सरकारकाे लोकप्रियता देखेर साथीहरू अत्तालिए : प्रधानमन्त्री ओली – Naya Bikalpa
June 25, 2026, Thursday      Epaper

सरकारकाे लोकप्रियता देखेर साथीहरू अत्तालिए : प्रधानमन्त्री ओली


नयाँ विकल्प
काठमाडाैं-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरूद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन्।

वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्नेजस्ता नकारात्मक सन्देश फैलाएको जनाउँदै उनले यस प्रकारका हल्लाको पछि नलाग्न आग्रह गरे।

फक्ताङलुङ गाउँपालिका- ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको आज उद्घाटन गर्दै उनले सरकार मुलुकको समृद्धिका लागि चौतर्फी रूपमा लागिपरेको जनाउँदै देशको समृद्धि नचाहने मान्छे विभिन्न तत्व सरकारविरुद्ध लागेको बताए।

‘हामी समृद्धिका लागि अघि बढिरहेका छौं तर केही पक्ष लोकतान्त्रिक प्रणालीविरूद्ध भ्रम फैलाइरहेका छन्, यो कार्य त्रुटीपूर्ण हो,’ प्रधानमन्त्री ओलीले भने। अर्को प्रसङ्गमा उनले छिमेकी मुलुकसँगको सम्बन्धलाई सुदृढ गर्ने नीति सरकारले लिएको बताए।

छिमेकी भारतद्वारा मिचिएको भूमि फिर्ता लिन गरेको प्रयास, भारत र चीन दुबैसँगको सम्बन्धलाई अझ सुधार, बन्द नाका खोल्नेजस्ता कार्यले वर्तमान सरकार सफल हुँदै गएको उनको भनाइ थियो। उनले घुन्सा जस्तो दुर्गम गाउँ आगामी तीन वर्षमा नै सुगममा परिणत हुने बताउँदै यस क्षेत्रको विकासका लागि यातायातलगायत पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

हालसम्म कञ्चनजङ्घामा आउने पर्यटकका लागि लिनुपर्ने विशेष अनुमति प्रावधान खारेज गरिने र पर्यटकका लागि सो क्षेत्र खुला गरिने उनले बताए। घुन्सावासीले राखेका विभिन्न मागलाई सरकारले ध्यान दिनेसमेत उनको भनाइ थियो।

प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले घुन्सा आधारभूत विद्यालयका १० विद्यार्थीलाई पाँच लाख रुपैयाँको छात्रवृत्ति दिएकी छन्। उनले ज्येष्ठ नागरिक तथा वृद्धवृद्धालाई न्यानो कपडासमेत वितरण गरिन्।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेकपा संसदीय दलका नेता सुभाष चन्द्र नेम्वाङलगायतको सहभागिता थियो।

घुन्सावासीमा उत्साह

कञ्चनजङ्घा हिमालको प्रवेशद्वार मानिने हिमाली गाउँमा प्रधानमन्त्रीसहितका उच्चपदस्थ व्यक्तित्वको उपस्थितिले घुन्सावासी उत्साहित देखिएका छन्। जिल्लाको दुर्गम घुन्साको विकासमा सरकारको ध्यानाकर्षण हुने जनाउँदै स्थानीयवासी हर्षित बनेका हुन्।

कञ्चनजङ्घाको काखमा रहेको घुन्सा पर्यटकीय क्षेत्र हो। पर्याप्त विद्युत् र इन्टरनेटको सेवासुविधा नहुँदा सास्ती खेप्दै आएका घुन्सावासीले अब सो समस्या हट्ने आशा गरेका छन्। यस्तै घुन्सा नमूना गाउँ बन्नेमा समेत उनीहरू विश्वस्त देखिएका छन्।

‘हाम्रो यस्तो दुर्गम गाउँमा प्रधानमन्त्रीलगायतको उपस्थितिले हामी धेरै आशावादी बनेका छौं, हामीले झेल्दै आएको स्वास्थ्य उपचार, विद्युत्, टेलिफोनसहित इन्टरनेटको समस्या समाधान हुन्छ होला,’ स्थानीयवासी हिमाली चुङ्दाकले भने।

विगतमा स्वास्थ्योपचार नपाएर धेरैले सुत्केरी अवस्थामा ज्यान गुमाउनुपरेको, स्वास्थ्यमा जटिल समस्या आउँदा बिरामीलाई बोकेर तीन दिनपछि मात्र अस्पताल पुर्‍याउनु परेको, देशविदेशबाट आउने पर्यटकलाई समेत स्वास्थ्यमा समस्या आउँदा टुलुटुलु हेर्नुपरेको जस्ता पीडा स्मरण गर्दै चुङ्दाकले घुन्सावासी अब त्यस्ता समस्याबाट मुक्त हुनेमा ढुक्क रहेको बताए।

प्रधानमन्त्रीसमक्ष घुन्सावासीका माग

घुन्सालाई नमूना गाउँका रूपमा विकास गर्न यहाँका बासिन्दाले माग गरेका छन्। स्थानीयवासीले प्रधानमन्त्रीसमक्ष मागपत्र पेश गर्दै पर्यटन प्रवद्र्धनका लागि विशेष अनुमति खारेज गर्नुपर्ने, कञ्चनजङ्घा पदमार्गको स्तरोन्नति गर्नुपर्ने, घुन्सा लघु जलविद्युतको क्षमता वृद्धि गरी खम्बाचेन, ग्याब्ला र अम्चि सालगायत गाउँमा विद्युतीकरण विस्तार गर्नुपर्ने जस्ता आग्रह गरेका हुन्।

यस क्षेत्रको पहिलो बस्ती खम्बाचेतको नापी छुट भएका जग्गाको पुरानो प्रमाणपत्रका आधारमा नापी गरी लालपुर्जा उपलब्ध गराउन र यहाँका स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मी उपलब्ध गराइदिनसमेत स्थानीयवासीले अनुरोध गरेका छन्।

घुन्सामा २०७१ सालमा नै सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको थियो। आफ्नै भवन नहुँदा समस्यामा परेको स्वास्थ्य एकाइले दुई वर्षअघि मात्र भवन पायो। घुन्सा फाउण्डेशनको पहलमा भवन स्थापना भएको हो। पर्याप्त स्वास्थ्यकर्मी नहुँदा जटिल समस्याका बिरामी अन्यत्रै जानुपर्ने बाध्यता छ।

सदरमुकाम फुङ्लिङबाट सवारी साधन र पैदल गरी दुई दिनमा मात्र पुगिने घुन्सामा पर्याप्त स्वास्थ्यकर्मी भए स्थानीयवासीलाई मात्रै नभई देशविदेशबाट आउने पर्यटकलाई समेत फाइदा पुग्ने स्थानीयवासीको भनाइ छ।

पर्यटन प्रवर्दन निमित्त आवश्यक पूर्वाधारलगायतको विकासमा ध्यान दिनसके पर्यटकको आगमनमा वृद्धि हुँदै जाने र त्यसले समग्र घुन्सावासीलाई मात्रै नभई मुलुकलाई नै फाइदा पुग्ने स्थानीयवासीको विश्वास छ। (राससबाट)

सम्बन्धित समाचार

क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
  • २०७७ मंसिर ८, १४: ५१

धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
  • २०७७ मंसिर ८, १४: ५१

काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...

रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
  • २०७७ मंसिर ८, १४: ५१

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...