
तपाईं नगरप्रमुखमा निर्वाचित भएपछि नगरको विकास र नागरिकको सेवामा के चुनौति छन् ? समाधानका लागि के–के गर्दै हुनुहुन्छ ?
म आउँदा खेरी त यो नगरपालिकाको स्थिति लथालिङ्ग थियो । यो अवस्थालाई म वडादेखि नै निर्वाचित भएर आएको अनुभव भएको व्यक्ति भएकाले त्यसैको आधारमा अघि बढेको छु । अहिले आएर पूर्ण व्यवस्थित गरेर नगरपालिकालाई लान सकिएको छ ।
यसमा म बढो सन्तुष्टिपूर्ण तरिकाले बसेको छु। जहाँसम्म चुनौतिको कुरा गर्नु हुन्छ भने यहाँ जताततै चुनौति पनि छन् । एउटा बाटो खोल्न लाग्दा, रुख काट्न लाग्दा, ढल हाल्न लाग्दा र सडक विस्तार गर्न लाग्दा यहाँ गुनासो लिएर कति आउनु हुन्छ भन्ने कुरा देखिहाल्नु भयो ।
ठेकेदारको, प्रोजेक्टकोे, इञ्जिनियरको गुनासो अर्को तिर हुन्छ । यो सबैलाई समाधान गर्दै आउँदा अहिले हाम्रो ७ वटा शाखाहरु व्यस्थित ढंगले खडा गर्न सकियो । विशाल डिजिटल डाटा सर्भे गरेर पुरै नगरपालिकाको नक्सासहितको डाटा तयार गर्न सकियो ।
६–७ करोड राजश्व उठ्ने नगरपालिकालाई ५४ करोड राजश्व उठ्ने बनाउन सकियो । ९ वटामा सबै वडा कार्यालय बनाउन सकियो । नगरपालिकाको कार्यालय बन्नको लागि पनि टेण्डर भइसकेको अवस्था छ । जनताको आवश्यकतालाई पुरा गर्दै अघि बढेको अवस्था छ ।
यो धार्मिक र सांस्कृतिक नगरलाई पर्यटकिय दृष्टिले आकर्षक बनाउने तर्फ के योजना बनाउनु भएको छ ?
पर्यटकिय क्षेत्र बन्ने भयंकर सम्भावना रहेको नगर हो यो । मैले गतवर्ष नै धार्मिक पर्यटकिय क्षेत्र भनेर घोषणा गरें । धार्मिक पर्यटकिय क्षेत्र किन भनेको हो भने –हाम्रो उत्तरतर्फको सीमामा गुजेश्वरी एकातिर र बौद्धनाथ अर्कोतिर रहेको छ ।
उत्तरगया धाम–गोकर्णेश्वर, उत्तरवाहिनी, सुन्दरीजल, सुन्दरीमाईदेखि लिएर बाग्द्वार र समग्रह बाग्मती सभ्यता नै यो नगरपालिकाभित्र पर्ने भएकाले त्यसलाई साक्षी राखेर गुजेश्वरीदेखि बाग्द्वारसम्मको क्षेत्रलाई बिकास हुनुपर्छ र पर्यटकलाई व्यापक रुपमा भित्र्याउनु पर्छ भन्ने हाम्रो योजना छ ।
चार लाख भारतीय पर्यटक मात्रै प्रत्येक वर्ष पशुपति क्षेत्र आएको रेकर्ड छ । पशुपति आएका ४ लाख पर्यटक किन गोकर्णेश्वर र बौद्धनाथ आउँदैनन ? किनकी मुलुकले त्यो कहिल्यै कोसिस नै गरेन । पशुपति आएको पर्यटकलाई त्यहाँसम्म ल्याउनुपर्छ भनेर कुनै योजना नै बनाईएन ।
तर, नगरपालिकाले अहिले डिजिटल बोर्ड राखेको छ ।
एयरपोर्टबाट पशुपति छिर्ने बाटो तिलगंगा एउटा ठूलो डिजिटल बोर्ड राखेका छौं । त्यसमा गोकर्णेश्वर नगरपालिका भित्रको डिटेल विवरण राखिएको छ । धार्मिक पर्यटकहरु उत्तरगया नटेकीकन यहाँको धार्मिक यात्रा पुरा नहुने कुरा त्यहाँ जनाइएको छ ।
पशुपतिमा आएका पर्यटकहरुले सुन्दरी जलको जल स्नान नगरी पूर्ण हुँदैन भनेर हामीले प्रयास गरेका छौं । नेपाली, हिन्दी र अंग्रेजी भाषामा त्यो डिजिटल बोर्डमा दृश्यसहित २४ सै घण्टा देख्न सकिन्छ । त्यो बोर्ड उत्तरगया धाम गोकर्णमा र जोरपार्टीमा राख्ने योजना छ ।
यो नगरपालिकाले मुलुकमै नौलो योजना बमोजिम ११ जनाको धार्मिक संरक्षण समिति बनाएको छ । एकदम बिद्वानहरुले ल्याउनु हुन्छ । अस्ति भर्खरै मात्र यहाँ एउटा पुस्तक निस्कियो । जसमा यहाँ भित्रका सम्पूर्ण स्थानको विवरण उतारिएको छ । स्थानीय पाठ्यपुस्तक पहिलो पटक पनि यहीँ नगरपालिकाले पहिलो पटक लागू गरेको छ ।
एक महिनाको समय दिएर एकदम व्यवस्थित लामो हाइकिङ रुट सुन्दरीजलबाट चिसापानी, सुन्दरीजलबाट शिवपुरी, सुन्दरीजलबाट बागद्वार र सुन्दरीजलबाट बुढानिलकण्ठसम्म ओर्लन मिल्ने गरी म्यापमा उतार्नको लागि सम्झौता गरी बिज्ञ टोलीलाई जिम्मा दिएका छौं ।
बिज्ञ टोलीले एक महिनाभित्र सबै विवरण तयार गरी हाइकिङ् र साइक्लिङ् पर्यटकिय साथिहरुलाई यात्राको लागि व्यवस्थित गर्न लागिएका छ । यो रुटमा अन्यतिर बनाए जस्तो होइन । अहिलेको हाइकिङ रुटमा सुन्दरी जलबाट चढ्दै जाँदा एउटा परिवार दुई घण्टा हिँड्दै थाक्नुभयो भने त्यहाँ सबै खानाको व्यवस्था गर्ने फोन नम्वरसहितको व्यवस्था गरिने छ ।
यदी होइन, म चिसापानी नै पुग्छु भन्ने योजना छ भने त्यो रुटमा कहाँ बस्न र खान पाइन्छ भनेर विवरण र सूचना तयार गर्दैछौं । इमर्जेन्सी पर्यो भने त्यहाँबाट सम्पर्क गर्न मोबाइल नम्वरहरु दिएको हुन्छ । त्यस्तो बेला तत्काल रेस्क्यू हुन्छ । यसरी व्यवस्थित ढंगले अघि बढेका छौं ।
यो नगरपालिका मेलम्चि खानेपानी आयोजना वितरणको शुरुआत बिन्दु हो । यो आयोजना निर्माणपछि यो नगरपालिकाका जनताले कस्तो सुविधा पाउँछन ?
मेलम्ची खानेपानी आयोजनाको वितरण शुरु हुने क्षेत्र नै हाम्रो नगरपालिकाको १ नम्वर वडामा पर्ने सुन्दरीजल हो । यो आयोजनाको सम्पूर्ण क्रियाकलाप ठूला ठूला पोखरी यही नगरपालिकाबाट, विसाल सात फिटे पानीको पाईप यही नगरमा महाङ्कालसम्म पर्छ ।
समस्या भनेको पानी आउने हो कि नआउने हो ठेगान छैन । ‘पहिलो चरणमा आएको पानी चाहीँ रिङरोडभित्र मात्रै वितरण गर्ने’ भनेर केन्द्र सरकारले भनेपछि हामीले ‘यो आयोजनाको लागि हाम्रा सारा घर भत्काउने, बाटो भत्काउने ? दुई सय रोपनीभन्दा बढी जग्गा जाने हाम्रो, अनि पानी चाहीँ पिउने बेलामा हामीले नपाउने ? यो केन्द्र सरकारको कस्तो सूचना ?’ भनी विरोध ग¥यौं ।
‘त्यसोभए मेलम्चीको पानी आउन दिँदैनौं’ भनेपछि उहाँहरुले दिनेसम्म भन्नु भएको छ । अहिले आएर २ अर्ब १७ करोडको प्रोजेक्ट मेलम्चीले छुट्याएको छ । ट्वाङ्की निर्माण भइरहेको छ । पानी आउने आशा छ तर ग्यारेन्टी चाहीँ छैन् ।
यो नगरपालिकाले फोहोर व्यवस्थापन गर्न र वातावरण स्वच्छ बनाउन केही समस्या बेहोर्नु परेको छ कि छैन ?
यो नगरपालिकाभित्र पर्ने सबै वडाका बाटा घाटा सबै ब्लक छाप्ने, ढलान गर्ने वा पिच गर्ने गरेका छौं । हिजोको जस्तो हिलो धुलो आउने समस्या सबै हटीसक्यो ।
एउटै बाटो जोरपाटीदेखि सुन्दरीजल जोड्ने सकडको स्तरोन्नतीको काम व्यापक रुपमा भइरहेको छ । यो सडकको दायाँ वायाँ पर्ने घरहरु भत्काउँदै छौं । दुई महिनाभित्र यो सडक पिच भइसकेपछि यो नगरपालिकामा बाटो बनाउने काम बाँकी छैन ।
चुच्चेपाटीदेखि साँखु जोड्ने सडक थियो । त्यसको बौद्ध, जोरपाटी क्षेत्रमा हिलो, धुलोले धेरै टेन्सन दियो । धेरै खप्की खाइयो । त्यो अब समस्या समाधान भइसकेको छ ।
यो नगरपालिका क्षेत्रमा कहीँ पनि फोहोर मैला देख्न सक्नु हुन्न । नगरपालिकाभित्र कहीँ पनि फोहोर मैला थुपारेको देख्न सक्नुहुन्न । त्यसकारणले यो समस्या समाधान भएको छ । यो जोरपाटीदेखि सुन्दरीजलसम्मको सडक बनेपछि हामीसँग हिलो धुलो हुने सडक छैन् ।
एउटा राजनीतिक दलको जिम्मेवारीमा बसेर काम गरिरहेको व्यक्तिलाई स्थानीय तहमा जनता र मतदाता केन्द्रीत भएर फिल्डमा खटिँदा कति समस्या छ ?
स्थानीय तहमा रहेर काम गर्न मलाई समस्या छैन । त्यो मैले महसुस गरेको पनि छैन । किन भने सबै वडामा सबै साथिहरुले सहयोग गरिरहनु भएको छ । वडाध्यक्ष र वडा सदस्यहरु सबै तगडा–तगडा पाएको छु । प्रशासनमा बस्ने साथिहरु पनि राम्रै पाएको छु ।
यही त हो नि इञ्जिनियरिङ, प्रशासन र वडा वडाको काम गर्दा साथ पाएको बहुमतको स्थानीय सरकार पाएको हुनाले त्यस्तो कुनै समस्या महसुस भएको छैन ।
म अलिक पुरानो मान्छे परें । शुरुदेखि नै नेतृत्व लिने मान्छे भएकोले मलाई अप्ठ्यारोमा पार्ने मान्छे पनि खासै छैनन् ।
तपाईं संलग्न राजनीतिक दल नेपाली कांग्रेस केन्द्रीय संसदमा प्रमुख प्रतिपक्षमा छ । तपाईं स्थानीय तहको सरकार प्रमुखको हैसियतमा हुनुहुुन्छ । काम गर्न कत्तिको समस्या हुन्छ ?
अहिले यहाँ पक्ष र प्रतिपक्ष भन्ने महसुस नै भएको छैन् । प्रतिपक्षले पूर्णरुपमा सहयोग गरेको अवस्था छ । कुनै पनि कुरामा कुनै पनि हामीले लिएको पोलिसीमा कुनै बाधा अड्चन दिनु भएको छैन । आज चौथो वर्षमा प्रवेश गर्दा समेत कुनै समस्या छैन ।
अन्य स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि फरक फरक दलबाट आएको हुनाले, नगर प्रमुख र उपप्रमुख, नगरप्रमुख र वडाध्यक्षबीच बिवाद हुने, नगरपालिका केन्द्र र नाम राख्ने विषयमा बिवाद हुन्छ । यहाँ त्यस्तो केही छ ?
धेरै ठाउँको मैले हेरेको छु । कयौं ठाउँमा मेयर र उपमेयरबीचको झगडा हुने गरेको छ । परिषद् पास हुन नसक्ने, ताल्चा लगाउने घटना पनि देखेको छु । तर, मकहाँ होला काम गर्ने शैलीकै कारण शुरुदेखि हालसम्म पक्ष र प्रतिपक्ष सबै मिलेर गरेका छौं । कुनै काममा बाधा अड्चन छैन । फ्रन्टलाईनमा त्यो बिवाद छैन ।
राजनीतिभन्दा पर तपाईं साहित्यतर्फ पनि लाग्नुभयो । तपाईंले रचना गर्नु भएका गीत रेडियो नेपालमा पनि प्रशारण भइरहन्छ । राजनीति र साहित्य क्षेत्रलाई सँगसँगै कसरी लान सक्नु हुन्छ ?
यो धेरै अगाडिको कुरा हो । त्यो उमेरमा गितार बजाएर लेख्ने र गाउने पनि गर्दथें । दुइ, तीन जनाको टोली थियो । कोही हारमोनियम, कोही तवला बजाउँथे । म गितार बजाउँथें । क्लव क्लवको प्रतिष्पर्धा हुन्थ्यो । लोकगीत र आधुनिक गीत प्रतिष्पर्धा हुन्थ्यो । त्यस्तो प्रतिष्पर्धामा म पहिलो, दोश्रो भइरहन्थें ।
मैले गीत लेखेर दिए पनि रेडियो नेपालमा ६–७ वटा गीत रेकर्ड पनि भयो । खुसी पनि थिएँ । नारायण गोपाललाई गाउन भनेर एउटा गीत मैले लेखेको थिएँ । नारायण गोपालको कस्तो चलन भने –उहाँलाई कसैले भनेर गीत लेख्ने होइन ।
मैले गीत लेखेर दिए पनि हेर्ने हो, मन लागेमा मलाई नै बोलाएर धन्यवाद है, म गाउने हो यो गीत भन्ने हो । इच्छा लागेन भने त्यहीँ च्यातेर फ्याकी हाल्ने हो । मलाई मन परेन, यस्तै हो है बाबु … भन्ने हो ।
मैले एउटा गीत लेखेर दिएको थिएँ । उहाँको अवस्था निकै जटिल थियो । त्यो बेला उहाँ निकै ठूलो महान कलाकार भइसक्नु भएको थियो । देशमा मात्र नभएर विश्वमै नाम कहलिने भइसक्नु भएको थियो । तर, उहाँलाई भनिन्थ्यो चाहीँ के भने ‘जाँड खान्छ । गीत गाउने बेलामा पनि खान्छ । भनेर मान्यता चाहीँ गलत थियो । अँ अँ त्यो नारायण गोपाल भट्टीतिर बस्छ, जाँड खान्छ भन्ने गरिन्थ्यो ।
मैले नारायण गोपाललाई लेखेर दिएको गीत यस्तो थियो ‘कहाँ सुत्छु, कहाँ म सुत्छु कहिले उठ्छु, कुन भावनामा बहन्छु म, जहिले पनि रित्तिइसकेको बोतलहरुमा रमाउँछु म ।’ मेरो कस्तो बेहाल भयो भने मैले यो गीत लेखेर उहाँलाई दिएँ । दिएपछि उहाँले म गाउँछु भन्दै असाध्यै खुसी हुनुभयो । गीत लिएर जानु भयो । त्यसपछि बिरामी हुनुभयो । बिरामी भएपछि बित्नुभयो । त्यो ब्याड लक भयो । मेरो एउटा ठूलो इच्छा थियो –‘नारायण गोपालले मेरो एउटा गीत गाइ दिएको भए ?’ मैले त्यसपछि त्यो क्षेत्र नै ठ्याक्कै स्टप गरें ।
त्यसपछि मलाई वडाध्यक्षमा उठ्नुपर्यो भनेर हाम्रो ११ जनाको टोली बन्यो । यहाँ १७ वर्षदेखि एउटै व्यक्ति चाहीँ निर्वाचित हुनुहुन्थ्यो । उहाँकै बिरुद्ध हाम्रो टोली बन्यो । त्यसमा मलाई पनि एउटा वडाध्यक्ष बन्न प्रस्ताव आयो ।
मैले त अहँ … मेरो त यो लाईनै होइन । मलाई इच्छा छैन । ‘म सांगीतिक क्षेत्रतिरै छु’ भनेँ तर मान्नु भएन । मान्दै नमानेपछि मैले वडाध्यक्षमा नाम लेखाएर अघि बढें । हारेको भए साह्रै राम्रो हुन्थ्यो । त्यसो भएको भए राजनीति छुट्थ्यो र आफ्नै लाईन हुन्थ्यो । जितेपछि राजनीतितर्फ लागियो । बिहानदेखि बेलुकीसम्म यतातिर धाउन थाल्यो । मान्छेको कामको लागि दौड्न थालियो ।
२०३९ सालमा २१ वर्षको उमेरमा वडाध्यक्ष भएँ । पञ्चायत कालमा अहिलेको सरकारभन्दा पनि ठूलो वडाध्यक्ष । सरकारको केही कुरा होस, अञ्चालाधिस भन्ने थियो, त्यो बेला । त्यो सिडिओ वा अञ्चलाधिस भन्दा पनि वडाध्यक्ष चाहिने । कसैले भनेको पनि नसुन्ने । त्यति धेरै पावर थियो । वडाध्यक्ष भएपछि धेरै मान्छेहरुसँग सम्पर्कमा आइयो ।
त्यसपछि १५–१७ वर्ष ग्याप भयो । त्यसपछि कांग्रेस सरकार बन्यो । त्यसपछि राजनीतिमा पुरै लाग्यो ।
नेपाली कांग्रेसको क्षेत्रिय सभापति पनि हुनुहुन्छ । यो क्षेत्रमा कांग्रेसको १४औं महाधिवेशनको लागि क्रियाशिल सदस्यता वितरण र नविकरणका विषयमा के समस्या छ ?
यो क्षेत्रमा कांग्रेसको क्रियाशिल सदस्यता नविकरण गर्ने काम सकिएको छ । नयाँ सदस्यता वितरणको काम भइरहेको छ । आगामी २४ गतेसम्म हामीले जिल्लामा बुझाई सक्नुपर्ने छ । यो क्षेत्रका सबै वडाले बुझाइ सक्नु भएको छ ।
कांग्रेसमा कस्तो नेतृत्व आउनुपर्छ जस्तो लाग्छ ?
कांग्रेस नेतृत्वमा यस्तो टिम आउनुपर्छ कि जसले यो मुलुकको विकास गरोस, नेपाली जनतालाई जान्ने बुझ्ने र यो गर्दा राम्रो हुन्छ भन्ने थाहा भएको नेतृत्वको टिम आउनुपर्छ । यहाँ एक जना सभापति वा महामन्त्रीले मात्र पार्टी बलियो हुने होइन ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...