रौजामजार सौन्दर्य अभिवृद्धि योजनाले इस्लाम धर्मावलम्बी खुशी – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

रौजामजार सौन्दर्य अभिवृद्धि योजनाले इस्लाम धर्मावलम्बी खुशी

नयाँ विकल्प

काठमाडाैं- महोत्तरीमा अतिप्रसिद्ध रौजामजारमा सौन्दर्य अभिवृद्धिको काम थालिएको छ । जिल्लाको बलवा नगरपालिका–११ रौजाबजारस्थित तीन इस्लाम धर्म परम्पराका सुफी सन्तहरुको मजार (चिहान, समाधीस्थल)मा प्रदेश नं २ सरकारले थालेको सौन्दर्य अभिवृद्धि योजनाले यस भेगमा इस्लाम धर्मावलम्बी खुशी र उत्साहित देखिएका छन् ।

प्रदेश नं २ सरकारले मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत यो धार्मिकस्थलमा सौन्दर्य अभिवृद्धि योजनाको काम थालेको हो । “अब रौजामजार पर्यटन प्रवद्र्धनका दृष्टिले पनि जिल्लाकै नमूना ठाउँ बन्ने आश जाग्यो”, बलवा–११ का इस्लाम धर्मावलम्बी युवा जाकिर अहमद भन्छन् , “यद्यपि काम भने गुणस्तरयुक्त र गतिमा बढ्ने हो कि होइन ?

यो सन्देह मेटिने गरी हुनुपर्छ ।” प्रदेश नं २ सरकारले रौजामजार सौन्दर्य अभिवृद्धिको काम रु ११ करोड ९० लाखको लागतमा थालेको हो । गत बुधबार (१७ मङ्सिर) जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य उपेन्द्र यादव, यसै दलका वरिष्ठ नेता तथा मजारअवस्थित महोत्तरी–२ बाट प्रतिनिधिसभा सदस्य शरदसिंह भण्डारी र प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले संयुक्तरूपमा यो योजनाको शिलान्यास गरेका हुन् ।

“आफ्नो धर्म, संस्कृति, मान्यता र परम्पराले महत्व पाउँदा खुशी लाग्दोरहेछ, अहिले हामी अल्पसङ्ख्यक इस्लाम धर्मावलम्बीमा यही खुशी छाएको छ”, रौजासँगै जोडिएको भङ्गाहा नगरपालिका–१ कविलाशाका अमिरुल अन्सारीले भने , “मुलुककै वरिष्ठ नेताहरुले संयुक्तरूपमा शिलान्यास गरेका हुन्।,

यो गुलजार (हराभरा, सुन्दर) भएको हेर्न पाइयोस् ।” इस्लाम धर्म परम्पराका मोल्वी (पुरोहित, धर्म परम्पराका ज्ञाता) समेत रहेका अन्सारीले राज्यको वास्ताले अल्पसङ्ख्यकलाई पनि राज्यले हेर्दैछ भन्ने आश जगाएको बताए । काम शुरु भएर त्यत्तिकै अल्झेर रहेका थुप्रै योजना देखेका यस भेगका बासिन्दा मजारको सौन्दर्य अभिवृद्धिको काममा व्यवधान नआओस् भन्ने कामना गर्दैछन् ।

“थालिएका काम समयमा नसक्ने हाम्रो रोग छ”, रौजा बस्तीका मन्सुर आलमले भने , “मुलुकका सम्मानित नेताहरुले शिलान्यास गरेका छन् , यहाँ त्यस्तो नहोस् ।” रौजामजार प्रदेश नं २ सरकारको महत्वको योजना रहेको र समयमै पूरा हुने प्रदेश सरकारका प्रमुख सचिव अर्जुनप्रसाद पोखरेल बताउँछन् ।

रौजामजारको कामले धार्मिक सद्भाव, धार्मिक पर्यटन प्रवद्र्धन र स्थानीय (रौजा र आसपासका ठाउँ) को विकासमा महत्वपूर्ण योगदान दिने प्रमुख सचिव पोखरेलको भनाइ छ । इस्लाम धर्मावलम्बी सुफी सन्त गदाली बाबा, रहमतअली बाबा र बहारअली बाबाको रौजास्थित मजारमा नेपाल र भारतका लाखौँ हिन्दू र इस्लाम धर्मावलम्बी भक्तजन आफ्नो मन्नत (इच्छित चाहना) को पुकार गर्न र मन्नत पूरा भएपछि भाकलअनुसार पूजा दिन रौजा पुग्ने गर्छन् ।

मजारमा आफ्ना व्यथा र पीडाको वर्णन गर्दै यसबाट छुटकारा पाउन पुकारा गर्नेको जमातमा हिन्दू र इस्लाम धर्मावलम्बी सराबरी देखिन्छन् । “बाबा (सुफी सन्तलाई गरिने आम सम्बोधन जसको भाव हजुरबा भन्ने हुन्छ)को दरबार (मजार) मा दुःख पुकारा गर्दा सुनवाइ हुन्छ”, पछिल्ला २० दिनदेखि मजारमै आफ्ना दुःख रुँदै फलाक्दै आएकी सर्लाहीको सलेमपुरकी रधियादेवी यादव भन्छिन, “यहाँको बसाइ र बाबासँगको दुःख पुकाराले मन हलुको हुँदैछ ।”

मजारमा सन्तान माग्न, पारिवारिक बेमेल हुनेले सुलह माग्न र शारीरिक पीडाबाट छुटकारा पाउन पुकारा गर्ने गरेका देखिन्छ । रातु नदी तटअवस्थित यो मजार हिन्दू र इस्लाम धर्मावलम्बीको साझा आस्था र विश्वासको थलो बनेको छ । यस ठाउँको सौन्दर्य अभिवृद्धि योजनाको काम थालिएसँगै रातु नदीमा मजार पटिबाट पक्की तटबन्ध निर्माणको काम सँगसँगै थालिनुपर्ने रौजावासी बताउँछन् ।

नेपालको अजमेर शरीफ (भारतको अजमेर शरीफको प्रसिद्धीसँग दाँजेर) भनेर चिनिने अतिप्राचीन इतिहास बोकेको रौजा मजारको विकास, संरक्षण र सौन्दर्य अभिवृद्धिको कामले जिल्लामा एक प्रमुख धार्मिक पर्यटकीय गन्तव्यको ठाउँ बन्ने बलवा नगरपालिकाका प्रमुख विनोद यादव बताउँछन् । प्रदेश सरकारले थालेको यो योजनामा सङ्घीय सरकारको चासो बढे काम अझ प्रभावकारी हुने नगरप्रमुख यादवको भनाइ छ । रासस

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७७ मंसिर २४, १२: ०४

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७७ मंसिर २४, १२: ०४

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०७७ मंसिर २४, १२: ०४

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...