अमेरिकी निर्वाचनः सबै राज्यद्वारा मतपरिणाम प्रमाणित, ट्रम्पद्वारा सर्वोच्चमा उजूरी – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

अमेरिकी निर्वाचनः सबै राज्यद्वारा मतपरिणाम प्रमाणित, ट्रम्पद्वारा सर्वोच्चमा उजूरी

नयाँ विकल्प

एजेन्सी – अमेरिकाका सबै ५० वटा राज्य एवं डिस्ट्रिक्ट अफ कोलम्बियाले हालै सम्पन्न राष्ट्रपति निर्वाचनको मतपरिणामलाई प्रमाणित गरेका छन् ।

अमेरिकी राष्ट्रपति चयनका लागि आवश्यक पर्ने इलेक्टोरल कलेजका सदस्यहरु पनि मतपरिणाम प्रमाणित गरेसँगै स्वतः मनोनयन भएका छन् । आगामी सोमबार अर्थात् डिसेम्बर १४ मा इलेक्टोरल कलेजले राष्ट्रपतिका उम्मेदवारलाई औपचारिक रुपमा निर्वाचित भएको घोषणा गर्नेछन् ।

पश्चिम भर्जिनिया राज्य बुधबार राष्ट्रपति पदको निर्वाचन परिणाम प्रमाणित गर्ने अन्तिम राज्य बनेको छ । यस राज्यबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले ५ वटा इलेक्टोरल मत प्राप्त गरेका छन् । राष्ट्रपति–निर्वाचत जो बाइडेनले ३०६ इलेक्टोरल मत प्राप्त गर्ने अनुमान गरिएको छ जबकी राष्ट्रपति ट्रम्पले २३२ इलेक्टोरल मत मात्र प्राप्त गर्नु हुनेछ ।

राष्ट्रपति बन्नका लागि कूल ५३८ इलेक्टोरल मतमध्ये २७० मत आवश्यक पर्दछ । राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको र राष्ट्रपति पदको नतिजामा शंका लाग्ने निराधार दाबी गरिरहे पनि राज्यहरुले चुनावी मतपरिणाम प्रमाणित गरी पठाएका छन् । निर्वाचन परिणामलाई चुनौती दिई गत नोभेम्बरको चुनावपछि राष्ट्रपति ट्रम्पका तर्फबाट दायर दर्जनौं मुद्दाहरु राज्य र स्थानीय तहबाट खारेज भएका थिए ।

अमेरिकामा निर्वाचन परिणाम प्रमाणित गर्ने हरेक राज्यका आआफ्नै तरिका र प्रक्रिया छन् । इलेक्टोरल कलेज प्रक्रियाको अर्को प्रमुख कदम भनेको निर्वाचनको बैठक हो । यस वर्ष इलेक्टोरल कलेजको बैठक यही डिसेम्बर १४ मा बस्दैछ । यो बैठकले प्रदान गर्ने मतलाई अमेरिकी कंग्रेस समक्ष हस्तान्तरण गरिन्छ ।

आगामी जनवरी ६ मा बस्ने कंग्रेसको संयुक्त सत्रमा इलेक्टोरल मत गणना र प्रमाणीकरण गरिन्छ । यसैबीच, राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाउँदै केही राज्यको मतपरिणाम बदर गर्न सर्वोच्च अदालतमा निवेदन दिएका छन् । राष्ट्रपति–निर्वाचित जो बाइडेन विजयी हुनु भएका चार वटा राज्यको मतगणनामा समावेश गरिएका लाखौं मतपत्र खारेज गर्न राष्ट्रपति ट्रम्पले सर्वोच्चमा निवेदन दिएकाे अमेरिकी संचार माध्यम सिएनएनले जनाएको छ ।

राष्ट्रपति ट्रम्पका तर्फबाट टेक्सास राज्यका महान्यायाधीवक्ता केन प्याक्सटनले दिएको निवेदनमा जर्जिया, मिचिगन, पेन्सिल्भेनिया र विस्कन्सिन राज्यका लाखौं मतपत्र बदर गर्न माग गरिएको छ । सर्वोच्चमा दिइएको निवेदनमा राष्ट्रपति ट्रम्पले “हाम्रो मुलुक सन् १८६० को निर्वाचन यता सबैभन्दा गहिरो रुपमा विभाजित भएको छ” भनेका छन् ।

निवेदनमा भनिएको छ, “विपरीत पक्षहरुबीच अति धेरै अविश्वास व्याप्त छ, र केही राज्यका निर्वाचन अधिकारीहरुले आफूलाई राज्यका निर्वाचन कानुनमार्फत प्राप्त अधिकारको प्रयोग गर्न असफल भएका छन् ।” टेक्सासका महान्यायाधीवक्ताले तर्क गरेझैं राष्ट्रपति ट्रम्पले चार राज्यले कोरोनाभाइरस महामारीलाई देखाएर चुनावलाई विश्वसनीय बनाउने सबै पक्षलाई बेवास्ता गर्दै आफूखुशी राज्यका कानुनको कार्यान्वयनलाई बेवास्ता वा निलम्बित गरेको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले सन् २०२० को चुनावी परिणामलाई राज्यका संसद मार्फत पुनः समीक्षा गर्न माग गरेका छन् । उनले बाइडेन निर्वाचित भएका चार राज्यका इलेक्टोरल मत खारेज गरी नयाँ टोली पठाउनुपर्ने जिकिर गरे ।

राष्ट्रपति ट्रम्पको नयाँ कदमको समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा रिपब्लीकन पार्टीभित्रै विवाद उत्पन्न भएको छ । केही रिपब्लीकन सदस्यहरुले राष्ट्रपति ट्रम्पका तर्फबाट टेक्सास राज्यका महान्यायाधीवक्ताले सर्वोच्चमा मुद्दा दायर गर्नु अमेरिकी लोकतन्त्रमाथिकै धब्बा रहेको बताएका छन् ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७७ मंसिर २५, १३: ०७

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०७७ मंसिर २५, १३: ०७

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७७ मंसिर २५, १३: ०७

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...