पर्वतमा रहेकाे विश्वकै अग्लो बन्जी र स्विङ व्यावसायिक सञ्चालनमा – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

पर्वतमा रहेकाे विश्वकै अग्लो बन्जी र स्विङ व्यावसायिक सञ्चालनमा

नयाँ विकल्प,

कुस्मा-पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने कालीगण्डकीको खोँचमा बनेको आधा किलोमिटर लामो पुलमा सञ्चालित विश्वकै अग्लो बन्जी र स्विङ(पिङ) व्यावसायिक रुपमा सञ्चालनमा आएको छ ।

द क्लिफ प्रालिले निर्माण गरेको बन्जी, स्विङ र नेपालकै एकमात्र स्काई साइक्लिङ तथा गुलेली शैलीको पिङ व्यावसायिक रुपमा सञ्चालन आएका हुन् । झण्डै रु २८ करोडको लगानीमा साहसिक खेलका परियोजना तयार भएका हुन् ।

प्रालिले गत सोमबारदेखि औपचारिक रुपमा सबै साहसिक पर्यटकीय खेलहरु सञ्चालनमा ल्याएपछि दैनिक सयौँ आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको कम्पनीले जनाएको छ । कालीगण्डकीको गहिरो खोँचमा ५२५ मिटर लामो लट्ठामा झुण्डिएको आकर्षक पुल २०७३ सालदेखि निर्माण थालिएको थियो ।

पुल, बन्जी, स्काई साइक्लिङसँगै रिसोर्टको निर्माण कार्य २०७६ अन्तिममा सकिए पनि विश्वव्यापी फैलिएको कोरोना भाइरसको त्रासका कारण गरिएको लकडाउनले गर्दा सञ्चालनमा आउन सकेका थिएनन् । “हामीले नयाँ वर्षमा नै सबै साहसिक पर्यटकीय गन्तव्य पर्यटकका लागि खुल्ला गर्ने सोचमा थियौँ”, कम्पनीका अध्यक्ष राजु कार्कीले भने , “लकडाउनले रोकिए पनि अहिले सबै स्वास्थ्य मापदण्ड पूरा गरेर सेवा शुरु गरेका हौँ ।” प्रालिले कात्तिक १५ गतेदेखि औपचारिक रुपमा सबै साहसिक पर्यटकीय खेलहरु सञ्चालनमा ल्याएपछि दैनिक सयाैं आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।

पाँच सय २५ मिटर लामो झोलुङ्गेपुलको बीचमा कालीगण्डकी नदीको ठीक माथि बन्जी र स्विङका लागि जम्प गर्ने प्लाटफर्मको निर्माण गरिएको छ । खोलादेखि पुलको उचाइ २२८ मिटर अर्थात् ७४८ फिट छ । हाल विश्वकै अग्लो बन्जी मकाउमा ७६४ फिट उचाइ र दोस्रो अग्लो स्विट्जरल्यान्डको भरजस्का बाँधमाथि ७२० फिट उचाइमा छ ।

द क्लिफ प्रालिको यो परियोजनापछि स्विट्जरल्यान्डलाई पछि पार्दै यसले विश्वकै दोस्रो अग्लो र पुलमा बनेको विश्वकै अग्लो बन्जीका रुपमा स्थापित भएको अध्यक्ष कार्कीको दाबी रहेको छ । बन्जी र स्विङ दुवैको मूल्य रु सात हजार तोकिएको छ ।

पोखरादेखि कुश्माको दुईतर्फी गाडीको सुविधासहित बन्जी वा स्विङको रु आठ हजार ४५० रहेको छ । टेन्डम (जोडी) स्विङको रु १२ हजार मूल्य निर्धारण गरिएको अध्यक्ष कार्कीले बताउनुभयो । बन्जीमा नेपालकै एकमात्र गुलेली शैलीको पिङ(स्विङ) पनि निर्माण गरिएको छ । बन्जीका लागि निर्माण भएको पुलको उचाइ २२८ मिटर छ भने सोभन्दा माथि बाइएको पिङको उचाइ नदीबाट २४८ मिटर छ । जमीनबाट १२ मिटर अग्लो बनाइएको पिङ नेपालमा अहिलेसम्म बनाइएका पिङभन्दा फरक छ ।

यो गुलेलीको शैलीमा निर्माण गरिएको छ । सामान्यतया पिङमा अरूले हल्लाई दिनुपर्ने हुन्छ तर यसमा खेल्ने मान्छे पिङमा बसेपछि पछाडिबाट मेसिनले तानेर हुत्त छोडिन्छ अनि पिङ मचिन्छ । पिङ खेल्न प्रतिव्यक्ति रु २५० निर्धारण गरिएको छ । यसैगरी, स्टिल कोर केबल प्रयोग गरी स्काई साइक्लिङ तयार गरिएको हो । विश्वकै सबैभन्दा ऊचाइमा सञ्चालित कालीगण्डकी खोँचको स्काई साइक्लिङ २२८ मिटर अग्लो छ भने लम्बाइ ३०० मिटर छ ।

दुइतर्फी ३०० मिटर लम्बाइ रहेको रुटमा एक पटकमा दुई जनाले साइक्लिङ गर्न मिल्ने अध्यक्ष कार्कीले बताउनुभयो । अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्काई साइक्लिङ तयार गरिएको र सञ्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइने कम्पनीले जनाएको छ । बन्जीका लागि निर्माण भएको पुलको बाग्लुङको बलेवामा २५ रोपनी क्षेत्रफलमा ‘द क्लिफ रिसोर्ट’ बनेको छ । २१ वटा सफारी टेन्ट रहेको रिसोर्टमा ७० जना अट्नेछ्न ।

अध्यक्ष कार्कीसँगै कुश्माबजारका व्यवसायी युवराज जोशी, नेत्रप्रसाद पराजुली, फ्लोरेन्स कार्की, राजन जोशी र नवराज शर्मा लगायतको लगानी रहेको परियोजनामा प्रभु बैंकको समेत ऋण सहयोग रहेको छ । बन्जी र स्विङका लागि बनाइएको पुलको मात्र लगानी रु आठ करोडभन्दा बढी रहेको बताइएको छ । रु १२० तिरेर उक्त पुल वारपार गर्न सकिने सञ्चालकले बताएका छन् ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ कार्तिक १८, १६: ३८

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ कार्तिक १८, १६: ३८

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ कार्तिक १८, १६: ३८

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...