पासाङल्हामु राजमार्ग सुधार कार्य शुरू – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

पासाङल्हामु राजमार्ग सुधार कार्य शुरू

नयाँ विकल्प

रसुवा- पासाङल्हामु राजमार्गअन्तर्गत धुञ्चे–स्याफ्रुबीच सानुभार्खु तथा याङयाङ क्षेत्रको सडक मर्मत कार्य शुरू भएको छ । रसुवा तथा नुवाकोट जिल्लाका सडक मार्ग हेर्ने डिभिजन सडक कार्यालय नुवाकोटले पासाङल्हामु राजमार्गअन्तर्गत रसुवा जिल्लाको सानुभार्खु खोल्छा आसपासको असहज स्थानमा ग्याविन पर्खाल लगाउने काम अगाडि बढाएको हो ।

बाह्र घुम्ती क्षेत्रको सतहमा बिग्रिएका सडकसमेत मर्मत अगाडि बढाएकोे छ । समयमै राजमार्ग मर्मतको थालनीले नेपालको उत्तरी नाका रसुवागढीबाट आयात निर्यात हुने सामग्रीको साथै रसुवामा सञ्चालित विद्युत् आयोजनामा एवं अन्य विकास निर्माणका सामग्री ढुवानीमा सहज हुने आशा बढ्न थालेको छ । सडक सतहमा गत वर्ष भएको सामान्य मर्मत सुधारले खाद्यान्न ढुवानीका साथै नियमित चल्ने यात्रुवाहक बस तथा एम्बुलेन्सलगायतका सवारी साधन चलाउन केही सहजता आइसकेको सवारी चालकले बताएका छन् ।

नेपाल–चीनबीचको व्यापार व्यवसाय गर्ने अन्तर्राष्ट्रिय राजमार्ग भएकाले पछिल्लो समय मर्मत सुधारमा सडक प्राविधिकले ध्यान दिन थालेको स्थानीयवासीले बताएका छन् । बेत्रावतीबाट कालिकास्थान, धुञ्चे हुँदै स्याफ्रुबेँसीसम्म ५४ किलोमिटर भू–भागअन्तर्गत राजमार्गको जीर्णस्थान विष्लेषण गरी मर्मतमा पहिलो प्राथमिकता दिने कार्ययोजना अनुरूप काम अगाडि बढिरहेको इञ्चार्ज इञ्जिनीयर राजेन्द्र मर्हजनले जानकारी दिए। टेवा पर्खाल र सडक सतहको ढलान कार्य स्याउबारी तथा ग्राङक्षेत्रमा समेत अगाडि बढाइएको छ ।

यस चालु आर्थिक वर्षभित्र ५४ किमी राजमार्गको इलाकाभित्र ७०० मिटर सडक सतहमा ढलान गर्ने कार्ययोजना बनिसकेको बताइन्छ । लागत अनमान गराई निर्माण व्यवसायी छनोटको कामसमेत सम्पन्न भइसकेकाले सडक मर्मतको काम छिटोछरितो हुने सडक डिभिजन कार्यालयले जनाएको छ । चालु आवमा रसुवा खण्डका पासाङल्हामु राजमार्ग ममर्तमा रु छ करोड ५० लाखभन्दा बढी खर्च हुने प्राविधिकले बताएका छन् ।

नेपाल–चीनबीचको व्यापार व्यवसाय अभिवृद्वि गर्ने रसुवा तथा नुवाकोटका राजमार्ग सुधार गराउन यस वर्ष नेपाल सरकारले यथेष्ट बजेट व्यवस्था गरेको बताउँदै सडक कार्यालयका प्रवक्ता रामप्रसाद पौडेलले राजमार्गको मर्मतसम्भार छिटोभन्दा छिटो सम्पन्न गराउन सम्पूर्ण प्राविधिक समूह अहोरात्र जुटिरहेको जानकारी दिनुभयो । गत आवमा ग्राङ एवं मुलखर्क आसपास क्षेत्रका सडक सतहमा भएको ढलानले सवारी साधन चलाउन निकै सहजता आएको सवारी चालक सुवास तामाङले बताए ।

स्याफ्रुबेँसीबाट रसुवागढी क्षेत्रको १६ किलोमिटर भू–भागको राजमार्ग भने रसुवागढी जलविद्युत् आयोजनाले मर्मत सुधारको काम गर्दै आएको छ । वर्षायामको पहिरो पन्छाउने र हिउँदमा सडक सतह सम्याउनेजस्ता मर्मतका अधिकांश काम जलविद्युत् आयोजनाबाट हुँदै आएको जानकारी दिँदै गोसाइँकुण्ड गाउँपालिका–२ ले सडक निर्माण भएयता हालसम्म टेवा पर्खालको काम भने नभएको बताएको छ ।

चीन सरकारको सहयोगमा निर्माण भएकोे स्याफ्रुबेँसी–रसुवागढी राजमार्गका भू–भागमा डोजरले मिलाएको भरमा मात्र निर्वाधरूपमा सयौँ सवारी साधन आउजाउ भइरहेको टिमुरे घट्टेखोलाका समाजसेवी सुनामवाङदी तामाङले जानकारी दिए ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७७ पुष २२, ११: १९

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७७ पुष २२, ११: १९

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०७७ पुष २२, ११: १९

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...