँदै गएको गुटगत तिक्तता र विभाजनको मानसिकताप्रति चिन्ता व्यक्त गर्दै नेपाल ट्रेड युनियन कांग्रेसका पूर्व पदाधिकारी...

विपद्का घटना बढे, एकै दिन ४१ घटना
विपद्का घटना बढे, एकै दिन ४१ घटना
  • २०८३ श्रावण २५, १०: ३७

काठमाडौं : यही साउन २३ गते बिहान १० देखि २४ गते बिहान १० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन्...