प्रधानमन्त्रीले भ्रष्टाचारका कर्तुतहरु छताछुल्ला हुने डरले संसद विघटन गरेका हुन ! – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

प्रधानमन्त्रीले भ्रष्टाचारका कर्तुतहरु छताछुल्ला हुने डरले संसद विघटन गरेका हुन !

नयाँ विकल्प

काठमाडाैं- विद्यार्थी राजनीतिबाट खारिएका जुझारु नेता हुन् मोहनप्रसाद बराल । जनताको कामप्रति सधैं दत्तचित्त भएर लागिपर्ने बराल नेपाली कांग्रेसका पूर्व सांसद पनि हुन् । उनी सिन्धुलीको तत्कालीन क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए । सरकारबाट भएका भ्रष्टाचारविरुद्ध खरो उत्रने बराल स्पष्ट वक्ताको रुपमा चिन्छिन् । सरल जीवनशैली र बौद्धिक व्यक्तित्वले भरिपूर्ण बराल निष्ठावान नेता हुन् । समसायिक विषयमा केन्द्रित रहेर बरालसँग नयाँ विकल्पका लागि कालिका महतले गरेको कुराकानीः


अहिले केमा व्यस्त हुनुहुन्छ ?

प्रधानमन्त्रीले चालेको असंवैधानिक कदम विरुद्ध नेपाली कांग्रेले देशैभरि विरोधका कार्यक्रमहरु राखेको छ । म पनि आफ्नो गृह जिल्ला सिन्धुलीमा विरोध कार्यक्रम लिएर गाउँगाउँमा जाने काममा व्यस्त छु ।

नेपाली कांग्रेस विरोध कार्यक्रम मात्रै घोषणा गरेर बसेको रचनात्मक केही गर्दैन भन्ने गुनासो छ नि के भन्नुहुन्छ ?

हामी सत्तामा हुँदा थुप्रै रचनात्मक काम गरेका थियौं । अहिले पनि गाउँगाउँमा गर्दै अगाडि बढेका छौं । हाम्रा विरोधका काम सबै साथीभाइहरुको समर्थन छ ।

विरोधका कार्यक्रममा कत्तिको जनसमर्थन पाउनुभएको छ ?

हाम्रो कार्यक्रममा जनताले अभुतपूर्व साथ दिएका छन् । ठूलो जनविश्वास नेपाली कांग्रेसप्रति भएको पाएको छु । जसरी प्रधानमन्त्रीले संसद विघटन गर्नुभएको छ, त्यो गैरसंवैधानिक हो । यसको विरोध गर्नुपर्छ भनेर ठाउँ–ठाउँबाट जनताहरु उर्लिएका छन् ।

नेकपाका एकथरी नेपाल बन्दजस्ता काम गरिरहेका छन्, अर्काथरी सत्तामा बसेर बन्द गरिरहेका छन्, त्यो काम त प्रतिपक्षको होइन ? कांग्रेस त चुचाप छ नि ?

नेपाल गर्ने काम नेपाली कांग्रेसले गर्दैन । जीवनमा एकपटक गरेको थियो । त्यसमा राष्ट्रिय÷अन्तर्राष्ट्रिय रुपमै विरोध आयो । त्यसकारण सरकार विरुद्ध अन्य विरोधका कार्यक्रम गर्न सकिन्छ । तर, नेपालै बन्द जस्ता ध्वंसात्मक कार्यक्रममा गर्न सकिँदैन ।

त्यसोभए नेपाली कांग्रेस सांकेति र रचनात्मक विरोधका कार्यक्रममार्फत सन्देश दिएर अगाडि बढ्ने हो ?

नेपाली कांग्रेसले विरोधका कार्यक्रम राख्दा एकदमै प्रजातान्त्रिक ढाँचाले गर्दछ । जहिले पनि रिरोधका स्वरुपलाई शान्तिपूर्ण राखेर कार्यक्रम गर्दछ । तर, कहिल्यैपनि नेपाली कांग्रेसले नेपाल बन्द गर्ने, सडका रेलिङ भाँच्ने, मान्छेसहितको गाडीमा आगो लगाउने, मुठभेड गरेर प्रहरी प्रशासनमाथि ढुंगामुढा गर्ने गर्दैन ।

नेकपाकै एक तप्काले विरोधका कार्यक्रमलाई हिंसात्मक ढंगले अगाडि बढाएको छ यसलाई के भन्नुहुन्छ ?

