
नयाँदिल्ली : प्रधानमन्त्री वालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न क्षेत्रमा सहकार्य गर्ने गरी ६ वटा परियोजनाको उद्घाटन तथा शिलान्यास, ५ वटा महत्त्वपूर्ण घोषणा र ८ वटा उच्चस्तरीय समझदारीपत्रमा हस्ताक्षर भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नोभेम्बर २२ र २३ मा भएको प्रधानमन्त्री शाहको भ्रमणका क्रममा पूर्वाधार, ऊर्जा, पारवहन, कृषि, शिक्षा, स्वास्थ्य, सुरक्षा र प्रशासनिक सुधारलगायतका क्षेत्रमा सहकार्य अघि बढाउने सहमति भएको हो ।
भ्रमणका क्रममा भारतको अयोध्या र नेपालको जनकपुरबीच सरयू–कमला एक्सप्रेस रेल सेवा सुरु गरिएको छ । त्यस्तै, भारतको बनबासामा नयाँ एकीकृत जाँच चौकी (आईसीपी) निर्माणको शिलान्यास गरिएको छ । भैरहवा, सुनौली र दोधारा चाँदनीमा निर्माणाधीन एकीकृत जाँच चौकीको प्रगतिलाई पनि महत्त्व दिइएको छ ।
यसैगरी, भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने नयाँ सवारीसाधन सञ्चालनयोग्य सीमापार पुल उद्घाटन गरिएको छ । ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्याससमेत भएको छ ।
ऊर्जा तथा पेट्रोलियम पूर्वाधारतर्फ मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण नेपाललाई समर्पण गरिएको छ । प्रस्तावित सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइनअन्तर्गत झापामा निर्माण हुने पेट्रोलियम टर्मिनलको पनि शिलान्यास गरिएको छ ।
भ्रमणका क्रममा भारतले नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ अर्थात् करिब २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहयोग प्याकेज घोषणा गरेको छ । नेपालको पारवहन सुविधालाई विस्तार गर्दै गुजरातको दीनदयाल बन्दरगाह र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न पाउने व्यवस्था गर्ने घोषणा पनि गरिएको छ ।
त्यसैगरी, चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गर्ने र नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को अफसोर क्याम्पस स्थापना गर्ने घोषणा भएको छ । प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको अन्तिम स्थान सर्वेक्षण सम्पन्न गर्ने विषयलाई पनि उपलब्धिका रूपमा समेटिएको छ ।
नेपाल र भारतबीच भएका आठ समझदारीपत्रले अनुसन्धान, सुरक्षा, प्रशासन, स्वास्थ्य, प्रविधि र कृषि क्षेत्रलाई समेटेका छन् ।
राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय, भारत र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्य गर्ने समझदारी भएको छ । त्यस्तै, भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानबीच पनि सहकार्य गर्ने सहमति भएको छ ।
नेपालका निजामती कर्मचारीको क्षमता विकास तथा तालिम कार्यक्रम सञ्चालन गर्न भारतको सुशासनसम्बन्धी राष्ट्रिय केन्द्र र नेपालको प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच समझदारी भएको छ । आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा प्रणालीमा सहकार्य गर्ने विषयमा पनि दुई देशबीच सहमति जुटेको छ ।
अन्तरिक्ष प्रविधितर्फ दक्षिण एसिया भूउपग्रहको उपयोगका लागि स्याटेलाइट सञ्चार सञ्जाल स्थापना गर्ने विषयमा भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सञ्चार तथा सूचना मन्त्रालयबीच समझदारी भएको छ ।
यसका अतिरिक्त दिगो सहरी विकास, स्वास्थ्य तथा चिकित्सा, पशुधन र मत्स्य विकासका क्षेत्रमा पनि दुई देशले सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका यी सहमति र घोषणाले नेपाल–भारतबीचको आर्थिक, पूर्वाधार तथा प्राविधिक सहकार्यलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ ।
काठमाडौं : भारतको दुई दिने राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन...
काठमाडौं : भारतले नेपालको विकास तथा पूर्वाधार निर्माणका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने भएको...
नयाँ दिल्ली : भारतले नेपालको पूर्वाधार विकास, विपद्पछिको पुनर्निर्माण र ऊर्जा क्षेत्रका परियोजनाका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको...