नेपालसँगकाे सम्बन्ध सुधारउन्मुख : भारतीय विदेश मन्त्री – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

नेपालसँगकाे सम्बन्ध सुधारउन्मुख : भारतीय विदेश मन्त्री


नयाँ विकल्प

काठमाडाैं-भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपाल र भारतले आपसी समस्याहरूलाई सुल्झाएर अघि बढ्ने निर्णय गरिसकेको बताएका छन्।

भारतीय समाचार पत्र द हिन्दुलाई दिएको अन्तर्वार्तामा विदेशमन्त्री जयशंकरले संसारमा समस्यारहित कुनै छिमेकी नभएको उल्लेख गर्दै त्यसलाई कसरी हल गरेर अघि बढ्ने भन्ने कुरा महत्वपूर्ण भएको बताए।

द हिन्दुकी पत्रकार सुहासिनी हैदरले जयशंकरलाई नेपालको संविधान जारी भएपछिको नेपाल-भारत सम्बन्धबारे प्रश्न राखेकी थिइन्।

भारतको विरोधका वाबजुद् नेपालले संविधान घोषणा गरेको र गत वर्ष लिपुलेक, लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेको प्रसंग उल्लेख गर्दै उनले नेपाल आफ्नो अडानबाट पछि नहटे पनि पछिल्लो समय भारतीय अधिकारीहरूले लगातार काठमाडौं भ्रमण गरेको कुरालाई कसरी हेर्ने भनेर सोधेकी थिइन्।

जवाफमा विदेशमन्त्री जयशंकरले कुनै एउटा घटनालाई मूल्यांकनको आधार बनाउनु नहुने बताए। ‘समस्या अझै पनि हुन सक्छन्, मतलब संसारमा समस्या नभएका कुनै दुई छिमेकी मुलुक छैनन्,’ उनले भने,‘अहिले धेरैजसो हाम्रा छिमेकी लोकतान्त्रिक प्रणाली भएका छन्। मुख्य कुरा के हो भने उनीहरूको आफ्नो राजनीति छ, हाम्रो आफ्नो राजनीति छ त्यही भएर मुद्दाहरू हुन्छन्। प्रश्न तपाईं ती मुद्दाहरूलाई कसरी सुल्झाउनु हुन्छ, साझा विन्दु पत्ता लगाएर सम्बन्धको दरारलाई कसरी कम गर्नुहुन्छ भन्ने हो।’

उनले नेपालसँग केही मुद्दाहरू भए पनि अहिले दुबै देशले साझा हितका लागि तिनलाई सुल्झाएर अघि जाने निर्णय गरिसकेको बताए। ‘जहाँसम्म नेपालको प्रश्न छ, तपाईंले भनेजस्तै हामीबीच समस्या भएको समय पनि थियो,’ जयशंकरले भने, ‘केही सातायता हामीले प्रष्ट रूपमा देखेका छौं कि नेपाल र भारतले अब अघि बढ्ने निर्णय गरेका छन् र जुन दुबैको हितमा छ।’

गत वर्ष जम्मु कस्मिरको नयाँ नक्सा सार्वजनिक गर्दा लिपुलेक, कालापानी क्षेत्रलाई भारतले आफ्नो नक्सामा देखाएपछि नेपालले आपत्ती जनाएको थियो। नेपालले वार्ताका माध्यमबाट समस्या हल गर्न प्रस्ताव गरे पनि भारतले चासो नदेखाएपछि गत जेठमा नेपालले संविधान नै संशोधन गरी कालापानी, लिम्पियाधुरासहितको आफ्नो नक्सा जारी गरेको थियो।

त्यसपछि काठमाडौं- नयाँदिल्ली सम्बन्ध झनै चिसिएको थियो। झन्डै एक वर्षसम्म कूटनीतिक र राजनीतिक रूपमा नेपाल-भारतबीचको संवादहीनता अघिल्लो महिनादेखि तोडिएको छ। सुरूमा भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल नेपाल आएका थिए।

उनी ‘सुटुक्क’ नेपाल आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर फर्किएका थिए। उनीपछि भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवणे काठमाडौं ओर्लिए। नेपाली सेनाको मानार्थ महारथीको दर्जा लिन आएका उनले पनि महत्वपूर्ण राजनीतिक भेटघाट गरेका थिए।

मंसिर ११ गते भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला नेपाल आए। उनले परराष्ट्र सचिव भरतराज पौडेलसँग दुई पक्षीय औपचारिक वार्ता गरेका थिए भने परराष्ट्र मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिसँग शिष्टाचार भेट गरेका थिए। पछिल्लो समय नयाँदिल्लीमा दुई देशका परराष्ट्र मन्त्रीस्तरीय वार्ताको कुरा चलिरहेको छ तर मिति भने टुंगिसकेको छैन।

सम्बन्धित समाचार

त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
  • २०७७ मंसिर १८, १२: १४

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...

अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
  • २०७७ मंसिर १८, १२: १४

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...

विश्व बजारमा कच्चा तेलको मूल्य उच्चविन्दुमा
विश्व बजारमा कच्चा तेलको मूल्य उच्चविन्दुमा
  • २०७७ मंसिर १८, १२: १४

काठमाडौँ। मध्यपूर्वमा बढ्दो तनावका बीच कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्दै प्रति ब्यारेल १२६ डलर नाघेको छ, जुन पछिल्ला चार...