
कञ्चनपुर : सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ ।
मुलुक चाडपर्वमय भइरहेका बेला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको भ्रमण गर्नेको सङ्ख्या बढेको निकुञ्जका रेञ्जर विक्रम चौधरीले जानकारी दिए ।
करिब ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज विश्वमै ठूलो बाह्रसिङ्गाको बथान अवलोकन गर्न पाइने निकुञ्जका रूपमा परिचित छ । त्यस्तै, मुलुकभरमै थोरै क्षेत्रफलमा धेरै पाटेबाघ भएको निकुञ्जका रूपमा समेत परिचित छ । यहाँ दुई हजार ३०० भन्दा बढी बाह्रसिङ्गा, ५० वटा पाटेबाघ, २० भन्दा बढी गैँडा र साढे चार सयभन्दा बढी प्रजातिका चराचुरुङ्गी पाइने निकुञ्ज कार्यालयले जनाएको छ ।
गत असोज २८ गतेदेखि कात्तिक ९ गतेसम्म १३ दिनको अवधिमा आन्तरिक र बाह्य गरी ५९० जनाले निकुञ्जको अवलोकन भ्रमण गरेको रेञ्जर चौधरीले बताए । “वर्षात्का बेला निकुञ्ज प्रवेश बन्द थियो । असोजको अन्तिम साता मात्रै खुला गरिएको हो”, उनले भने, “चाडपर्वका बेला घर आएका कञ्चनपुरसहित सुदूरपश्चिमका साथै मुलुकका विभिन्न स्थानबाट यहाँ आउने क्रम बढेको छ ।”
निकुञ्ज खुला भएयता सोमबारसम्म यहाँ ५६० जना आन्तरिक, २३ जना सार्क मुलुकका र सात जना अन्य मुलुकका पर्यटकले अवलोकन भ्रमण गरेको रेञ्जर चौधरीले बताए । आन्तरिक पर्यटकलाई निकुञ्ज प्रवेश शुल्क प्रतिव्यक्ति १०० रुपैयाँ, सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति ७५० रुपैयाँ र सार्क राष्ट्रबाहेकका विदेशी पर्यटकलाई प्रतिव्यक्ति एक हजार ५०० रुपैयाँ शुल्क लिने गरिएको निकुञ्ज कार्यालयले जनाएको छ ।
“काम र अध्ययनलगायतका कारणले जिल्ला बाहिर रहेका कञ्चनपुरका स्थानीय नागरिक पनि बिदाका बेला शुक्लाफाँटा घुम्न आउने गरेका छन्”, चौधरीले भने, “निकुञ्जको प्रचारप्रसार र पर्यटक प्रवर्द्धनका लागि पनि प्रयास भइरहेकै छन् ।”
कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले कञ्चनपुरका पर्यटकीय गन्तव्यमा पछिल्लो समय आन्तरिक पर्यटकको भीडभाड बढेको बताए । “शुक्लाफाँटा, महाकालीस्थित चार लेनको पक्की भाइरल पुल, झोलुङ्गे पुल, बेदकोट ताल र झिलमिला तालमा पर्यटकको आवागमन वृद्धि भएको छ”, उनले भने, “अहिले पश्चिमी नाका गड्डाचौकी भएर भारतको नैनीताल र कैँचीधाम घुम्न जाने नेपालीको सङ्ख्यामा पनि वृद्धि भएको छ ।”
उनले पर्यटकीयस्थलमा आउने पर्यटकको यातायात, आवास र सुरक्षालगायतका विषयमा सरोकारवाला निकायले ध्यान दिनुपर्नेमा जोड दिए ।
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा विराटनगर किंग्सलाई ८ रनले पराजित गर्दै...
काठमाडौं : काठमाडौं उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले नेपाल प्रहरीले सञ्चालन गरेको विशेष ‘स्विप अपरेसन’ मा ७५...
काठमाडौं : साउदी अरबको पूर्वी क्षेत्रमा ड्रोनको भग्नावशेष खस्दा एक नेपाली श्रमिकको मृत्यु भएपछि नेपाली राजदूतावास रियादले साउदी अरबमा कार्यरत...