बाइडेनका प्रमुख प्रबन्धकमा रोन क्लाइन मनोनित – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

बाइडेनका प्रमुख प्रबन्धकमा रोन क्लाइन मनोनित

वासिङटन–संयुक्तराज्य अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडेनले आफ्नो प्रमुख प्रबन्धक (चिफ अफ स्टाफ) का रुपमा रोन क्लाइनलाई मनोनयन गरेका छन् ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको दैनिक कार्यसूची व्यवस्थित गर्ने महत्वपूर्ण जिम्मेवारीमा बाइडेनले लामो समयदेखि सल्लाहकारका रुपमा कार्यरत रोन क्लाइनलाई छनौट गरे । रोन क्लाइनलाई ह्वाइट हाउसको कार्यव्यवस्था बारे निकै लामो अनुभव छ ।

क्लाइनले सन् २०१४ मा इबोला सम्बोधन सम्बन्धी ह्वाइट हाउसमा संयोजकको भूमिका पनि निर्वाह गरे । तर यसपटक कोरोनाभाइरसको महामारी विश्वव्यापी रुपमा फैलिएको र यसबाट अमेरिका सर्वाधिक प्रभावित रहेको अवस्थामा क्लाइनले ह्वाइट हाउसमा महत्वपूर्ण जिम्मेवारी पाएका छन् ।

विभक्त अमेरिकी राजनीति र सिनेटमा डेमोक्रेट अल्पमतमा परेको अवस्थामा सबै पक्षबीच सन्तुलन कायम गरी जल्दाबल्दा समस्या सुल्झाउनु पर्ने चुनौती छ ।

बाइडेनले अहिले अमेरिकी समाजमा उत्पन्न संकटको घडीमा क्लाइन जस्ता अनुभवी र क्षमतावान व्यक्तिले सबै पक्षबीच सन्तुलन कायम गरी कार्य गर्न सफलता प्राप्त गर्ने विश्वास गरे ।

तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको पहिलो कार्यकालको समयमा क्लाइनले बाइडेनको प्रमुख प्रबन्धक (चिफ अफ स्टाफ) का रुपमा सेवा गरे ।

सन् १९९० को मध्यतिर तत्कालीन उपराष्ट्रपति अल गोरको पनि उनी प्रमुख प्रबन्धक थिए । पछिल्लो समय बाइडेनको चुनावी अभियानका उनी प्रमुख सल्लाहकारमध्ये एक हुन् ।

सन् १९८७ को डेमोक्रेट पार्टीका तर्फबाट राष्ट्रपतीय अभियानको समयदेखि नै बाइडेनसँग निकट रहेर क्लाइनले काम गरे ।

क्लाइनको नियुक्तिले बाइडेन प्रशासनले काम थाले लगत्तै कोरोनाभाइरस संक्रमण रोक्नेतर्फ प्रमुख रुपमा ध्यान केन्द्रित गर्ने सम्भावना देखाएको छ । क्लाइनलाई जनस्वास्थ्यका साथै ह्वाइट हाउसका लागि इबोला नियन्त्रण टोलीको संयोजक भएर काम गरेको अनुभव छ ।

उनले सन् २००९ मा ओबामा प्रशासनको आर्थिक पुनरुत्थान योजना निर्माण र कार्यान्वयनमा पनि केन्द्रीय भूमिका निर्वाह गरे ।
आफ्नो नियुक्तीको समाचार सार्वजनिक भएलगत्तै क्लाइनले ट्वीट गर्दै राष्ट्रपति–निर्वाचित बाइडेनले आफूमाथि देखाएको भरोसाका लागि कृतज्ञता व्यक्त गरे । उक्त पदका लागि स्टिभ रिचेट्टी वा ब्रुस रीडको नाम पनि चर्चामा थियो । (रासस–एपी)

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७७ कार्तिक २७, १४: १७

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०७७ कार्तिक २७, १४: १७

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७७ कार्तिक २७, १४: १७

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...