जिरी गाई फार्म आनुवंशिक स्रोत केन्द्र बन्दै – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

जिरी गाई फार्म आनुवंशिक स्रोत केन्द्र बन्दै

भीमेश्वर–दोलखा जिल्लामा रहेको जिरी गाई फार्म गत वर्षका तुलनामा यस वर्ष २८ प्रतिशतभन्दा बढी आम्दानी गर्न सफल भएको छ । गाई फार्मले बढी दूध दिने जातका गाईका बाच्छी उत्पादन गरी स्थानीय कृषकलाई बिक्रीवितरण गर्दै आएको छ ।

आहार तथा व्यवस्थापनमा राम्रो हेरचाह गरेसँगै दूध उत्पादनमा वृद्धि भएकाले आम्दानी बढेको फार्मका पशु विकास अधिकृत श्यामसुन्दर यादवले बताए ।

हाल जमरा घाँसको उत्पादनमा वृद्धि भएसँगै दूधको उत्पादनमा समेत वृद्धि भएको छ । सुख्खा समयमा पनि हरियो हुने घाँस तथा समूहगत आहारमा ध्यान दिइएकाले गर्दा गाईको दूध उत्पादनमा वृद्धि भएको जनाइएको छ ।

अघिल्लो आर्थिक वर्षमा रु ६० लाख १४ हजार आम्दानी भएकामा गत आवमा रु ७७ लाख २९ हजार आम्दानी भएको बताइएको छ । प्रतिलिटर दूध रु ४५ र १५ पैसाको दरले स्थानीय बजार तथा डिडिसी दोलखामा बिक्रीवितरण हुँदै आएको छ ।

दूध उत्पादनभन्दा पनि बाच्छाबाच्छी उत्पादन गरी स्थानीय कृषकको आयआर्जनमा वृद्धि गर्ने लक्ष्यका साथ फार्म सञ्चालन गरिएको हो । एक सय जनासम्मको समूहमा आबद्ध किसानलाई गौपालनसम्बन्धी तालीम तथा उन्नत जातको घाँस वितरण गरिँदै आएको छ ।

फार्ममा हाल ६८ मध्ये ३४ लैनु गाई छन् । साँढे, बहर र बाच्छीसमेत गरी हाल फार्ममा ११० गाई रहेको बताइएको छ । फार्ममा २०२ बङ्गुरका पाठापाठी पनि छन् ।

सशस्त्र द्वन्द्वका समयमा खिम्ती पशुफार्ममा रहेका सम्पूर्ण गाईलाई फुकाएर बाँडचुँड गरिएको थियो । त्यसपछि फार्म खाली भएकाले स्थानीयवासीले जग्गा मिच्ने काम गर्दै आएकाले जोगाउन निकै गाह्रो भएको यादवले बताए ।

उनका अनुसार एक सय २४ रोपनी क्षेत्रफल रहेको उक्त फार्मको जग्गा जोगाउनका लागि आगामी दिनमा घाँसखेती गर्ने, गाईगोठ सुधार गर्ने, बाच्छाबाच्छी व्यवस्थापन तथा विभिन्न संरचना निर्माणका काममा ध्यान दिने योजना छ ।

स्थानीयवासी पदमकुमारी जिरेलले स्थानीयवासीलाई गाईपालनसम्बन्धी तालीमबाट दूध उत्पादन बढेको र बजारमा बिक्रीवितरण गर्दा आम्दानीको स्रोत बन्दै आएको बताए ।

गाई फार्म स्वीस सरकारले खोले तापनि नेपाल सरकारले यसलाई प्राथमिकतामा राखी बृहत् बनाउँदै लैजाने हो भने गाई फार्मको केन्द्रका रुपमा दोलखाको जिरीलाई लिन सकिने बताए ।

सो फार्म २०१४ सालमा स्वीस विकास सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना भएकोे थियो, जसको तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेका थिए ।

सो फार्म वि.सं २०७५ देखि गाई आनुवंशिक स्रोत केन्द्रका रुपमा सञ्चालन गरिँदै आएको छ । विज्ञका अनुसार गाईको दूधमा मान्छेको दूधमा जत्तिकै प्रोटिन पाइन्छ ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७७ कार्तिक २८, १३: ०३

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०७७ कार्तिक २८, १३: ०३

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७७ कार्तिक २८, १३: ०३

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...