भैरहवा एयर रुटमा भारतको सहमति – Naya Bikalpa
November 23, 2026, Monday      Epaper

भैरहवा एयर रुटमा भारतको सहमति

काठमाडौं : नेपालको लामो समयदेखिको हवाई रुटसम्बन्धी माग सम्बोधन गर्न भारत सहमत भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको दुई दिने भारत भ्रमणका क्रममा भारतले काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउन सहमति जनाएको हो ।

नेपाल र भारतले सोमबार जारी गरेको संयुक्त वक्तव्यको बुँदा नम्बर ८ मा उक्त सहमति उल्लेख गरिएको छ । सहमतिअनुसार हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको ‘बी३४५’ हवाई मार्गलाई दुईतर्फी बनाइनेछ । यससँगै अन्तर्राष्ट्रिय विमानले भैरहवा हुँदै नेपाल प्रवेश गर्न सक्ने बाटो खुल्ने अपेक्षा गरिएको छ ।

संयुक्त वक्तव्यमा भनिएको छ, ‘हाल एकतर्फी रहेको बी३४५ काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउन दुवै पक्ष सहमत भएका छन् । यस सम्बन्धमा आवश्यक कार्यविधिलाई अन्तिम रूप दिन तथा छलफलमा रहेका अन्य नागरिक उड्डयनसम्बन्धी प्रस्तावलाई सम्बोधन गर्न प्राविधिक परामर्श गरिनेछ ।’

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा हवाई रुटको विषय सार्वजनिक गरिएको थिएन । तर, त्यसपछि जारी संयुक्त वक्तव्यमा भैरहवा रुटलाई दुईतर्फी बनाउने सहमति समेटिएको हो ।

नेपाललाई भैरहवा रुट उपलब्ध गराउने विषयमा भारतले पनि बागडोग्रा विमानस्थलका लागि नेपालसँग हवाई मार्गको प्रस्ताव गरेको थियो । यस विषयमा दुवै देशबीच छलफल हुँदै आएको भए पनि पछिल्लो द्विपक्षीय वार्ताबाट भैरहवा रुटलाई दुईतर्फी बनाउने सहमति जुटेको हो ।

नेपालले एक दशकभन्दा लामो समयदेखि भारतसँग थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन माग गर्दै आएको थियो । विशेषगरी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि थप हवाई रुटको आवश्यकता झन् बढेको थियो ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए पनि पर्याप्त हवाई प्रवेशमार्ग नहुँदा यी विमानस्थलले अपेक्षित रूपमा अन्तर्राष्ट्रिय उडान विस्तार गर्न सकेका छैनन् । भारत हुँदै नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय विमानले मुख्यतः सिमरा हवाई मार्ग प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।

यसअघि काठमाडौं विमानस्थलबाट उडेका अन्तर्राष्ट्रिय विमानले भैरहवा हुँदै लखनउतर्फ जान सक्ने भए पनि भारतबाट नेपाल प्रवेश गर्दा यही मार्ग प्रयोग गर्न पाउँदैनथे । नयाँ सहमतिपछि उक्त एकतर्फी व्यवस्था हटेर दुवैतर्फी हवाई आवागमनको सम्भावना खुल्नेछ ।

यसले विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तार गर्न सहज हुने अपेक्षा गरिएको छ । त्यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन र व्यावसायिक सम्भावना बढाउन पनि यसले सहयोग पुर्‍याउन सक्नेछ । थप प्रवेशमार्ग उपलब्ध हुँदा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई नेपालका क्षेत्रीय विमानस्थलसम्म उडान सञ्चालन गर्न सहज हुने र हवाई सेवामा प्रतिस्पर्धात्मक क्षमता बढ्ने अपेक्षा गरिएको छ ।

नेपालका प्रधानमन्त्रीहरूको भारत भ्रमणमा हवाई रुटको विषय पटकपटक उठ्ने गरे पनि यसअघि ठोस सहमति हुन सकेको थिएन । प्राविधिक, हवाई सुरक्षा तथा हवाई क्षेत्र व्यवस्थापनसम्बन्धी विषयमा दुई देशबीच छलफल र मतभिन्नता रहँदै आएको थियो ।

यसपटक प्रधानमन्त्री शाहको भारत भ्रमणमा हवाई रुटको विषयलाई प्राथमिकतामा राखिएको थियो । भ्रमणअघि नै दुवै देशका अधिकारीबीच यसबारे छलफल भइरहेको थियो । त्यसको परिणामस्वरूप भैरहवा रुटलाई दुईतर्फी बनाउने सहमति जुटेको हो ।

यद्यपि, सहमति कार्यान्वयनका लागि आवश्यक प्राविधिक प्रक्रिया र कार्यविधि टुंग्याउन बाँकी छ । संयुक्त वक्तव्यमा पनि यसका लागि दुवै देशबीच थप प्राविधिक परामर्श गर्ने उल्लेख छ ।

सम्बन्धित समाचार

के छ नेपाल–भारत संयुक्त वक्तव्यमा ?
के छ नेपाल–भारत संयुक्त वक्तव्यमा ?
  • २०८३ मंसिर ८, १६: ३६

काठमाडौं : भारतले नेपालको विकास तथा पूर्वाधार निर्माणका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने भएको...

नेपाल–भारत सम्बन्धमा नयाँ आयाम, १० क्षेत्रमा सहकार्य
नेपाल–भारत सम्बन्धमा नयाँ आयाम, १० क्षेत्रमा सहकार्य
  • २०८३ मंसिर ८, १६: ३६

नयाँ दिल्ली : भारतले नेपालको पूर्वाधार विकास, विपद्पछिको पुनर्निर्माण र ऊर्जा क्षेत्रका परियोजनाका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको...

चलचित्र क्षेत्रको बदलिँदो स्वरूप र प्रविधिअनुसार कानुन परिमार्जन गर्नुपर्नेमा सञ्चारमन्त्रीको जोड
चलचित्र क्षेत्रको बदलिँदो स्वरूप र प्रविधिअनुसार कानुन परिमार्जन गर्नुपर्नेमा सञ्चारमन्त्रीको जोड
  • २०८३ मंसिर ८, १६: ३६

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको बदलिँदो स्वरूप, प्रविधिको विकास र उद्योगका रूपमा विस्तार भइरहेको अवस्थालाई...