उहाँहरु जुन स्कुलिङबाट आउनुभएको हो, त्यही गर्नुहुन्छ । जीवनभरि उहाँहरुले त्यही काम गर्नुभयो । राम्रा र शान्तिपूर्ण काम गर्न उहाँहरुलाई आउनुपनि पर्याे नि । ध्वंसात्मक र हिंसात्मक बाहेकका काम गर्न च उहाँहरु जान्नुपनि हुनुहुन्न होला । चाहे सत्ता बस्ने हुन्, चाहे फुट्न खोजेर बाहिर किस्नुभएको छ । उहाँहरु दुवै पक्षले तोडफोड गर्ने, जनतामा आतंक बच्चाउने, सरकारमा रहनेले भ्रष्टाचार गर्ने, देशलाई लथालिङ्ग बनाउने काम गर्नुभएको छ ।

फुटेकाले त गरे तर प्रधानमन्त्रीले पनि प्रदर्शन गर्नुभयो नि यो सान्दर्भिक छ ?

प्रधानमन्त्रीले आभसभा नै गरेर त्यति कुरा भन्नुपर्ने थिएन । तर, त्यो माधव नेपाल, प्रचण्ड र झलनाथलाई देखाउन गर्नुभएको होला । ‘हेर तिमीहरुभन्दा म ठूलो छु’ भनेर । उहाँको यो कार्यक्रमको कुनै सान्दर्भिकता छैन ।

प्रधानमन्त्रीले पटकपटक बोल्दा असंवैधानिक कुरा बोलिरहनुभएको छ । भीडबाट नेकपा र सूर्य छाप कसको हो ? भन्न लगाउनुहुन्छ । देशमा यति धेरै समस्या छ । त्यसप्रति केही विचार गरिएको छैन । हावादारी कुरा बोलिरहनुभएको छ । अहिले प्रधानमन्त्रीले जे गरिरहनुभएको छ । यी क्रियाकलापलाई हेर्दा सबै असंवैधानिक छन् । उहाँ अत्यन्तै प्रतिकूल अवस्थामा पुगिसक्नुभएको छ । प्रधानमन्त्रीको पदमा सबेर व्यक्तिगत कटू आलोचनाबाहेक केही गर्नुहुन्न ।


त्यसोभए प्रधानमन्त्रीले जनप्रदर्शन गर्नुपर्ने आवश्यकता थिएन ?

उहाँले त्यो प्रदर्शन कसलाई देखाएको ? माधव नेपालहरुलाई देखाएको कि कांग्रेसलाई देखाएको ? अहिले उहाँभन्दा ठूलो शक्ति नेपालमा कुन छ ? राजा छैन । कि राजा ल्याउन गरेको भनेको भए त्यो पनि मान्नुहुन्थ्यो । अनि आफै कार्यकारी प्रधानमन्त्री भएर आफैले सडकमा मान्छे ल्याएर प्रदर्शन गरेर आफै अध्यक्ष भएको पार्टी कसको हो ? भन्नुहुन्छ । आफै चुनाव जितेर आएको चिन्ह देखाएर सूर्य छाप कसको हो भन्नुहुन्छ । त्यसकारण उहाँ जे गरिरहनुभएको छ, त्यो असंवैधानिक र व्यक्तिगत घमण्डबाहेक केही होइन ।

नेपाली कांग्रेसको विरोधका कार्यक्रमबाहेक भावी रणनीति के छन् ?

हामीहरुले अहिले भावी रण्नीति भन्दा पनि अदालतको मर्यादालाई हेरेर बसेको छ । अब अदालतले निर्वाचन गरे भन्यो भने त्यसमा पनि जाने भनेका छौं । तर, यो गैरसंवैधानिक कदम हो । अदालतको मर्यादालाई हेरेर हामीले पुनःस्थापनामा एकोहोरो जान नसकेको हो । अब अदालतबाट कस्तो निर्णय आउँछ । त्यसपछि कांग्रेसले आफ्नो रहणनीति बनाउँछ ।

नेपाली कांग्रेसलाई पुनःस्थापना भयो भने सत्तामा जान पाइन्छ भनेर चुपचाप बसेको भन्ने आरोप छ नि ?

