तनहुँको देवघाट स्थित एैतिहासिक चक्रवर्ती मन्दिरमा देवलको उत्खनन शुरु – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

तनहुँको देवघाट स्थित एैतिहासिक चक्रवर्ती मन्दिरमा देवलको उत्खनन शुरु

नयाँ विकल्प

चितवन-नहुँको देवघाट गाउँपालिका–५ स्थित ऐतिहासिक महत्वको चक्रवर्ती मन्दिरमा रहेका देवलको उत्खनन शुरु भएको छ ।

पुरातत्व विभागको टोलीले मन्दिरमा रहेका देवलको उत्खनन शुरु गरेको हो । चार दिनदेखि विभागको टोलीले देवलको उत्खनन थालेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए । “धार्मिक, ऐतिहासिक एवं पुरातात्विक महत्वको क्षेत्र देवघाटधामको मध्यभागमा अवस्थित चक्रवर्ती मन्दिर परिसरमा भग्न अवस्थामा रहेका देवलको उत्खनन् कार्य भइरहेको छ”, उनले भने ।,

“उत्खनन थप १५ दिनसम्म चल्नेछ ।” देवल उत्खनन्का लागि दैनिक २० जना कामदार खटिएका छन् । उत्खनन् कार्यले देवल कुन शैली, कुन ढाँचा र कस्तो कला संस्कृतिको हो भनेर पहिचान गर्न सहयोग पुग्नेछ । “केही महत्वपूर्ण चिज छन् कि भन्नलाई पनि उत्खनन्ले सहयोग पुग्छ”, पौडेलले भने ।

भग्न अवस्थामा रहेको चक्रवर्ती मन्दिर दुई वर्ष पहिला पुरातत्व विभागले रु ८० लाखको लागतमा पुनःनिर्माण गरेको थियो । उत्खनन् हुँदै गर्दा पाल्पाका राजा मुकुन्दसेनले विसं १५०६ मा चक्रवर्ती मन्दिरको समुद्घाटन गरेको शिलालेख भेटिएको छ । सो शिलालेखलाई हाल निर्माण गरिएको चक्रवर्ती मन्दिरको बाहिरी भागमा देखिने गरी राखिएको छ ।

चक्रवर्ती मन्दिर सिमेन्ट र फलामको प्रयोग नगरी निर्माण भएको छ । “देवघाट ऐतिहासिक, पुरातात्विक महत्वको संवेदनशील क्षेत्र हो”, अध्यक्ष पौडेलले बताए , “पुरातत्व विभागले जिल्ला समन्वय समिति, देवघाट गाउँपालिका, क्षेत्र विकास समिति लगायतलाई पत्राचार गरेर उत्खनन गरिरहेको छ । ” उत्खननपछि पुनःनिर्माण गर्दा कस्तो बनाउने भन्ने डिजाइन तयार गरिनेछ ।

मन्दिरको मूल गृह पुनःनिर्मित मन्दिर नै रहने र देवी, गणेश, भैरव, सूर्यका भग्नावशेष संरचनाको ढाँचा र शैली, जग, बरण्डा कस्तो छ भनेर छलफल गर्ने र पुनःनिर्माणको योजना बनाइने जनाइएकोे छ । “बनाउनसक्ने बजेट नभए त्यसलाई सुरक्षित गरेर राख्ने र दर्शनीय बनाउने जिम्मेवारी पनि पुरातत्व विभागकै हो”,उनले भने ।

कालीगण्डकी किनारमा रहेको देवघाटधामको इतिहास मुकुन्दसेनसँग जोडिएको छ । देवघाटधाममा मध्यकालीन भग्नावशेषका रुपमा मुकुन्दसेनले पञ्चदेवल निर्माण गरेका थिए । साथै मणि मुकुन्दसेनको श्री विग्रह शिला पनि रहेको छ । जसलाई चक्रशीलाको नामले चिनिन्छ । मुकुन्दसेनले देवघाटधाममा १२ वर्ष तपस्या गरेको किंवदन्ती रहेको छ ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७७ मंसिर २७, १६: ४२

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७७ मंसिर २७, १६: ४२

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०७७ मंसिर २७, १६: ४२

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...