नेपाल–भारत सम्बन्धमा नयाँ आयाम, १० क्षेत्रमा सहकार्य – Naya Bikalpa
November 23, 2026, Monday      Epaper

नेपाल–भारत सम्बन्धमा नयाँ आयाम, १० क्षेत्रमा सहकार्य

नयाँ दिल्ली : भारतले नेपालको पूर्वाधार विकास, विपद्पछिको पुनर्निर्माण र ऊर्जा क्षेत्रका परियोजनाका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने भएको छ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँदिल्लीमा भएको द्विपक्षीय वार्तापछि जारी संयुक्त दृष्टिकोणपत्रमा यस्तो उल्लेख गरिएको हो।

दुई देशबीचको आर्थिक साझेदारीलाई थप विस्तार गर्ने उद्देश्यसहित भारतले २४ हजार करोड नेपाली रुपैयाँ बराबरको सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। जसअन्तर्गत ५ हजार ६ सय करोड रुपैयाँ अनुदान र १८ हजार ४ सय करोड रुपैयाँ ऊर्जा क्षेत्रका परियोजनाका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराइनेछ।

अनुदान रकम विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार परियोजनामा खर्च गरिनेछ। सहायता रकम र परियोजनाको कार्यान्वयन प्रक्रिया दुवै देशबीचको आपसी परामर्शबाट टुंगो लगाइने जनाइएको छ।

प्रधानमन्त्री शाहले भारतको निमन्त्रणामा नोभेम्बर २२ देखि २३ सम्म भारतको राजकीय भ्रमण गर्नुभएको हो। भ्रमणका क्रममा दुई प्रधानमन्त्रीबीच नेपाल–भारत सम्बन्धका विविध पक्षमा विस्तृत छलफल भएको थियो।

संयुक्त दृष्टिकोणपत्रमा दुई देशबीचको सम्बन्धलाई आधुनिक, परिणाममुखी र पारस्परिक लाभमा आधारित बनाउने लक्ष्यसहित १० वटा प्रमुख क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। आर्थिक तथा विकास साझेदारी, भौतिक तथा डिजिटल कनेक्टिभिटी, ऊर्जा तथा जलस्रोत, सुशासन, प्रविधि, शिक्षा, खेलकुद, संस्कृति तथा पर्यटन, स्वास्थ्य र कृषि त्यसमा समेटिएका छन्।

ऊर्जा क्षेत्रमा नेपालका जलविद्युत् तथा प्रसारण पूर्वाधारमा भारतीय लगानी प्रोत्साहन गर्ने सहमति भएको छ। पञ्चेश्वर, सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको कामलाई तीव्रता दिने तथा दुई देशबीच विद्युत् व्यापार विस्तार गर्ने विषय पनि प्राथमिकतामा राखिएको छ।

त्यस्तै, भारतको सिलिगुडीदेखि नेपालको झापासम्म नयाँ पेट्रोलियम पाइपलाइन निर्माण गर्ने र ग्यास पाइपलाइनको सम्भावनासमेत अध्ययन गर्ने सहमति भएको छ।

पूर्वाधार तथा यातायाततर्फ अयोध्या–जनकपुर प्रत्यक्ष रेल सेवा र महाकाली नदीमा धार्चुला–दार्चुला मोटरेबल पुल सञ्चालनमा आएको विषयलाई दुई देशले स्वागत गरेका छन्। जयनगर–बर्दिबास र जोगबनी–विराटनगर रेलमार्गका बाँकी खण्डको निर्माण शीघ्र सम्पन्न गर्ने तथा रक्सौल–काठमाडौं रेलमार्ग विकासमा सहकार्य गर्ने सहमति पनि भएको छ।

यसैगरी, भारतले नेपालमा स्टार्टअप सेन्टर अफ एक्सिलेन्स स्थापना गर्न सहयोग गर्ने भएको छ। काठमाडौंमा स्टार्टअप सेन्टर र पोखरामा डिजिटल नोम्याड तथा इनोभेसन हब स्थापना गर्ने योजना संयुक्त दृष्टिकोणपत्रमा समेटिएको छ। नेपाली भाषाका लागि कृत्रिम बौद्धिकतामा आधारित ठूलो भाषिक मोडेल विकास गर्नसमेत सहकार्य गरिने उल्लेख छ।

शिक्षा तथा सीप विकासतर्फ भारतका प्रतिष्ठित उच्च शैक्षिक संस्थाका शाखा नेपालमा विस्तार गर्ने सम्भावना खोजिनेछ। त्यसको सुरुवात भारतीय प्रविधि संस्थान (आईआईटी) बाट गर्ने विषय उल्लेख गरिएको छ। नेपाली युवाका लागि कानुन, प्रविधि र कृत्रिम बौद्धिकतासहित नयाँ विधामा छात्रवृत्ति तथा तालिमका अवसर विस्तार गरिनेछ।

