
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण क्रममा नेपाल र भारतले आगामी दिनमा द्विपक्षीय सहकार्य विस्तार गर्न १० वटा प्रमुख क्षेत्र समेटिएको संयुक्त दृष्टिपत्र (भिजन पेपर) सार्वजनिक गरेका छन्।
सोमबार नयाँदिल्लीमा प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको वार्तापछि ‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्परिकल्पना’ शीर्षकको संयुक्त दृष्टिपत्र सार्वजनिक गरिएको हो।
यसमा आर्थिक तथा विकास साझेदारी, भौतिक र डिजिटल सम्पर्क, ऊर्जा तथा जलस्रोत, सुशासन, प्रविधि, शिक्षा, खेलकुद, संस्कृति तथा पर्यटन, स्वास्थ्य र कृषिलाई सहकार्यका १० प्रमुख क्षेत्रका रूपमा समेटिएको छ।
दुई देशबीच सन् १९५० को शान्ति तथा मैत्री सन्धिसहित विद्यमान सम्झौताहरू आपसी सहमतिमा पुनरवलोकन गर्न सकिने उल्लेख छ। सीमा, जलस्रोत, ऊर्जा र व्यापारसँग सम्बन्धित समाधान हुन बाँकी विषय आपसी संवादबाट टुंग्याउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
दृष्टिपत्रमा व्यापार तथा लगानीसम्बन्धी सम्झौता पुनरवलोकन, नयाँ पारवहन तथा हवाई मार्ग खोल्ने, पूर्व–पश्चिम रेलमार्ग विस्तार गर्ने, नेपाली भाषाका लागि एआई मोडल विकास गर्ने र नेपालमा आइआइटी क्याम्पस स्थापना गर्ने लगायतका योजना छन्।
नेपालमा राष्ट्रिय क्रिकेट प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने, भारतको सहयोगमा चितवनमा कृषि–औद्योगिक पार्क बनाउने र स्वास्थ्य तथा शिक्षा क्षेत्रमा नयाँ संस्था स्थापना गर्ने विषय पनि समेटिएका छन्।
यी योजना कार्यान्वयनको अनुगमन गर्न नेपालका परराष्ट्र सचिव र भारतीय राजदूत नेतृत्वको उच्चस्तरीय अनुगमन समूहलाई सक्रिय बनाइनेछ। उक्त समूहले कम्तिमा प्रत्येक छ महिनामा बैठक बसेर प्रगति समीक्षा गर्नेछ।
संयुक्त दृष्टिपत्र
*विकसित भारत र समुन्नत नेपाल: साझेदारीको पुनर्कल्पना गर्दै*
भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीको निमन्त्रणामा नेपालका प्रधानमन्त्री महामहिम वालेन्द्र शाहले मिति २०८३ मंसिर ६-७ गतेसम्म भारतको राजकीय भ्रमण गर्नुभयो। दुवै प्रधानमन्त्रीहरूले नयाँ दिल्लीमा सौहार्दपूर्ण, अर्थपूर्ण र भविष्यमुखी वार्ता गर्नुभयो र द्विपक्षीय सम्बन्धको बृहत् समीक्षा गर्नुभयो।
२. दुवै प्रधानमन्त्रीहरूले भारत र नेपालबीचको सदियौँ पुरानो सभ्यतागत सम्बन्ध अब एक बहुआयामिक साझेदारीका रूपमा विकसित भएको कुरा स्वीकार गर्नुभयो जुन आपसी सम्मान र लाभका सिद्धान्तहरूका साथै जनता-जनताबीचको गहिरो सम्बन्धबाट अझ सशक्त बनेको छ ।