पुनःस्थापना भयो भने यसै हो भन्न सकिँदैन, त्यो त भागमा आउन पनि सक्छ । हामीले भनेर नेपाली कांग्रेसका शीर्ष नेताहरु रोकिनु हुन्न होला । तर, संसद पुनस्थापना बाहेकको संवैधानिक विकल्प चाहीं म देख्दिँन । सर्वोच्च अदालतले जे भने पनि संविधानमा लेखेका कुरा त हामी पढेलेखेका सबैले पढ्न सक्छौं । त्यसैले संसद पुनस्थापनामा कुनै समस्या छैन अहिलेको संविधानमा ।

पुनःस्थापना गरेर चुनावी सरकार बनाउँदा संवैधानिक हुन्छ भन्ने लाइन हो कांग्रेसको ?

पुनःस्थापना गरेर सरकार बनाएपछि अर्को चुनावी सरकार नै बनाउनु पर्दैन । अब रेगुलर चुनाव आउन पनि १६,१७ महिना बाँकी छ । अब १४, १५ महिनापछि चुनावको मिति तोक्ने दिन आइसक्छ नि । पुनःस्थापना गरेर नयाँ सरकार बनाउने त्यसले चुनाव गर्दा थोरै भएपनि संवैधानिक हुन्छ । त्यो नै संविधान र व्यवस्था टिकाउने उपयुक्त बाटो हो । त्यसैले संसद पुनःस्थापना हुँदा धेरै राम्रो हुन्छ ।

त्यसोभए असंवैधानिक ढंगले गरिएको विघटनको विरोधको विकल्प छैन ?

असंवैधानिक कदमको विरोधको विकल्प छैन । तर, अहिले निर्वाचन आयोगले जुन प्रपञ्च गरेर पार्टी फुट्ने निर्णय दियो । त्यो पनि मलाई सान्दर्भिक छ भन्ने लाग्दैन । प्रधानमन्त्रीले ल्याएको पार्टी फुट्ने विधेयक पनि असंवैधानिक थियो ।

त्यसरी सबै संवैधानिक आयोगहरुले निर्णय दिने हो भने ती आयोगहरु पनि विस्तारै निकम्मा हुँदै जान्छन् । त्यसरी संवैधानिक आयोगहरु प्रधानमन्त्रीको छायाँमा पर्नुहुँदैन । फेरि चुनाव गर्ने नियत केपी ओलीको पनि देखिँदैन । किन भने निर्वाचन आयोगले पार्टी फुटाउनको लागि एउटा संविधान सम्मत तरिका नअपनाएर काइते तरिका अगाडि ल्याएको छ त्यो ठीक होइन । चुनाव गराउनको लागि सर्वोच्च अदालतले पनि जति चाँडो फैसला दिनुपर्ने हो । त्यो अवस्था देखिएको छैन । त्यसकारण पनि चुनाव अलिकति सर्छ जस्तो लाग्छ । चुनावै गर्ने कुरामा त प्रधानमन्त्री ओली पनि कठिबद्ध हुनुहुन्न जस्तो लाग्छ ।

प्रधानमन्त्रीले तोकेको मितिमा चुनाव गर्न सक्नुभएन भने नेपाली कांग्रेसले के गर्छ ?

उहाँले तोकेको मिति चुनाव गर्न सक्नुभएन भने राष्ट्रिय सरकारको परिकल्पना गर्नुपर्छ । त्यसको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्छ । प्रधानमन्त्रीले एउटा मिति तोकेर संसद् भंग गर्ने अनि अदालतले चुनावको फैसला गरिदिने अनि चुनावको मिति तय नगर्ने हो भने सबै संवैधानिक संस्था लगायत ओली पनि निकम्मा होलान् नि । त्यसपछि केपी शर्मा ओली संविधानतः प्रधानमन्त्री भइरहन योग्य व्यक्ति रहेनन् नि ।

तोकिएको मितिमा चुनाव गर्न सक्नुभएन भने ओलीको औचित्य समाप्त भयो ?

त्यसपछि त राष्ट्रिय सरकार चाहियो नि । त्यसै जथाभावी गर्न कहाँ पाइयो त ? आफै संसद भंग गरेर असंवैधानिक ढंगले चुनाव घोषणा गर्ने अनि चुनाव पनि गर्न नसक्ने भएपछि सरकारमा रहने आधार कहाँ हुन्छ । त्यसपछि पहिलाको जस्तै राष्ट्रिय सहमतिको सरकार बनाएर देश अगाडि बढ्नुको विकल्प रहँदैन ।

सिन्धुलीमा विरोधका कार्यक्रमहरु निरन्तर राखिरहनुभएको छ ?


