दुर्गा भण्डारी
२०५८ सालमा पोखरामा पहिलोपटक निजी क्षेत्रका रेडियोहरु स्थापना हुँदा एफ.एम मा काम गर्ने महिलाहरुको संख्या उल्लेख्य थियो । शुरुमा आर्कषण बढे पनि स्थापनाकालदेखि काम गर्ने महिलाहरुको संख्या घट्दै गयो । स्वयंसेवकको रुपमा सँधै काम गर्नुपर्ने र समयमा पारिश्रमिक नपाउनु, पारिश्रमिक नै पाए पनि न्यून हुनु मात्रै यसको कारण भने होइन, विवाह गर्नुपर्ने, बालबच्चा जन्माउनुपर्ने र हुर्काउनुपर्ने लगायतका कारणले गर्दा रेडियोमा काम गर्ने महिलाको स्थायित्वमा चुनौति देखा परेको हो ।
पोखरा बगाले टोलकी सुनिता लिगल राम्रो सम्भावना भएकी रेडियोकर्मी हुन् । उनले रिर्पोटिङ, एडिटिङ र रिडिङ मात्र होइन रेडियोमा टेक्निसियनको काम समेत गर्थिन् । माछापुच्छ्र्र्रे एफ.एमलाई स्थायित्व दिनुमा उनको ठूलै योगदान रहेको छ । यस्तै ७ वर्ष जति एफ.एम. मा काम गरिसकेपछि उनको विवाह चितवन नारायणगढकै व्यापारिक घरानाका युवकसँग भयो । अहिले गृहिणीको हैसियतमा छिन् । बिभा गुरुङले पनि केही समय रेडियो अन्नपूर्णमा टेक्निसियन भएर काम गरिन् । अहिले अन्यत्रै पेशा अंगालेर बसेकी छन् । पोखराकै रीता गुरुङ बाराहीमा प्रस्तोता र रेडियो सुनौलोमा स्टेशन म्यानेजर थिइन् ।
अहिले बैदेशिक रोजगारीका लागि जापान गएकी छिन् । यस्ता धेरै महिला छन् जो रेडियोमा जम्न सकेनन् । रेडियोमा महिलाहरुको आउने–जाने क्रम निरन्तर छ । झट्ट हेर्दा संख्यामा कहिले पनि कमि देखिदैन तर महिलाहरुको अवस्था भने जहिले पनि सिकारुको सिकारु नै । रेडियो मात्र होइन छापा माध्यममा पनि अवस्था उस्तै छ । संसारभरिकै पत्रकारहरुको अनुभवले के देखाएको छ भने पत्रकारिता पेशा सुरक्षा, आर्थिक, राजनैतिक, शैक्षिक र स्थायित्वलगायतका दृष्टिकोणबाट जोखिमपूर्ण बन्दै गएको छ । विकसित र विकासोन्मूख राष्ट्रका पत्रकारबीच कुनै तुलना हुन सक्दैन । पश्चिमा देशहरुमा पत्रकारिताको अभ्यास ३ सय वर्षअघि भएको पाइन्छ । हाम्रो देशमा भरखरै एकसय वर्ष पार गरेको छ । पत्रकारिता पेशालाई प्रजातन्त्रको अभिन्न अंग मान्ने गरिन्छ ।
यो पेशालाई प्रजातन्त्रको प्राण वायुभन्दा पनि फरक पर्दैन । पत्रकारिता पेशा सवल हुनुको मापदण्ड के हो भने यो मुलुकको राजनैतिक अवस्था, प्रजातन्त्रको सुदृढीकरण, भौतिक विकासको अवस्था आदि कुरामा भर पर्दछ । नेपालमा पत्रकारिताको इतिहास धेरै लामो छैन । गोरखापत्रको प्रकाशनबाट शुरु भएकोआधुनिक पत्रकारिताको इतिहासले करिब एकसय वर्ष पार गरेको छ ।
स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न भए पनि हाम्रो मुलुकमा लामो समयसम्म पनि विकासका गतिविधि भएको पाइदैन । दशकैपिच्छे व्यवस्था परिवर्तनको खेल भइरहेको र राजनैतिक स्थिरता नभएकोले विकासका गतिविधिलाई यसले प्रत्यक्ष रुपमा असर पारेको देखिन्छ । हरेक पेशा र व्यवसायलाई मुलुकको राजनैतिक अवस्थाले नियन्त्रण गर्ने हुँदा पार्टी र नेताहरुमा संस्कारको विकास