
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् ।
विराटनगरमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले सुशासनलाई आर्थिक रूपान्तरणको आधार र वैधताको मन्त्रका रूपमा सरकारले लिएको बताए ।
मन्त्री वाग्लेले भ्रष्टाचारका कारण व्यवसायको लागत बढ्ने, पहुँचका आधारमा अवसर बाँडिने र प्रतिस्पर्धात्मक वातावरण कमजोर हुने उल्लेख गरे । सरकारी निकायबाट अनावश्यक आर्थिक माग हुने, बिचौलियाको हस्तक्षेप रहने वा कानुनसम्मत काममा अवरोध सिर्जना गरिने अवस्था आए सरकारलाई जानकारी गराउन उनले निजी क्षेत्रलाई आग्रह गरे ।
यस्ता गतिविधिविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अपनाउँदै कारबाही अघि बढाउने उनको भनाइ थियो । कानुनसम्मत निजी सम्पत्ति, उद्योग, व्यवसाय र लगानीको सुरक्षा गर्नु सरकारको आधारभूत जिम्मेवारी रहेको उल्लेख गर्दै उनले लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिलाउने तथा समान अवसर र निष्पक्ष प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अर्थमन्त्री वाग्लेले आगामी चार महिनालाई सुधारका प्रयासलाई परिणाममा रूपान्तरण गर्ने महत्त्वपूर्ण अवधिका रूपमा लिइएको बताए । सरकारले निजी क्षेत्रसँगको सहकार्यमा सुधारको गति बढाउने र निजी क्षेत्रले पनि नयाँ उद्योग स्थापना, क्षमता विस्तार तथा आधुनिक प्रविधिको प्रयोगमा जोड दिनुपर्ने उनले बताए । विशेषगरी कृषि प्रशोधन, ऊर्जा र पर्यटन क्षेत्रमा लगानीका योजना अघि बढाउन उनले आग्रह गरे ।
उत्पादन लागत घटाउने, रोजगारी सिर्जना गर्ने र राज्य तथा निजी क्षेत्रबीच साझा प्रतिबद्धताका साथ आर्थिक रूपान्तरणलाई तीव्रता दिने सरकारको प्राथमिकता रहेको उनले स्पष्ट पारे । बेरोजगारी र मूल्यवृद्धिलाई गम्भीर चुनौतीका रूपमा उल्लेख गर्दै उनले आर्थिक वृद्धिको प्रतिफल नागरिकको दैनिक जीवनमा अनुभूत हुने गरी विस्तार गर्नुपर्नेमा जोड दिए ।
वर्तमान सरकारले हजारौँ उद्यममार्फत रोजगारी सिर्जना गर्ने वातावरण बनाउने र युवालाई कृषि, उद्योग, पर्यटन, ऊर्जा, सूचना प्रविधि तथा आधुनिक सेवा क्षेत्रमा अवसर उपलब्ध गराउने लक्ष्य राखेको उनले बताए ।
त्यसैगरी, विप्रेषण, उपभोग, आयात र राजस्वमा निर्भर आर्थिक चक्रलाई परिवर्तन गर्दै बचतलाई लगानी, उत्पादन र निर्यातमा रूपान्तरण गर्नुपर्ने उनको भनाइ थियो ।
पूर्वी नेपाल र विराटनगरको औद्योगिक विरासतलाई नयाँ पुस्ताका अवसरसँग जोड्नुपर्नेमा जोड दिँदै अर्थमन्त्री वाग्लेले कृषि प्रशोधन, भण्डारण, गुणस्तर प्रमाणीकरण, निर्यात र जलविद्युत्लाई औद्योगिक प्रतिस्पर्धाको आधार बनाउनुपर्ने बताए ।
सरकारले अनावश्यक प्रशासनिक अवरोध हटाउने, लगानीको सुरक्षा सुनिश्चित गर्ने र सार्वजनिक निकायलाई जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले निजी क्षेत्रलाई पनि नयाँ उद्योग स्थापना, प्रविधिको प्रयोग, उत्पादनको गुणस्तर वृद्धि, निर्यात बजार विस्तार र रोजगारी सिर्जनामा सक्रिय हुन आह्वान गरे ।
राज्यले आफ्नो कार्यशैली र चरित्र बदल्नुपर्ने तथा निजी क्षेत्रले लगानीको गति बढाउनुपर्ने आवश्यकता औँल्याउँदै उनले आर्थिक रूपान्तरणका लागि दुवै पक्षको सक्रिय भूमिका अपरिहार्य रहेको बताए ।
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...