सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदै – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदै


नयाँ विकल्प,


धनगढी- सुदूरपश्चिम प्रदेशमा आज पुस १५ गते ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ । डोटीसहित यहाँका बझाङ, बाजुरा, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर, कैलाली, डडेल्धुरा जिल्लामा ‘पुसे पन्ध्र’ पर्व धुमधामका साथ मनाइन्छ ।

हरेक वर्ष पुस १५ गते यहाँका स्थानीय तहका गाउँका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ । यस क्रममा १५ हात लामो मुढाको आगो ताप्दै दन्त्यकथा भन्दै रात काट्ने गरिन्छ । पुस १५ का दिन विशेषगरी तरुल, सक्खरखण्ड, फर्सी, पिँडालुलगायतका माटोमुनि उम्रिने चिजलाई उसिनेर खाने चलन छ ।

माटोमुनि उम्रिने पदार्थ खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति, तागत बढ्ने भएकाले खाने गरेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीयवासी रामबहादुर विष्टले बताए । उनले भने , “माटोमुनि उम्रिने चिज खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति आउने भएकाले आजका दिन प्रायः सबैले खाने चलन छ, आजको दिन यहाँ रमाइलो गरिन्छ ।”

आजको दिन यहाँका नागरिकले वन जङ्गलमा काम नगर्ने र बञ्चरो, हँसिया, घाँसपात, दाउरा बान्ने डोरी आदिको पनि पूजा गर्ने चलन रहेको अर्का स्थानीयवासी शिवबहादुर कामीले जानकारी दिए । उनका अनुसार आजको दिन यहाँका प्रायः सबै नागरिक घरमा लगाएको र जङ्गलमा पाइने तरुल खनेर उसिनेर खान्छन् ।

आज तरुल खानैपर्ने मान्यताअनुरूप यहाँका शहरबजार क्षेत्रमा तरुल किन्नेको घुइँचो लाग्ने गदर्छ । पूर्वजका पालाका पौराणिक कथाहरूलाई एक पिँढीबाट अर्को पिँढीमा सम्झिँदै अनि सम्झाउँदै र सुन्दै वा सुनाउँदै यो पर्व मनाउँदै आइएको छ ।

पूर्वजका पालादेखि चल्दै आएका चाडपर्व र यी चाडपर्व मनाउने तिथिमितिलाई मनन गर्दा मान्छेले फुर्सदको समयमा मनोरञ्जन लिने र दिने सोचका साथ तय गरेको पाइएको डोटी उद्योग वाणिज्य सङ्घका पूर्व केन्द्रीय सदस्य तथा दिपायलका स्थानीयवासी डम्बर भण्डारीले बताउए । उनले भने, “आजको दिन यहाँका नागरिकले राजभर जाग्राम बसी पुराना किंवदन्ती सुन्ने र सुनाउने चलन छ, जसलाई सुदूरपश्चिममा ‘बातै’ भन्ने चलन छ ।”

आजको दिन यहाँका नागरिक कसैले पनि काम नगर्ने तथा आफ्नो फुर्सद निकाली खानेकुरो कन्दमुख लाने तथा रमाइलो गर्ने चलन छ । गहुँ छरिसकेपछि गाउँघरतिर पूर्ण फुर्सदिलो महिनाका रूपमा हेर्न सकिन्छ पुस महिनालाई । पुस पन्ध्रको लामो रातलाई कतै कतै कुनिकेउली खाने पर्वका रूपमा पनि लिनइने गरिन्छ ।

सुदूरपश्चिममा मनाइने पुसे पन्ध्रलाई स्वतन्त्रताको प्रतीकका रूपमा लिने चलन छ । घरघरबाट विभिन्न परिकार बनाउन सामग्री लगेर एक ठाउँमा जम्मा भई पकाउने र बाँडीचुँडी खाने चलनलाई यहाँ पुसे पन्ध्र भन्ने गरिन्छ । रातभर विभिन्न पौराणिक र लोककथा, गाउँखाने कथा सुन्ने, सुनाउने साथै गीत–सङ्गीतको समेत भरपुर आनन्द लिने पर्वका रुपमा हेर्न सकिने भएकाले आजको दिन यहाँ निकै महत्वका साथ हेरिने गरिएको दिपायल सिलगढी नगरपालिका–५ का टीकासिंह भण्डारीले जानकारी दिए ।

पछिल्ला दिनमा यो पर्व मात्र औपचारिकता निभाउने ढङ्गले मनाइँदै आएको स्थानीयवासी बताउँछन् । कोरोना कहरका कारण यो वर्ष पहिले जस्तो गरी मनाउन गाह्रो हुने कतिपय स्थानीयवासीको भनाइ छ । यहाँका गाउँघरमा आजको दिन शालिन र भद्र ढङ्गले दिनभरि देउडा खेल्ने तथा महिला पुरुषले सवाल जवाफसमेत फर्काउने गर्दछन् । आजको दिन परापूर्वकालदेखि नै महिला पुरुषसँगै देउडा खेल खेल्ने चलन कायमै रहेको सायल गाउँपालिकाका स्थानीयवासी शिद्धराज जोशीले जानकारी दिए । रासस

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७७ पुष १५, ११: १४

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७७ पुष १५, ११: १४

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०७७ पुष १५, ११: १४

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...