हो, हामीले जिल्लाका सबै ठाउँमा विरोधका कार्यक्रमहरु निरन्तर राखिरहेका छौं । हिजो पनि पेशागत संघ, संगठनका कार्यक्रहरु थिए । त्यसमा कर्मचारी, वकिल, शिक्षकलगायत पर्दछन् । त्यो कार्यक्रममा भव्य सहभागिता थियो ।

जिल्ला घुम्दा नेपाली कांग्रेसप्रति आकर्षण कस्तो देख्नुभयो ?
हामीले पार्टी प्रवेश गराउन भ्याइराखेका छैनौं । अहिले नेपाली कांग्रेसमा हरेक गाउँगाउँबाट हजारौं मान्छेहरु आइराखेका छन् ।

तर, नेपाली कांग्रेसले जनता आकर्षित हुने खासै नयाँ मुद्दा त ल्याउन सकेन नि ?

त्यस्तो मुद्दा भन्नाले अहिले त नयाँ मुद्दा आयो । हामीहरु पार्टी अधिवेशनको तयारीमा थियौं । अन्ततः यो देशमा संविधान ल्याउन कम्युनिस्ट सरकारबाट सम्भव भएको थिएन । त्यो नेपाली कांग्रेसले नेतृत्व गरेर ल्यायो । समृद्धिको लागि, संविधानलाई संस्थागत गर्नको लागि र स्थायी शान्तिको लागि यो संविधानको संरक्षण गर्दै अगाडि बढ्छ । र समृद्धिको लागि पनि नेपाली कांग्रेस नेतृत्वको सरकारबाट मात्रै सम्भव छ ।

त्यसोभए यो संविधानको संरक्षण र सम्वद्र्धन गर्न कांग्रेसले मात्रै सक्छ ?

त्यो त अहिले प्रष्टै देखियो नि । किन भने उहाँहरुले यसलाई मिचेर धेरै काम गरिसक्नुभएको छ । संवैधानिक निकायमा पनि काइते तरिकाले नियुक्ति दिने । मन्त्रिमण्ड गठन गर्न पनि त्यसैगरी गर्ने । यी सबै काम प्रधानमन्त्रीले संविधान मिचेर गरिरख्नुभएको छ । अब यो संविधानलाई जीवन्त राख्न र राजनीतिलाई स्थिरता दिनको लागि नेपाली कांग्रेस देशलाई आवश्यकता परिसकेको छ ।

नेपाली कांग्रेस पनि विरोधका कार्यक्रममा एकजुट देखिएन नि ?

एकजुट नै छ नि । सभापति शेरबहादुर देउवा नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमितिले नै यो गैरसंवैधानिक छ भनेर निर्णय गरेको छ । हाम्रा सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायत सबै केन्द्रीय समितिका पदाधिकारीहरु जिल्लामा एकै स्वरमा विरोधका कार्यक्रम लिएर हिँडिरहनुभएको छ । ती कार्यक्रममा बोल्ने क्रममा कसैले अलि चर्को स्वरमा चुनाव हुनुपर्छ भन्छन् । कसैले पुनस्थापना हुनुपर्छ भन्छन् ।

यसले आ–आफ्नो दृष्टिकोण दिने क्रममा बेमेल जस्तो देखिएको हो । विरोधका कार्यक्रममा हिड्दा केही चुनाव भयो भने नेपाली कांग्रेसले सबै जित्छ भन्ने केही साथीहरुलाई लागेको छ । त्यो उहाँहरुको मूल्यांकनको कमजोरी हो । अहिलेको अवस्थामा पुनःस्थापनाबाहेक अर्को उपयुक्त बाटो म देख्दिँन ।

पुनःस्थापना भएन भने चुनाव नगरेर मुलुक अधिनायकवादतिर जान्छ भन्ने तपाईंको ठम्म्याई हो ?