३. सन् २०२६ को अगस्टमा रसुवा–त्रिशूली जलाधार क्षेत्र तथा अन्य स्थानहरूमा गएको बाढी र पहिरो पछि भारतले तत्काल उपलब्ध गराएको मानवीय तथा खोज तथा उद्धार सहायताप्रति नेपालले आभार प्रकट गर्यो। नेपालको पुनर्निर्माण प्रयासमा उपलब्ध गराइने थप सहयोगका विषयमा निरन्तर सहकार्य गर्न दुवै प्रधानमन्त्रीहरू सहमत हुनुभयो।
४. द्विपक्षीय साझेदारीले समकालीन राजनीतिक, आर्थिक र प्राविधिक यथार्थलाई प्रतिविम्बित गर्नुपर्ने तथा अद्यावधिक र भविष्यमुखी कानुनी ढाँचामा आधारित हुनुपर्नेमा दुवै प्रधानमन्त्रीहरू सहमत हुनुभयो जहाँ सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायत विद्यमान द्विपक्षीय सम्झौताहरूलाई पारस्परिक सहमतिका आधारमा पुनरावलोकन गर्न सकिनेछ। जलस्रोत, ऊर्जा, व्यापार तथा वाणिज्य र सीमासम्बन्धी लगायतका सबै बाँकी विषयहरू पारस्परिक छलफल र संवादमार्फत समाधान गरिनेछन्।
५. भारत-नेपाल सम्बन्धलाई आधुनिक र नतिजामुखी साझेदारीमा रूपान्तरण गर्दै दुवै देशका जनतालाई ठोस लाभ पुर्याउने उद्देश्यले, दुवै नेताहरूले यो ‘संयुक्त दृष्टिपत्र’ अपनाउनुभएको छ। यो दृष्टिपत्र भारत र नेपालका जनता, विशेष गरी युवा पुस्ताका आकांक्षाहरूमा केन्द्रित रहेको छ। यसले निम्नलिखित दशवटा आधारस्तम्भहरूमा केन्द्रित भई द्विपक्षीय साझेदारीको भविष्यको एक मार्गचित्र प्रदान गर्नेछ:
*१. बृहत् आर्थिक तथा विकास साझेदारी*
भारतको ‘विकसित भारत २०४७’ को राष्ट्रिय दृष्टिकोण र नेपालको ‘समुन्नत नेपाल’ को राष्ट्रिय आकाङ्क्षाबीच थुप्रै परिपूरक पक्षहरू छन् जसको उपयोग गरी दुई देशबीचको व्यापक आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउन सकिन्छ। यसमा निम्नलिखित विषयहरू समावेश हुनेछन्:
क) दुई देशबीच अझ व्यापक आर्थिक साझेदारीलाई सहजीकरण गर्न व्यापार र लगानीसम्बन्धी विद्यमान ढाँचाहरू/सम्झौताहरूको पुनरावलोकन गर्ने।
ख) पहुँचमा सुधार ल्याउन र कनेक्टिभिटी सुदृढ बनाउन नयाँ पारवहन कनेक्टिभिटी तथा हवाई मार्गहरू खोल्ने।
ग) उत्पादनमूलक तथा अन्य प्रशोधन उद्योगहरूको आपूर्ति शृङ्खलासँग आबद्धता सिर्जना गर्न भारत–नेपाल सीमा नजिक निर्यातमुखी उत्पादनका लागि अन्तरदेशीय विशेष आर्थिक क्षेत्र/पार्कहरू स्थापना गर्न सहकार्य गर्ने, तथा सूचना प्रविधि पार्कहरूको विकासमा सहकार्य गर्ने।
घ) लगानीकर्ताको विश्वास र व्यवसाय गर्ने सहजता अभिवृद्धि गर्ने व्यवस्थाहरूको निष्कर्ष लगायतका माध्यमबाट नेपालका प्राथमिकताका क्षेत्रहरूमा भारतीय लगानीलाई प्रोत्साहन गरिनेछ।
