बादी समुदायको पीडा : न जग्गा, न काम – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

बादी समुदायको पीडा : न जग्गा, न काम

हेमन्त केसी, रासस

जाजरकोट – पुस्तौँदेखि जग्गा, जमिन र खास थातथलो नभएका बादी समुदाय पुसको चिसोले हैरान भएका छन् । न

दीको किनारमा माछा मारेर जीविकोपार्जन गर्दै आएका हुन् वा मादल बनाएर बिक्री गरी आएको पैसाले परिवार पाल्ने बादी समुदाय किन नहुन्, सबैको पीडा चिसोबाट कसरी जोगिने भन्ने नै छ । कुशे गाउँपालिका–५ का १४ वर्षीय रमण बादीको विद्यालय जाने उमेरमा बुवासँग माछा मार्नका लागि प्रयोग हुने जाल (पासा) बनाउँदै दिन कट्ने गरेको छ । बुवा गणेशबहादुर बादीसँग दैनिक सोही काम गर्दागर्दै पढ्न नपाएको रमण बताउँछन् ।

गणेश अब पेशा परिवर्तन गर्ने सोचमा रहेको बताउँछन् । “माछा मारेर मात्र परिवार पालनपोषण गर्न निकै मुस्किल भयो, कतैबाट सहयोग पाएको भए अरु काम गर्ने थिएँ”, गणेशले भने । उनले भने “जेठो छोरा भर्खरै जन्मिएको थियो माछा मार्ने कामसँगै फलामबाट भाडा बनाउनतर्फ लागियो । यो कामबाट पनि खासै केही प्रगति भएन ।” गणेशका छ छोराछोरी छन् । उनको एकतलाको खरले छाएको कच्ची घर छ । जुन घर निर्माण गरी गणेश बसिरहेका छन् , सो घर निर्माण गरेको जग्गासमेत उनको नाममा छैन ।

अन्य जग्गाको कुरा त सपनाजस्तै भइसक्यो । ऐलानी जग्गामा एकतले कच्ची घर निर्माण गरी बसेका गणेश आठ जना परिवारको समस्या टार्ने एक्लो व्यक्ति हुन । वर्षैपिच्छे जन्मिएका छोराछोरीको स्याहारसुसार गर्नमै गणेशकी श्रीमतीको दिन बित्ने गर्छ । छिमेकीको घरमा साना छोराछोरीलाई मिठोमसिनो खुवाएको देख्दा आफ्नो घरमा मकैको रोटी आधा पेट खाएर बाँकी छोराछोरीलाई दिई प्राण बचाउनुपरेको बाध्यता फूलमायाको हृदयमा बलियो गाँठो बनेर बसेको छ । दुब्ला, पातला देखिने साना बालबालिकाले पूरै पेट खाना नपाएको बताएका छन् । बिहान खाए, बेलुकी के खाने भन्ने चिन्ताले सताउने गर्छ, फूलमायाले भनिन, “गाउँपालिकाका अध्यक्षसँग जग्गा माग्दा कसैले सुन्दैनन्, हाम्रो कुरा सुन्ने कोही भएन ।

सरकारले आधातले कच्ची घर बनाइदिएपछि बास बसेका छौँ ।” फूलमायालाई छोराछोरी पढाउने इच्छा भए पनि कपडा किन्ने, कापीकलम किन्ने पैसा नहुँदा विद्यालय पठाउन नसकेको पीडा सुनाउइन । “फलामको भाडा बनाए पनि बिक्री हुँदैन, बाहिरबाट फलाम ल्याउनसमेत मुस्किल छ”, गणेशले भने । गाउँगाउँमा डेक, मोबाइलका कारण मादल बिक्री हुन छाडेपछि पुख्र्यौली पेशा छाड्न बाध्य अर्का रामबहादुर बादीले पीडा पोखे । “मादल बनाउन काठ चाहिन्छ तर सामुदायिक वनले जथाभावी काठ काट्न दिँदैन, अनि हाम्रो पेशा कसरी चल्छ”, रामले भने । आधुनिक प्राविधिका कारण मादलको महत्व घट्दै आएको उनको भनाइ छ ।

पुख्र्यौली पेशा माछा मारेर, मादल बनाएर जीवन निर्वाह गर्ने बादी समुदाय अहिले विस्तारै सो पेशा छाड्न बाध्य भएको उनको भनाइ छ । उनीजस्तै कुशे गाउँपालिकामा मात्र ४१ घरभन्दा बढी बादी समुदायको बसोबास छ । कसैको पनि आफ्नो जमिन छैन । शुरुमा रुकुमपश्चिम आठबीसकोटको राडीमा बसोबास गर्दै आएका यहाँका बादी समुदायका सर्वसाधारण कुशे गाउँपालिकामा आएको करिब दुई दशक बितेको छ । आफ्नो निजी जमिन र सम्पत्ति नभएका बादी समुदायका सर्वसाधारण जीवन निर्वाह र आधारभूत आवश्यकता पूरा गर्नका लागि अहिले सङ्घर्षमा रहेको बताएका छन् ।

केही वर्षअघि आफ्ना र अर्काका पीडा गीतमार्फत सुनाउँदै आवश्यक खाद्यान्न, पैसा असुल्दै आएको यो समुदाय अहिले नयाँ जीवन जिउने रणनीति बनाउन अनेक उपायको खोजीमा छन् । उनीहरू अब आफूैं आत्मनिर्भर भएर पीडाको जिन्दगीबाट मुक्ति पाउन चाहेको बताउँछन् । उनीहरूको इच्छा स्थानीय सरकारले जग्गा उपलब्ध गराइदेओस् भन्ने छ । सरकारले एकतले कच्ची घर बनाउन पैसा दिए पनि अन्य जीवन जिउने आधार नदिएको उनीहरूको भनाइ छ ।

स्थानीय सरकारले आयआर्जन गर्न र जीवन जिउने गतिलो उपायसहितको योजना ल्याएर श्रम गर्ने वातावरण सिर्जना गरोस् बादी समुदायको माग छ । आफूहरूलाई भोट खसाल्न मात्र प्रयोगको साधन बनाइएकामा उनीहरू पीडा व्यक्त गर्छन् । “हाम्रो जीवन निर्वाहका लागि ध्यान कसैले दिँदैनन्, मात्र यो गर्छौँ, त्यो गर्छौँ भनी गफ दिन्छन्”, अर्का कालीबहादुर बादीले भने ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७७ पुष २१, १२: १०

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७७ पुष २१, १२: १०

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०७७ पुष २१, १२: १०

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...