के छ नेपाल–भारत संयुक्त वक्तव्यमा ? – Naya Bikalpa
November 23, 2026, Monday      Epaper

के छ नेपाल–भारत संयुक्त वक्तव्यमा ?

काठमाडौं : भारतले नेपालको विकास तथा पूर्वाधार निर्माणका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको सहमतिअनुसार भारतले २४ हजार करोड रुपैयाँ बराबरको सहायता उपलब्ध गराउने भएको हो ।

भारतको नयाँदिल्लीमा आइतबार सार्वजनिक नेपाल–भारत संयुक्त प्रेस विज्ञप्तिअनुसार उक्त सहायतामध्ये ५ हजार ६०० करोड रुपैयाँ अनुदान र १८ हजार ४०० करोड रुपैयाँ ऋण रहनेछ ।

अनुदान रकम विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार परियोजनामा खर्च गरिनेछ भने ऋण ऊर्जा क्षेत्रका परियोजनामा परिचालन गरिनेछ । सहायता उपलब्ध गराउने प्रक्रिया र कार्यान्वयन गरिने परियोजनाबारे दुवै देशले आपसी परामर्शबाट टुंगो लगाउने सहमति गरेका छन् ।

प्रधानमन्त्री शाहको भारतको पहिलो राजकीय भ्रमणका क्रममा दुई देशबीच ऊर्जा, पूर्वाधार, यातायात, व्यापार, कृषि, शिक्षा, स्वास्थ्य र प्रविधिसहितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति भएको छ ।

भ्रमणका क्रममा नेपाल र भारतले ‘विकसित भारत र समुन्नत नेपाल’ सम्बन्धी संयुक्त दृष्टिकोणपत्रसमेत सार्वजनिक गरेका छन् । यसले दुई देशबीच आर्थिक तथा विकास साझेदारी, ऊर्जा, जलस्रोत, कनेक्टिभिटी, जलवायु परिवर्तनको असर न्यूनीकरण, विपद् व्यवस्थापन, खेलकुद, स्टार्टअप र डिजिटल सेवामा सहकार्य विस्तार गर्ने मार्गचित्र तय गरेको छ ।

यस्तै, भारतको अयोध्या र नेपालको जनकपुरबीच सरयू–कमला एक्सप्रेस रेल सेवा सञ्चालनको शुभारम्भ गरिएको छ । यसले धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनका साथै रामायण सर्किटसँग जोडिएका क्षेत्रबीचको सम्बन्ध थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको सम्भावित रेखांकन सर्वेक्षण सम्पन्न भएको घोषणा पनि गरिएको छ । साथै, नेपालको पूर्व–पश्चिम रेलमार्ग विकासमा सहकार्य गर्ने सहमति भएको छ ।

हवाई कनेक्टिभिटी विस्तारअन्तर्गत काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भएको छ । यसका लागि आवश्यक प्राविधिक परामर्श गरी कार्यान्वयनको प्रक्रिया टुंग्याइने संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

नेपालको पारवहन व्यापारका लागि भारतले गुजरातस्थित दीनदयाल बन्दरगाह प्रयोग गर्न नयाँ मार्ग उपलब्ध गराउने भएको छ । आवश्यक पूर्वाधार तयार भएपछि ओडिशास्थित पारादीप बन्दरगाहमा समेत पहुँच दिने सहमति भएको छ ।

ऊर्जा क्षेत्रमा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शीघ्र अन्तिम रूप दिएर निर्माण अघि बढाउने तथा सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआर प्रक्रिया तीव्र बनाउने सहमति पनि भएको छ ।

यसैगरी, मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण नेपाललाई समर्पण गरिएको छ । झापामा पेट्रोलियम भण्डारण टर्मिनल निर्माणको शिलान्यास गरिएको छ भने सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण प्रक्रिया छिट्टै अघि बढाउने सहमति भएको छ ।

शिक्षा क्षेत्रमा भारतले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को अफसोर क्याम्पस स्थापना गर्ने भएको छ । यसबाट नेपालको उच्च शिक्षामा प्राविधिक क्षमता अभिवृद्धि र रोजगारी सिर्जनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

भ्रमणका क्रममा नेपाल र भारतबीच प्रहरी अनुसन्धान, सुरक्षा, कर्मचारी प्रशासनको क्षमता विकास, आयुर्वेद तथा परम्परागत चिकित्सा, भूउपग्रह सञ्चार, दिगो सहरी विकास, स्वास्थ्य, पशुपालन तथा मत्स्य विकासलगायत आठवटा समझदारीपत्रमा हस्ताक्षर तथा आदानप्रदान भएको छ ।

प्रधानमन्त्री शाहले रासुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि भारतले उपलब्ध गराएको मानवीय तथा प्राविधिक सहयोगप्रति आभार व्यक्त गरेका छन् । जवाफमा भारतीय प्रधानमन्त्री मोदीले नेपालको विकास यात्रामा भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन् । मोदीले निमन्त्रणा स्वीकार गर्दै कूटनीतिक माध्यमबाट भ्रमणको मिति तय गर्ने बताएका छन् ।

नेपालका प्रधानमन्त्रीका रूपमा पदभार सम्हालेपछि शाहको यो पहिलो भारत भ्रमण हो । नोभेम्बर २२ देखि २३ सम्म भएको राजकीय भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने र विकास साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिएको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार

नेपाल–भारत सम्बन्धमा नयाँ आयाम, १० क्षेत्रमा सहकार्य
नेपाल–भारत सम्बन्धमा नयाँ आयाम, १० क्षेत्रमा सहकार्य
  • २०८३ मंसिर ८, १७: ०२

नयाँ दिल्ली : भारतले नेपालको पूर्वाधार विकास, विपद्पछिको पुनर्निर्माण र ऊर्जा क्षेत्रका परियोजनाका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको...

भैरहवा एयर रुटमा भारतको सहमति
भैरहवा एयर रुटमा भारतको सहमति
  • २०८३ मंसिर ८, १७: ०२

काठमाडौं : नेपालको लामो समयदेखिको हवाई रुटसम्बन्धी माग सम्बोधन गर्न भारत सहमत भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको दुई दिने भारत...

चलचित्र क्षेत्रको बदलिँदो स्वरूप र प्रविधिअनुसार कानुन परिमार्जन गर्नुपर्नेमा सञ्चारमन्त्रीको जोड
चलचित्र क्षेत्रको बदलिँदो स्वरूप र प्रविधिअनुसार कानुन परिमार्जन गर्नुपर्नेमा सञ्चारमन्त्रीको जोड
  • २०८३ मंसिर ८, १७: ०२

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको बदलिँदो स्वरूप, प्रविधिको विकास र उद्योगका रूपमा विस्तार भइरहेको अवस्थालाई...