ङ) भारतले नेपालको विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार परियोजनाहरूका लागि भारु ३,५०० करोड (नेरु ५,६०० करोड) अनुदान सहायता र ऊर्जा क्षेत्रका परियोजनाहरूका लागि भारु ११,५०० करोड (नेरु १८,४०० करोड) को भारतीय रुपैयाँमा आधारित सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) सहित कुल भारु १५,००० करोड (नेरु २४,००० करोड) को विकास सहायता उपलब्ध गराउनेछ। विशिष्ट परियोजनाहरुका साथै विकास सहायता उपलब्ध गराउने मोडालिटीहरु आपसी परामर्शमार्फत टुंगो लगाइनेछन् ।
*२. भौतिक तथा डिजिटल कनेक्टिभिटी*
आर्थिक सहकार्यलाई गहिरो बनाउन र जनता-जनताबीचको सम्बन्धलाई सुदृढ गर्न कनेक्टिभिटी एक प्रमुख आधार हो। यस क्षेत्रमा भएको उल्लेखनीय प्रगतिलाई स्वीकार गर्दै दुवै प्रधानमन्त्रीहरूले अयोध्या (भारत) र जनकपुर (नेपाल) बीच प्रत्यक्ष एक्सप्रेस रेल सेवा तथा धार्चुला (भारत) र दार्चुला (नेपाल) बीच महाकाली नदीमाथिको मोटरेबल पुलको शुभारम्भको स्वागत गर्नुभयो। वहाँहरू थप निम्नलिखित विषयमा सहमत हुनुभयो:
क) भैरहवा (नेपाल) र सुनौली (भारत) मा निर्माणाधीन एकीकृत जाँच चौकीहरू तथा बनबासा (भारत) र दोधारा चाँदनी (नेपाल) मा निर्माण हुने नयाँ एकीकृत जाँच चौकीहरूको निर्माण कार्यलाई तीव्रता दिने।
ख) जयनगर–बर्दिबास र जोगबनी–विराटनगर रेलवे लाइनको अन्तिम खण्डको काम छिटो सम्पन्न गर्ने।
ग) रक्सौल–काठमाडौँ रेल लिङ्कको अन्तिम सर्वेक्षण सम्पन्न भएकोमा स्वागत गर्दै भारत र नेपालबीच अन्तरसञ्चालनयोग्य रेल नेटवर्क निर्माण गर्न बर्दिबास–निजगढ खण्ड र वीरगञ्ज–निजगढ लिङ्कलाई प्राथमिकतामा राखी नेपालको पूर्व–पश्चिम रेलमार्गको विकासमा सहकार्य गर्न सहमति जनाउने।
घ) नयाँ मोटरेबल पुल तथा व्यापारिक नाकाहरूमार्फत भारत र नेपालबीचको सडक सञ्जाललाई थप सुदृढ बनाउने।
ङ) सिलिगुडी (भारत) र झापा (नेपाल) जोड्ने नयाँ पाइपलाइन निर्माण लगायतका माध्यमबाट अन्तरदेशीय पेट्रोलियम आपूर्ति पूर्वाधार विस्तार गर्ने, तथा भारत र नेपालबीच ग्यास पाइपलाइनको सम्भावना खोज्ने।
च) भारतको यूपीआई र नेपालको राष्ट्रिय भुक्तानी प्रणालीबीचको आबद्धतालाई आधार मान्दै अन्तरदेशीय खुद्रा भुक्तानीको कार्यान्वयनलाई तीव्रता दिन दुवै पक्ष सहमत हुनुभयो।
छ) ‘पीएम गति शक्ति’ जस्ता प्लेटफर्महरूमार्फत एकीकृत पूर्वाधार योजना तथा कनेक्टिभिटी सहकार्य गर्ने जसलाई नेपालले आफ्नो भौगोलिक तथा विकास प्राथमिकता अनुरूप अवलम्बन गर्ने विषयमा विचार गर्न सक्नेछ।