हो, किन भने केपी शर्मा ओलीको चुनाव गर्ने छाँट देखिँदैन । अनि मुलुक एउटा व्यक्तिको लहडमा अधिनायकवादतिर उन्मुख हुन्छ । त्यसकारण अदालतले पनि पुनःस्थापनाबाहेकको बाटो रोज्दैन होला । अदालको मर्यादाको लागि संविधानको रक्षा गर्न जरुरी छ ।

नेकपाले जनमत लत्याएर मुलुकलाई भड्खालोमा हाल्यो, कांग्रेसले जनसमर्थन छ भनेर मातिन थाल्यो भने कसरी थेग्न सक्छ ?

अब कांग्रेस मात्तिएर, बरालिएर जनविश्वासमाथि खेलवाड गर्नेवाला छैन । किन भने हामी पार्टी अधिवेशनको संघारमा पनि छौं । अब नेतृत्व भावी पुस्ताले गर्छ भन्ने विश्वास पनि हामीलाई छ । त्यसकारण युवाहरुलाई पार्टीभित्र राख्नको लागि पनि महाधिवेशनले ठूलो भूमिका निर्वाह गर्छ । अब हिजोको जस्तो अवस्था नेपाली कांग्रेसमा नहोला । युवाहरुको जमात पनि पार्टीभित्र राम्रो भइसकेको छ ।

यो सरकार चौतर्फी भ्रष्टाचारमा चुर्लुम्म डुब्दा पनि कांग्रेसबाट चखिलो ढंगले विरोधको स्वर आएन नि ?

हामीले धैर्यताकासाथ केही समय हेरेका थियौं । सरकारबाट केही करेक्सन भइहाल्छ कि भनेर । यो संसद विघटन हुनु अगाडि भ्रष्टाचार विरुद्ध राष्ट्रिय रुपमा कार्यक्रम घोषणा गरिसकेका थियौं । भ्रष्टाचारको विरोध राष्ट्रिय रुपमा गर्ने भनेर पार्टी लागिसकेको थियो । तर, प्रधानमन्त्रीले भ्रष्टाचारका कर्तुतहरु छताछुल्ला हुने डरले पनि संसद विघटन गरेको हुनुपर्छ ।

त्योसोभए प्रधानमन्त्रीले भ्रष्टाचार लुकाउन संसद भंग गर्नुभएको हो ?

त्यो त पक्कै हो नि । किन भने ३३ किलो सुन काण्डको फाइल पनि प्रधानमन्त्रीकोमा छ । गोकुल बाँस्कोटा प्रकरणको फाइल पनि उहाँसँगै छ । ओम्नी ग्रुप, यति ग्रुप, बालुवाटार जग्गा प्रकरण, वाइडवडी काण्डलगायत सबै घोटाला काण्डका फाइल उहाँले नै राख्नुभएको छ । ती सबैबाट असुलउपर गरेर थन्क्याउनु भएको त होला नि । त्यहीं कर्तुत छोप्नको लागि अहिले नयाँ किसिमले जान्छु भन्नुभयो । यी कर्तुत त उहाँ बाँच्दा मात्रै चल्ने होइन नि । कानुनमा लेखिएका कुरा त उहाँ बितिसक्दा पनि इतिहासमा लेखिन्छ । त्यसैले उहाँ वर्तमानमा मात्रै होइन, भविष्यमा पनि लोकप्रिय हुनुहुन्न । केपी ओली सधैं प्रधानमन्त्री रहनुहुन्न होला, एक दिन उहाँका कर्तुतहरु छताछुल्ला हुन्छन् ।

प्रधानमन्त्रीका पछिल्ला क्रियाकलापले लोकतन्त्रमाथि धक्का पु¥याउन खोजेको जस्तो देखिन्छ, यसलाई नेपाली कांग्रेसले कसरी लिएको छ ?

लोकतन्त्रमाथि धक्का पु¥याउन उहाँको ल्याकतले भ्याउँदैन । उहाँहरु एकदलीय तानाशाही भएपनि अहिले कांग्रेसका कारण लोकतान्त्रिकरण हुनुभएको छ । विश्वका अल्प कम्युनिस्टहरु पनि विस्तारै डेमोक्रेसीप्रति विश्वास गर्दै आएका छन् । त्यसकारण उहाँले लोकतन्त्र मास्न चाहेर पनि सक्नुहुन्न । उहाँले यतिधेरै भ्रष्टाचार गरेर पाप गर्नुभएको छ । त्यो पाप पखाल्न पशुपतिमा बत्ती बाल्न त जानै पर्याे नि ।

केपी ओलीका कारण नेपाली कांग्रेसको अधिवेशन त ओझेलमा प¥यो नि ?