हुन जरुरी देखिन्छ । राजनैतिक पार्टी, सरकार, आम नागरिकमा सुशासन, पारदर्शीता, भ्रष्ट्राचारविरोधी भावना जागृत हुनु जरुरी छ । नेपालको राजनीतिलाई स्वच्छ र मर्यादित बनाए मात्रै हरेक क्षेत्रको विकास सम्भव हुने देखिन्छ । पत्रकारिता पेशामा पनि राजनैतिक अवस्थाको झझल्को आउने हुनाले राजनीति र पत्रकारिताको अन्तरसम्बन्ध रहेको छ । नेपालका रेडियोमा कार्यरत पत्रकारको अवस्थाबारे चर्चा गर्नुभन्दा अगाढी पत्रकारितामा महिलाको प्रवेश कसरी भयो भन्ने जान्न जरुरी हुन्छ ।
पत्रकारितामा महिलाको प्रवेश
वि.सं २००८ सालमा साधना प्रधान र कामाक्षा देवीको सम्पादकत्वमा ‘महिला’ (नेपाली भाषाको मासिक पत्रिका) प्रकाशित भएपछि नै यस क्षेत्रमा महिला संलग्नताको इतिहास शुरु भएको मानिछ । कतिपयले वि.सं १९८० देखि नै नेपाली महिलाहरु पत्रकारितामा संलग्न हुन थालेका हुन् भन्ने गरेता पनि २००८ साल जेठमा नेपाल महिला संघले प्रकाशित गरेको ‘महिला’ मासिकलेनै पहिलोपल्ट नेपालभित्र पत्रकारिता क्षेत्रमा महिला आगमनको उद्घोष गरेको हो । ‘नेपाली माटोमा महिलाहरुद्वारा सम्पादन भई प्रकाशित पत्रकिाको जेठो विरुवा यही हो ।’ उत्तः पत्रिकाम शलबन्ती, मधुकरी, प्रमिला सह–सम्पादक रहेका थिए भने मायादेवीले व्यवस्थापकको भूमिका निर्वाह गरेकी थिइन् ।
वि.सं २००८ साल असोजमा प्रियम्बदा शर्माको प्रधान सम्पादकत्वमा ‘प्रभा’ (मासिक) पत्रिका प्रकाशित भयो भने वि.सं २००९ सालमा कुन्तीदेवीको सम्पादकत्वमा ‘प्रतिभा’ (मासिक) पत्रिका आयो भने २०१० सालमा रमादेवी ‘जनविकास’ (मासिक) पत्रिकाको सम्पादक तथा प्रकाशकको रुपमा देखापरिन् । उक्त समयमा अरु (मासिक एक÷दुइ अंकमा नै सिमित भैरहेको परिप्रेक्ष्यमा जनविकास मासिक भने १२ अंकसम्म निक्लनुले उनको यसप्रतिको अनन्त लगाव र समर्पण पाउन सकिन्छ ।
त्यसैगरी वि.सं २०११ सालमा ‘जनसाहित्य’ (द्वैमासिक) नामको अर्को पत्रिका पनि रमादेवीले नै निकालेको प्रमाण भेटिन्छ । यदि समयको गतिसँगै त्यो क्रम अगाडि बढ्न सकेको भए अवस्था निकै राम्रो भैसकेको हुन्थ्यो । तर देशमा व्याप्त राजनीतिक अस्थिरता, शिक्षाको अभाव तथा रुढ पारिवारिक–सामाजिक मूल्यमान्यताले गर्दा यस क्षेत्रमा महिला सहभागिताको अवस्था न्यून रहेको पाइन्छ ।
रेडियोमा महिला प्रवेश
नेपालमा २०४६ सालको राजनीतिक परिवर्तन र यसले सिर्जना गरेको खुल्ला वातावरणले सिंगो सञ्चार क्षेत्रमा विकासको ढोका खोलिदियो भने २०६२÷०६३ को राजनीतिक परिवर्तनले त झन छापा विद्युतीय सञ्चार क्षेत्रमा विकासको बाढी नै आयो र नयाँ नयाँ सञ्चार संस्थाको स्थापना हुँदै गयो । जसले गर्दा महिलाहरुलाई यस क्षेत्रमा पहिलेभन्दा बढी संख्यामा संलग्न हुने अवसर प्राप्त भयो तर दुःखको कुरा सञ्चार माध्यमको विकासको अनुपातमा त्यसमा संलग्न हुने महिलाको संख्या निकै कम पाइन्छ ।