ज) भारत र नेपालबीचको अन्तर्राष्ट्रिय सीमालाई खुला, सुरक्षित र सुव्यवस्थित राख्ने तथा अन्तरदेशीय अपराध र गैरकानुनी गतिविधिविरुद्धको सहकार्यलाई सुदृढ बनाउने।
*३. ऊर्जा, जलस्रोत तथा जलवायु उत्थानशीलता*
ऊर्जा, जलस्रोत र जलवायु उत्थानशीलताका क्षेत्रमा सहकार्यलाई गहिरो बनाउने भारत र नेपालको अपार सम्भावनालाई स्वीकार गर्दै दुवै पक्ष संस्थागत सहकार्य सुदृढ गर्न, पारस्परिक लाभकारी साझेदारी प्रवर्द्धन गर्न तथा दिगो, उत्थानशील र समावेशी विकासतर्फ सहकार्यपूर्ण प्रयासहरू अगाडि बढाउन सहमत हुनुभयो। यसका लागि:
क) ऊर्जा क्षेत्र सहकार्यसम्बन्धी भारत–नेपाल संयुक्त दृष्टिपत्र दस्तावेज अनुरूप भारतले नेपालको जलविद्युत् तथा प्रसारण पूर्वाधारमा थप लगानी प्रोत्साहन गर्नेछ भने नेपालले त्यस्तो लगानीका लागि अनुकूल र पारस्परिक लाभकारी ढाँचा लगायत उचित सहकार्य र सहजीकरण उपलब्ध गराउनेछ। भारत र नेपालबीच विद्युत् व्यापार विस्तार गर्ने दृष्टिकोणका साथ पारस्परिक लाभ र बजार मागका आधारमा विद्युत् व्यापारलाई थप अभिवृद्धि गर्ने सम्भावनाबारे सम्बन्धित निकायहरूले अध्ययन गर्नेछन्।
ख) पारस्परिक लाभका लागि जलस्रोतको सदुपयोग गर्न तथा बाढीबाट उत्पन्न हुने प्रतिकूल असरहरू न्यूनीकरण गर्न दुवै पक्षले पञ्चेश्वर तथा सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय परियोजनाहरू लगायत निर्माणाधीन र प्रस्तावित जलविद्युत् तथा बहुउद्देश्यीय परियोजनाहरूको कार्यान्वयनको कामलाई तीव्रता दिइनेछ।
ग) जीवन, जीविकोपार्जन र पूर्वाधारको रक्षा गर्न विपद् जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणाली र विपद्पछिको पुनर्लाभमा सक्रिय साझेदारी गर्न दुवै पक्ष सहमत हुनुभयो।
घ) जल तथा मौसमविज्ञानसम्बन्धी तथ्याङ्क, हिमताल अनुगमन र पूर्वसूचनाको वास्तविक समय (रियल–टाइम) र दोहोरो आदानप्रदानलाई संस्थागत गर्न दुवै पक्ष सहमत हुनुभयो। दुवै देशका सम्बन्धित निकायहरूबीच संयुक्त मानवीय सहायता तथा विपद् प्रतिकार्य अभ्यास, क्षमता अभिवृद्धि, तालिम र मानवीय सहयोगका रूपमा सहकार्य अभिवृद्धि गर्न सहमति भयो।
ङ) अन्तर्राष्ट्रिय सौर्य गठबन्धन, विपद् उत्थानशील पूर्वाधारका लागि गठबन्धन, इसिमोड र इन्टरनेसनल बिग क्याट अलायन्स लगायतका बहुपक्षीय सङ्गठनहरूभित्र सहकार्य अभिवृद्धि गर्न दुवै पक्ष सहमत हुनुभयो।
च) नेपालमा ग्रिन हाइड्रोजन सम्बन्धी पाइलट परियोजना लगायत सौर्य ऊर्जादेखि भू–सतहमुनिका ऊर्जासम्मका अतिरिक्त ऊर्जा स्रोतहरूको विकासमा सहकार्य गर्न दुवै पक्ष सहमत हुनुभयो।
