
नवलपरासी । नवलपुरको कावासोतीस्थित बालुवाडाँडाबाट प्यारागलाइडिङ्गको परीक्षण उडान गरिएको छ । बिहीबार पाँच चालकले तीन पटक सफलरुपमा परीक्षण उडान गरेका छन् । चालकदलले एउटा उडान एक्लै र दुई वटा उडान दुईदुई जनासहित उडान भरेका हुन् ।
पर्यटकीय क्षेत्रका लागि नयाँ सम्भावनाको खोजी गर्ने क्रममा प्याराग्लाइडिङ्गको उडान परीक्षण गर्न लागिएको कावासोती नगरपालिका उपप्रमुख प्रेम शङ्कर मर्दनिया थारुले बताए । कावासोती पर्यटकीय दृष्टिले सम्भावनाको क्षेत्र भएकाले यसको परीक्षण थालिएको बताए ।
नगरपालिकाले पर्यटकीय पूर्वाधार विकासमा समेत लगानी गरिरहेको भन्दै प्याराग्लाइडिङ्गको परीक्षण पूर्णरूपमा सफल भएमा यहाँ पर्यटनको नयाँ सम्भावनाको ढोका खुल्ने उपप्रमुख मर्दनिया थारुले बताए ।
पहिलो दिन पाइलट हरि थापाले पहिलो उडान गरेका थिए । बालुवाडाँडाबाट गरिएको उडानको कावासोती–१ मा रहेको पोखरीतालमा सफल अवतरण गरिएको हो ।
बालुवाडाँडा क्षेत्रमा हावाको बाहव, उडान र अवतरण क्षेत्र सबै दृष्टिले प्याराग्लाइडिङको लागि उपयुक्त रहेको प्राविधिक एवं पाइलट हरि पहारी बताए ।
प्याराग्लाइडिङको लागि बालुवाडाँडा उत्कृष्ट स्थान बन्न सक्ने सम्भावना रहेको छ । बालुवाडाँडाको ९२७ मिटर उचाइबाट उडान भरिएको थियो ।
कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुन र प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले अवतरणस्थल पोखरी ताल पुगेर पाइलट दललाई स्वागत गरेका थिए । सो क्रममा नगर प्रमुख पुनले कावासोती नगरपालिकामा पर्यटकीय दृष्टिले हरेक सम्भावना रहेको भन्दै योजना अगाडि बढाउने युवालाई धन्यवाद व्यक्त गरे ।
कावासोती नगरपालिकाले समेत पर्यटकीय क्षेत्रको विकासमा लगानी गर्दै आएको बताउँदै यसको थप व्यवस्थापनमा समेत लागि पर्ने बताए ।
कावासोतीका युवाले स्थानीय उमेश रानाको अध्यक्षतामा बालुवाडाँडा प्याराग्लाइडिङ युवा समूह गठन गरेर यहाँको सम्भावनाबारे अध्ययन र प्रक्रिया अगाडि बढाएका थिए ।
नागरिक उड्डयन प्राधिकरणबाट परीक्षण उडानको अनुमति प्राप्त भएपछि अवश्यक सहकार्यको लागि कावासोती नगरपालिकासँग अनुरोध गर्दा सकारात्मक सहयोग प्राप्त भएको समूहका सचिव विमल रानाले बताए ।
चालक दलले पाँच दिनसम्म परीक्षण उडान गर्ने छन् । नियमितरुपमा प्याराग्लाइडिङ्ग सञ्चालनको लागि कस्तो सम्भावना रहन्छ भन्ने अध्यन गरिने चालक प्राविधिक एवं चालक पहारीले बताए । बालुवाडाँडाकै फरक स्थानबाट परीक्षण उडान गरिने छ ।
यस्तै अवतरणका लागि समेत फरक फरक स्थानको पहिचान गरिने पहारीले बताए । पाँच दिनसम्म गरिने उडानपश्चात् यहाँ व्यावसायिकरुपमा प्याराग्लाइडिङ्गको सम्भावना के रहन्छ भन्ने यकिन हुने बताए तर पहिलो दिनको उडानले यहाँ प्याराग्लाइडिङ्ग सफल हुने देखिएको बताए ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...