अधिवेशन गर्न समय छ । जेठमा चुनाव भएन भने असारको पहिलो हप्ताबाट गाउँ अधिवेशन सिध्याउँछौं । साउनमा प्रदेश र भदौमा केन्द्रको सिधिन्छ ।

जिल्लामा अधिवेशनको तयारी गरिरहनुभएको छ ?

हो, जिल्लादेखि गाउँतहसम्म पार्टी अधिवेशनको पनि तयारी भइरहेको छ । आम चुनावको पनि तयारी भइरहेको छ ।

हिजो फूर्किएर कम्युनिस्टलाई भोट हाल्नेहरु के भन्छन् ?
कम्युनिस्टलाई भोट हाल्ने मात्रै होइन । कम्युनिस्ट पार्टीका कार्यकर्ता पनि अब हामी कम्युनिस्टलाई भोट हाल्दैनौं भन्न थालेका छन् ।

जनताहरु अहिले चुनाव चाहन्छन् ?

जनताहरु चाँडोचाँडो हुने चुनावबाट त वाक्क छन् । तर चुनाव हुन्छ भनेपछि त्यसकै पक्षमा छन् । पाँच वर्ष चल्छ कि भनेर कम्युनिस्टलाई दिएको यिनीहरु काम नलाग्ने रहेछन् । बरु कांग्रेसलाई दिनुपर्ने रहेछ भन्छन् ।

तपाईं त सुपरिचत नेता सिन्धुलीको लागि कस्तो योजना बनाउनुभएको छ ?

अब सिन्धुली जिल्लाको लागि सडकको संरचनालाई अलि विस्तार गर्नुपर्ने छ । विद्युत् र खानेपानीको तुरुन्त व्यवस्था गर्नुपर्ने छ । त्यसपछि शिक्षालाई गाउँगाउँमा सन्तुलित वितरण गर्न सरकारले एउटा वाइफाइ जोड्ने भनेको थियो । त्यो वाइफाइ नेकपाकै सरकार आएपछि जोडे । त्यो चोरीको रहेछ कुनै स्कुलमा चलेको छैन । इ–लाइबे्ररीको व्यवस्था गर्न सकियो भने शिक्षामा गुणस्तर हुन्छ ।

सामुदायिक विद्यालयहरु राजनीति थलो बनेपछि विद्यार्थीहरु बाहिएका छन् के भन्नुहुन्छ ?

राजनीति थलो भन्दा पनि सामुदायिक विद्यालयमा उचित व्यवस्थापनको अभावले त्यस्तो भएको हो । यहाँका शिक्षकहरु अयोग्य छन् भन्नेमा म त्यति विश्वास गदिँन । यहाँ त लोकसेवा पास गरेका शिक्षकहरु छन् ।

लोकसेवा फेल हुने पनि निजीमा गएर ट्यालेन्ट भएर बसेका छन् । सामुदायिक विद्यालयका शिक्षकहरुलाई उहाँहरुमा भएको सीप र ज्ञानलाई परिमार्जित गरेर लान उचित तालिम अध्ययनको कमी छ । त्यसको साधन, स्रोतको व्यवस्था छैन । निजीमा व्यवस्थापन चुस्त दुरुस्त हुन्छ अनि ट्यालेन्ट शिक्षक छन् जस्तो लाग्छ । सामुदायिकमा उचित व्यवस्थापनको कमीले योग्य शिक्षकले पनि अयोग्य जस्तो देखिएको हो । तर, सामुदायिक विद्यालयका शिक्षक अयोग्य छैनन् ।

सम्बन्धित समाचार

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०७७ माघ २७, १३: ४४

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०७७ माघ २७, १३: ४४

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...

मानवअधिकार आयोगसँग जेनजी आन्दोलनको प्रतिवेदन माग्दै ओलीले पठाए पत्र
मानवअधिकार आयोगसँग जेनजी आन्दोलनको प्रतिवेदन माग्दै ओलीले पठाए पत्र
  • २०७७ माघ २७, १३: ४४

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगमा भदौ २३ र २४ गते भएका घटनासम्बन्धी अनुसन्धान प्रतिवेदन,...