छ) भारतले नीति निर्माण, नियमन, मापदण्ड, वन विज्ञान, जोखिम नक्साङ्कन र जलवायु उत्थानशील कृषि जस्ता वातावरणसम्बन्धी क्षेत्रहरूमा नेपाली युवा पेशाकर्मी, अधिकारी तथा विज्ञहरूको तालिमका लागि सहजीकरण गर्नेछ।
ज) भारतले जलाशयहरूको पुनरुत्थान तथा भूमिगत जल प्रदूषण नियन्त्रण गर्ने विषयमा समेत आफ्नो विशेषज्ञता आदानप्रदान गर्नेछ।
*४. सुशासन*
सुशासनसम्बन्धी नेपालका प्राथमिकताहरू र भारतले अवलम्बन गरेको दृष्टिकोणबीच, विशेषगरी डिजिटल प्रविधिको प्रयोग तथा नागरिक–सरकारबीचको अन्तरक्रियालाई अझ पारदर्शी, सहज र प्रभावकारी बनाउने विषयमा उल्लेख्य समानता रहेको छ। यस उद्देश्यका लागि:
क) डिजिटल सार्वभौमसत्ता र तथ्याङ्क संरक्षणका विश्वव्यापी रूपमा मान्यताप्राप्त सिद्धान्तहरू अनुरूप ‘डिजिटल नेपाल फ्रेमवर्क’ कार्यान्वयन गर्न डिजिटल पहिचान, भुक्तानी र ई–गभर्नेन्सका क्षेत्रमा डिजिटल सार्वजनिक पूर्वाधारसम्बन्धी प्राविधिक विशेषज्ञता तथा असल अभ्यासहरू आदानप्रदान गरिनेछ।
ख) भारतको नेसनल सेन्टर फर गुड गभर्नेन्स मार्फत नेपाली निजामती कर्मचारीहरूलाई भारतमा तालिमको व्यवस्था मिलाइनेछ।
ग) दुवै पक्षले सङ्घीय तथा प्रादेशिक तहका व्यवस्थापिकाहरूबीच अनुभव र असल अभ्यासहरू आदानप्रदान गर्नुहुनेछ।
घ) भारतका सम्बन्धित निकायहरूमा भ्रमण आदानप्रदान तथा तालिम कार्यक्रमहरूमार्फत स्थानीय शासनमा सहकार्य सुदृढ गरिनेछ।
*५. प्रविधि, अन्तरिक्ष तथा नवप्रवर्तन*
प्रविधिको बृहत् प्रयोग र अवलम्बनलाई प्रोत्साहन गर्न, टेक्नोलोजी हब बन्ने नेपालको उद्देश्य अनुरूप तथा यी क्षेत्रहरूमा भारतको सामर्थ्यलाई दृष्टिगत गर्दै भारत–नेपाल साझेदारीले निम्नलिखित पहलहरू कार्यान्वयन गर्ने लक्ष्य राख्नेछ:
क) भारतमा नेपाली स्टार्टअपहरूलाई तालिम तथा मार्गदर्शन प्रदान गर्ने र काठमाडौंमा स्टार्टअप सेन्टर अफ एक्सिलेन्स तथा पोखरामा डिजिटल नोम्याड्स एण्ड इनोभेसन हब स्थापना गर्ने लगायतका माध्यमबाट एन्डिया–नेपाल स्टार्टअप पार्टनरसिप नेटवर्क (IN-SPAN) को विस्तार गर्ने।
ख) निजी लगानीको सहजीकरण लगायतका माध्यमबाट नेपालमा डिजिटल पार्क तथा डेटा सेन्टरहरूको विकास गर्ने।
ग) भाषिणीसँगको सहकार्य लगायतका माध्यमबाट नेपाली भाषाका लागि लार्ज ल्याङ्ग्वेज मोडल विकास गर्ने सहित एआईका क्षेत्रमा द्विपक्षीय सहकार्य अभिवृद्धि गर्ने।