साथै संलग्न हुनेहरु पनि साधारण पदमा रहने र निर्णय गर्ने तहमा नपुग्ने खतरा बिकराल छ । संलग्न महिला सञ्चारकर्मीले पनि किन सोचेअनुरुप सफलता प्राप्त गर्न सकिरहेको छैनन् ? किन अहिलेको खुल्ला र प्रजातान्त्रिक समयमा पनि निर्णायक तहमा पुग्न सकेका छैनन् । के कारण महिलाहरुको संलग्नता यस क्षेत्रमा कम भएको हो ? २०५२ सालमा एफएम रेडियोसम्बन्धी सरकारी नीति तयार भएपछि रेडियो नेपालले १०० मेघाहर्जमा २०५२ साल कार्तिक ३० देखि काठमाण्डु एफएमका नाममा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रारम्भ गरेको थियो ।
त्यसपछि नेपाल वातावरण पत्रकार समूहको सक्रियतामा रेडियो सगरमाथाले वि.सं २०५४ साल जेठ ९ मा प्रशारण शुरु गरेर दक्षिण एशियाकै पहिलो सामुदायिक रेडियो बन्न पुग्यो । नेपाल अधिराज्यको संविधान २०७४ ले अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेपछि प्रशारण क्षेत्रमा सरकारले २०४९ सालमा निजी क्षेत्रका संगठित संस्थालाई निश्चित क्षेत्रमा एफएम प्रणालीको रेडियो स्थापना गरी सञ्चालनको लागि अनुमति दिने व्यवस्था गरेको हो ।
पोखरामा २०५७ सालदेखि एफ.एम रेडियो स्थापनाको क्रम चल्यो । सर्वप्रथम माच्छापुच्छ्रे एफ.एम.ले २०५२ साल चैत ५ गतेदेखि आफ्नो प्रशारण आरम्भ गरेको थियो । २०५८ सालको शुरुदेखि चारवटा एफ.एम स्टेशन सञ्चालनमा आए रेडियो अन्नपूर्णले २०५८ बैशाख १३ गते प्रसारण शुरु ग¥यो । बिहान र साँझ समाचार पढ्न शुरु गरियो । समाचार र समाचार वाचनमा समेत आन्तरिक रुपमा प्रतिष्पर्धा हुन थाल्यो । समाचार वाचनको शैली र स्वरहरु पनि हेर्ने गरियो, यस्तै परिस्थितिमा समाचार वाचनमा महिला स्वरलाई राम्रो र अनिवार्य गरियो । कार्यक्रम प्रस्तोताको रुपमा पनि महिला स्वर राम्रो हुने भएकोले प्रशिक्षण दिई विद्युतीय सञ्चारमाध्यममा प्रवेश गराइयो ।
यसरी पोखरामा एफ.एम स्टेशन आरम्भ हुँदाको बखत महिलाहरुले कार्यक्रम सञ्चालक र प्राविधिककोरुपमा काम गर्ने अवसर पाए । यसै क्रममा माच्छापुच्छ्रे एफ.एमले सुनिता लिगल र रेडियो अन्नपूर्णले पूर्णिमा गुरुङलाई पहिलो महिला प्राविधिकको रुपमा जन्माए । कार्यक्रम सञ्चालकहरुमा मीना गुरुङ –हिमचुली एफ.एम), समीक्षा कोइराला, कविता श्रेष्ठ, कोमल शेरचन, सारिका गुरुङ, विभा गुरुङले काम गरेका थिए । तर अहिले केही महिला मात्रै क्रिकाशिल छन् । अधिकांश विदेश या अन्यत्रै पेशा या त गृहिणीको रुपमा रहेका छन् । हिमचुली एफ.एम की मीना गुरुङले बिदेश, हङकङमा समेत गोर्खा ब्रिटिश फोर्सको समाचार र समाचार मुलक कार्यक्रम सञ्चालन गरेर पोखरामा पहिलोपटक फोनिङ कार्यक्रम भित्र्याएकी थिइन् ।
अहिले महिलाहरु मात्रै सञ्चालक भएर एफ.एम. रेडियो सञ्चालित छन् । महिला प्रमुख रहेका तीन वटा एफ.एम. रेडियो छन् । पोखरामा निजी र सामुदायिक गरी जम्मा २० वटा एफ.एम रेडियो छन् । तिनमा कार्यरत महिलाहरुको संख्या ५० जना जति रहेकोछ (स्वअध्यायन) । मिडियामा पत्रकार महिलाको संख्या केही समयको लागि ह्वातै बढेको देखिएतापनि पुरुष पत्रकारको तुलनामा निरन्तरता दिइरहनेहरु भने कमै देखिन्छ । यसले गर्दा महिलाको क्षमता र दक्षताको विकास पर्याप्त मात्रामा हुन सक्दैन । पत्रकारिता बौद्धिक पेशा हो, कुनै समाचार लेख्नुभन्दा एफ.एम रेडियोमा नलेखी बोल्न सजिलो भएकोले महिलाहरु सञ्चारकर्मी भएर काम गर्न बढी रुचाउँछन् ।