खेलकुद क्षेत्रमा नेपालमा राष्ट्रिय क्रिकेट प्रशिक्षण एकेडेमी स्थापना गर्न भारतले सहयोग गर्ने भएको छ। राष्ट्रिय तथा प्रादेशिक तहमा क्रिकेट पूर्वाधार विकास र नेपाली खेलाडीलाई भारतका प्रशिक्षण केन्द्रमा तालिमको अवसर उपलब्ध गराउने सहमति भएको छ।

कृषि क्षेत्रमा चितवनमा भारतको अनुदान सहयोगमा कृषि–औद्योगिक पार्क स्थापना गरिने भएको छ। यसबाट नेपाली कृषि उत्पादनको प्रशोधन, मूल्य अभिवृद्धि र बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पर्यटन प्रवर्द्धनका लागि जनकपुर–अयोध्या, लुम्बिनी–बोधगया–सारनाथ–कुशीनगर तथा काठमाडौंको पशुपतिनाथ–वाराणसीलाई जोडेर रामायण, बौद्ध र शिव–शक्ति धार्मिक पर्यटन सर्किट विकास गर्ने योजना पनि अघि सारिएको छ।

स्वास्थ्य क्षेत्रमा नेपालका स्वास्थ्य चौकी, प्रसूति केन्द्र तथा अस्पताल निर्माणमा सहयोग निरन्तरता दिने, राष्ट्रिय मेडिकल प्रयोगशालाको स्तरोन्नति गर्ने र नेपालमा भारत–नेपाल जनऔषधि केन्द्र स्थापना गर्ने सहमति भएको छ।

दुई देशबीच सन् १९५० को शान्ति तथा मैत्री सन्धिसहित विद्यमान द्विपक्षीय सम्झौता आपसी सहमतिका आधारमा पुनरावलोकन गर्न सकिने विषय पनि संयुक्त दृष्टिकोणपत्रमा समेटिएको छ। जलस्रोत, ऊर्जा, व्यापार तथा सीमा सम्बन्धी बाँकी विषय आपसी छलफल र संवादबाट समाधान गर्ने प्रतिबद्धता दुवै पक्षले जनाएका छन्।

त्यस्तै, भारतले सन् २०२६ को अगस्टमा रसुवा–त्रिशूली जलाधार क्षेत्रमा आएको बाढी तथा गेग्रान बहावपछि गरेको खोज तथा उद्धार र मानवीय सहयोगप्रति नेपालले आभार व्यक्त गरेको छ। नेपालको पुनर्निर्माण प्रयासमा थप सहयोग गर्ने विषयमा पनि दुवै पक्ष निरन्तर संवादमा रहने सहमति भएको छ।

संयुक्त दृष्टिकोणपत्रमा समेटिएका योजना तथा परियोजनाको कार्यान्वयनलाई प्रभावकारी बनाउन नेपालका परराष्ट्र सचिव र नेपालका लागि भारतीय राजदूतको नेतृत्वमा उच्चस्तरीय अनुगमन समूह सक्रिय बनाइनेछ। उक्त समूहले कम्तीमा प्रत्येक ६ महिनामा बैठक गरी परियोजनाको प्रगति समीक्षा गर्नेछ।

अनुगमन समूहले आफ्नो प्रतिवेदन दुवै देशका परराष्ट्रमन्त्रीको सहअध्यक्षतामा रहने नेपाल–भारत संयुक्त आयोगमा पेस गर्नेछ। संयुक्त आयोगको अर्को बैठक सन् २०२७ मा आयोजना गर्ने सहमति भएको छ।

सम्बन्धित समाचार

के छ नेपाल–भारत संयुक्त वक्तव्यमा ?
के छ नेपाल–भारत संयुक्त वक्तव्यमा ?
  • २०८३ मंसिर ८, १७: ०१

काठमाडौं : भारतले नेपालको विकास तथा पूर्वाधार निर्माणका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने भएको...

भैरहवा एयर रुटमा भारतको सहमति
भैरहवा एयर रुटमा भारतको सहमति
  • २०८३ मंसिर ८, १७: ०१

काठमाडौं : नेपालको लामो समयदेखिको हवाई रुटसम्बन्धी माग सम्बोधन गर्न भारत सहमत भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको दुई दिने भारत...

चलचित्र क्षेत्रको बदलिँदो स्वरूप र प्रविधिअनुसार कानुन परिमार्जन गर्नुपर्नेमा सञ्चारमन्त्रीको जोड
चलचित्र क्षेत्रको बदलिँदो स्वरूप र प्रविधिअनुसार कानुन परिमार्जन गर्नुपर्नेमा सञ्चारमन्त्रीको जोड
  • २०८३ मंसिर ८, १७: ०१

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको बदलिँदो स्वरूप, प्रविधिको विकास र उद्योगका रूपमा विस्तार भइरहेको अवस्थालाई...