घ) स्याटेलाइट विकास, पृथ्वी अवलोकन, विपद् व्यवस्थापनका लागि रिमोट सेन्सिङ तथा क्षमता अभिवृद्धिका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (NAST) र सम्बन्धित नेपाली निकायहरू तथा इसरो (ISRO) र इन–स्पेस (IN-SPACE) बीचको सहकार्य लगायतका माध्यमबाट अन्तरिक्षको क्षेत्रमा सहकार्य सुदृढ गर्ने।
ङ) 5G/6G तथा अन्य आगामी पुस्ताका सञ्जालहरू जस्ता उदीयमान दूरसञ्चार प्रविधिहरूमा सहकार्य अभिवृद्धि गर्ने।
*६. शिक्षा तथा सीप विकास*
सीप विकास र क्षमता अभिवृद्धिको महत्त्वलाई स्वीकार गर्दै दुवै देशले निम्नलिखित पहलहरू लगायत तालिम, मानव संसाधन विकास र शैक्षिक आदानप्रदानमा अझ बलियो सहकार्य हासिल गर्न काम गर्नेछन्:
क) आईआईटीबाट सुरु गर्दै नेपालमा प्रतिष्ठित भारतीय उच्च शैक्षिक संस्थाहरूका शाखा/क्याम्पसहरू खोल्ने सम्भावनाको खोजी गरिनेछ।
ख) अत्यन्त सफल रूपमा सञ्चालन भइरहेका विद्यमान छात्रवृत्ति योजनाहरूलाई आधार मान्दै नेपाली विद्यार्थीहरूका लागि कानुन, प्रविधि र एआई जस्ता नयाँ विधाहरूमा छात्रवृत्ति तथा तालिमका अवसरहरू थपिनेछन्।
ग) शैक्षिक तथा तालिम संस्थाहरूबीचको बलियो सहकार्यका अतिरिक्त प्राध्यापक तथा विज्ञहरूको आदानप्रदानलाई प्रोत्साहन र संस्थागत गरिनेछ।
घ) उत्पादन, सेवा र उद्यमशीलताका लागि सान्दर्भिक क्षेत्रहरूमा नेपालका युवाहरूलाई सीप तथा तालिम प्रदान गर्न भारतीय सहायतामा एक व्यावसायिक तालिम प्रतिष्ठान स्थापना गरिनेछ।
*७. खेलकुद*
खेलकुदको विकास र सम्बन्धित पूर्वाधार निर्माणमा नेपालले दिएको जोडलाई सुदृढ गर्न भारत र नेपालले निम्नलिखित मुख्य पहलहरूमा सँगै काम गर्नेछन्:
क) राष्ट्रिय तथा प्रादेशिक स्तरमा क्रिकेट पूर्वाधार विकासमा सहयोग गर्नुका अतिरिक्त भारतले नेपालमा राष्ट्रिय क्रिकेट कोचिङ/ प्रशिक्षण एकेडेमी स्थापना गर्न सहयोग गर्नेछ।
ख) नेपालका प्रादेशिक क्रिकेट टोलीका खेलाडीहरूलाई भारतका राष्ट्रिय प्रशिक्षण एकेडेमीहरूमा प्रशिक्षण लिने अवसर प्रदान गरिनेछ।
ग) नेपालमा आधुनिक बहु–खेलकुद केन्द्रहरूको विकास लगायत ब्याडमिन्टन, टेनिस, सुटिङ र एथलेटिक्स जस्ता अन्य खेलहरूमा पनि यस्तै अवसरहरूको खोजी गरिनेछ।
घ) संयुक्त आरोहण अभियान सञ्चालन गर्ने लगायत पर्वतीय खेलकुदमा सहकार्यको सम्भावना खोजिनेछ।
ङ) क्रिकेट, फुटबल लगायतका खेलहरूमा भारत र नेपालका खेलाडीहरूलाई एक–अर्काका खेलकुद लिगहरूमा सहभागी हुने अवसरहरू खोज्न दुवै देशका सम्बन्धित खेलकुद निकाय/पदाधिकारीहरूलाई प्रोत्साहन गरिनेछ।
*८. सँस्कृति तथा पर्यटन*
दुवै देशबीचको साँस्कृतिक आबद्धता द्विपक्षीय सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण स्तम्भमध्ये एक रहँदै आएको छ। यस जीवन्त अन्तरक्रियालाई थप समृद्ध बनाउन:
क) भारत र नेपालले धार्मिक पर्यटन सर्किट र नयाँ गन्तव्यहरू विकास गर्न साझेदारी गर्नेछन्। यसमा जनकपुर–अयोध्या, लुम्बिनी–बोधगया–सारनाथ–कुशीनगर र काठमाडौँ (पशुपतिनाथ)–वाराणसीलाई जोड्दै तथा भगिनी–सहर सम्झौताहरूमार्फत रामायण, बौद्ध र शिव–शक्ति सर्किटहरूको विकास समावेश हुनेछ।
ख) नेपाल र भारतमा पालैपालो वार्षिक युवा साँस्कृतिक महोत्सव आयोजना गर्न तथा चलचित्र निर्माण, रङ्गमञ्च र ललितकलाका कलाकारहरूका लागि तालिम तथा आदानप्रदान विस्तार गर्न दुवै पक्ष सहमत हुनुभयो।
ग) लुम्बिनी बौद्ध विश्वविद्यालयमा नालन्दा केन्द्र स्थापना गरी नालन्दा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयबीचको सहकार्यलाई सुदृढ गरिनेछ।
घ) पर्यटन तथा आतिथ्य क्षेत्रका युवा उद्यमीहरूबीच सहकार्य सहजीकरण गर्न तथा दोहोरो पर्यटन प्रवर्द्धनका लागि सोसल मिडिया इन्फ्लुएन्सर तथा कन्टेन्ट क्रिएटरहरूको परिचयात्मक भ्रमणलाई प्रोत्साहन गर्न दुवै पक्ष सहमत हुनुभयो।
*९. स्वास्थ्य*
देशभर आधारभूत स्वास्थ्य सेवाको एकीकृत ढाँचामा नेपाल सरकारले दिएको जोड र स्वास्थ्यप्रति भारतको दृष्टिकोणबीच उल्लेख्य तालमेल रहेको छ। विद्यमान परिपूरकताहरूलाई दृष्टिगत गर्दै र यस क्षेत्रमा अझ बलियो सहकार्य प्रवर्द्धन गर्न दुवै पक्षद्वारा:
क) नेपाल सरकारको आवश्यकता अनुसार स्वास्थ्य चौकी, बर्थिङ्ग सेन्टर र अस्पतालहरूको निर्माणका लागि उच्च प्रभाव सामुदायिक विकास परियोजना ढाँचाअन्तर्गत परियोजनाहरू सञ्चालन गर्न जारी राख्दै स्वास्थ्य पूर्वाधार सुदृढ गरिनेछ।
ख) नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको स्तरोन्नतिका लागि सहकार्य गरिनेछ।
ग) किफायती र गुणस्तरीय औषधिमा पहुँच सुधार गर्न भारत–नेपाल जनऔषधि केन्द्रहरू स्थापना गरिनेछ।
घ) नेपालका स्वास्थ्य पेशाकर्मीहरूको क्षमता अभिवृद्धिका लागि भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम अन्तर्गत स्वास्थ्यसम्बन्धी क्षेत्रहरूमा विशेष तालिम कार्यक्रमहरू आयोजना गरिनेछ।
ङ) दुवै देशका प्रमुख चिकित्सा संस्थाहरूबीच सम्बन्ध विस्तार गरिनेछ तथा विद्यार्थी र प्राध्यापकहरूको आदानप्रदानलाई प्रोत्साहन गरिनेछ।
च) भारतीय चिकित्सा अनुसन्धान परिषद् र नेपाल स्वास्थ्य अनुसन्धान परिषद् तथा भारतको औषधि नियामक निकाय (CDSCO) र नेपालको औषधि व्यवस्था विभागबीच अनुसन्धान सहकार्य सुदृढ गरिनेछ।
*१०. कृषि*