नेपालमा एफ.एम रेडियोको स्थापनापछि पत्रकारिता पेशामा महिलाको आकर्षण र संख्यात्मक उपस्थिति पनि बढ्दै गएको देखिन्छ । रेडियो पत्रकारितामा महिलाको आकर्षण बढेकाले गर्दा पत्रकार महिलाको संख्या पनि बढ्दै गएको छ । छापा माध्यमको तुलनामा विद्युतीय सञ्चार माध्यममा महिला पत्रकारको संख्या र आकर्षण बढेको देखिन्छ ।
नेपालमा एफ.एम रेडियो ५ सयभन्दा बढी खुलेका छन् र अझै पनि खुल्ने क्रममा छन् । सबै एउटै खालका छन् । तर समाचार, समाचारमूलक कार्यक्रम आदिमा नयाँपन भेट्टाउन सकिदैन । जसले गर्दा उक्त रेडियोको महत्वमा समेत ह्रास आउँदै गएको छ । नेपालजस्तो पहाडी र दुर्गम मुलुकका लागि सञ्चारको प्रभावकारी माध्यम रेडियो नै हो । रेडियोले आफ्ना शैली, प्रस्तुती र विषयवस्तुलाई परिस्कृत गर्दै लैजानु पर्दछ । तर रेडियोलाई सस्तोमा काम लगाउने, सोखले बोल्ने र ट्रेनिङ इन्स्टीच्यूट जस्तै बुझिएको छ ।
आम नागरिकलाई सुसूचित गर्ने जिम्मेवारी पाएका एफ.एम. रेडियोहरुले बुुझेर लेखेको, बुझेर शब्दचयन गरेको पाइदैन । यस कारण जस्तोसुकै आर्थिक कठिनाइ भए पनि मिडिया सञ्चालकहरुले दक्ष जनशक्ति राख्नुपर्दछ । रेडियोमा कार्यरत पत्रकारहरुलाई पारिश्रमिक दिनु पर्ला भनेर दक्षका ठाउँमा अदक्ष जनशक्ति, सिकारुहरुलाई राख्ने गरिन्छ जसले गर्दा एफ.एम. रेडियोबाट सहि सूचना सम्प्रेषण हुन सकेको छैन । मिडिया थपिदै जाँदा बेरोजगार पत्रकारहरुको संख्या पनि थपिदै गएको छ ।
रेडियोमा कार्यरत पत्रकार महिलाहरुको क्षमता र दक्षता अभिवृद्धीमा समेत चुनौति देखा परेको छ । समाचार संकलनको सीप र ज्ञान, श्रोतको पहिचान, श्रोतसँग सूचना माग्ने कला र प्रस्तुती प्रमुख विपषय हुन् । यी कला हुँदाहुँदै पनि पारिश्रमिक चित्तबुझ्दो भएन भने कामप्रति जाँगर आउँदैन । अविवाहित हुँदा प्रवेश गरेका महिलाहरु विवाहपश्चात पारिवारिक बोझ र आर्थिक अभावले पलायन हुनुपर्ने अवस्था छ । धेरै पत्रकार महिला जीवनको उत्तरार्धमा लामो समयदेखि गरिरहेको पत्रकारिता पेशा छाडेर अन्य पेशा अंगालेर बस्न बाध्य छन् । (साभारः संहिता नामक पुस्तकबाट)
काठमाडौं । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ अन्तर्गत स्थापना भएको लायन्स अफ नेपाल जर्नालिष्ट क्लबले स्थापना कालदेखि विभिन्न...
काठमाडौं । असार महिना धान रोपेर किसानहरु रमाउने महिना, किनकी मानो रोपेर मुरी फलाउने कृषि प्रधान देश नेपाल यतिबेला, पहाडमा...
भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टीको विधानका बारेमा छलफल सुरु गरेका छौं भन्दै १५औं महाधिवेशनले छोपी सकेको...