भारत र नेपालबीच यस क्षेत्रमा अनुभव आदान-प्रदान, तालिम तथा विभिन्न ढाँचागत दस्तावेजहरूमा सहमति गर्ने लगायतका कार्यहरूमा उल्लेखनीय सहकार्य रहँदै आएको छ। यस क्षेत्रमा भविष्यमुखी संलग्नतालाई अझ सुदृढ गर्न दुवै पक्षद्वारा निम्न कार्यहरू गरिनेछ:
क) नेपाली कृषि उत्पादनहरूमा मूल्य अभिवृद्धि (भ्यालु एडिसन) प्रदान गर्न भारतको अनुदान सहायतामा चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गरिनेछ ।
ख) भारतीय कृषि अनुसन्धान परिषद् र नेपाल कृषि अनुसन्धान परिषद् बीच सन् २०२६–२०३० को कार्ययोजनाको कार्यान्वयनलाई तीव्रता दिइनेछ ।
ग) नेपालका अधिकारी, किसान तथा अन्य कृषिसम्बन्धी पेशाकर्मीहरूको क्षमता अभिवृद्धिका लागि कृषि तथा पशुपन्छीसम्बन्धी क्षेत्रहरूमा विशेष तालिम कार्यक्रमहरू आयोजना गरिनेछ ।
घ) नेपालमा आईसीएआर सेन्टर अफ एक्सिलेन्स स्थापना गरिनेछ, प्रमुख कृषि विश्वविद्यालयहरूलाई जोडिनेछ र कृषि तथा पशुपन्छीका क्षेत्रमा नेपाली अधिकारी, किसान र उद्यमीहरूका लागि आवश्यकता अनुसारको विशेष तालिम आयोजना गरिनेछ ।
*कार्यान्वयनका मोडालिटीहरु*
६. दुवै प्रधानमन्त्रीहरूले नेपालका परराष्ट्र सचिव र भारतका राजदूतको नेतृत्वमा रहेको उच्चस्तरीय अनुगमन समूहलाई सक्रिय बनाउने निर्णय गर्नुभयो। यो अनुगमन समूहको बैठक कम्तीमा छ महिनामा एकपटक बस्नेछ र परिकल्पना गरिएका परियोजना, विचार तथा पहलहरूको द्रुत कार्यान्वयन सुनिश्चित गर्नुका साथै सम्बन्धित स्वीकृति/अनुमतिहरूमा सहजीकरण गर्नेछ।
७. उच्चस्तरीय अनुगमन समूहले दुवै देशका परराष्ट्र मन्त्रीहरूको सह–अध्यक्षतामा रहने भारत–नेपाल संयुक्त आयोग समक्ष आफ्नो प्रतिवेदन पेस गर्नेमा दुवै नेताहरू सहमत हुनुभयो। वहाँहरूले भारत–नेपाल संयुक्त आयोगको आगामी बैठक सन् २०२७ मा आयोजना गर्ने निर्णय गर्नुभयो।
८. यस संयुक्त दृष्टिपत्र दस्तावेजले दुई मित्रराष्ट्रबीचको आकाङ्क्षी, आधुनिक र पारस्परिक लाभकारी साझेदारीको खाका प्रदान गरेकोमा प्रधानमन्त्रीहरूले विश्वास व्यक्त गर्नुभयो र यस साझा दृष्टिकोणलाई साकार पार्न दुवै भारत र नेपालका अधिकारीहरूलाई काम गर्न निर्देशन दिनुभयो।
नयाँ दिल्ली
२०८३ मंसिर ७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मंगलबार देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ। महाशाखाका अनुसार...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
नयाँदिल्ली : प्रधानमन्त्री वालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न क्षेत्रमा सहकार्य गर्ने गरी ६ वटा...