रुपाकोट मझुवागढी नगरपालिका विजयखर्कमा एकैसाथ नौ कार्यक्रमको उद्घाटन – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

रुपाकोट मझुवागढी नगरपालिका विजयखर्कमा एकैसाथ नौ कार्यक्रमको उद्घाटन

नयाँ विकल्प
खोटाङ–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा नौवटा कार्यक्रम एकैसाथ उद्घाटन गरिएको छ ।

वडा कार्यालय, स्वास्थ्यचौकी, चम्पावती मावि र महिला समूहको भवन तथा कम्प्युटर ल्याब, सरस्वती मन्दिर, विद्यार्थीका लागि नियमित वितरण गरिने दिवाखाजा तथा टिफिन क्यारी र छात्राका लागि स्यानिटरी प्याडसहित नौ कार्यक्रम उद्घाटन गरिएको हो ।

विजयखर्कस्थित वडा कार्यालयको प्राङ्गणमा सोमबार आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले संयुक्तरूपमा नौवटा कार्यक्रमको उद्घाटन गरेका थिए ।

नगरपालिकाको रु ७० लाखको लागतमा सञ्जीव निर्माण सेवा प्रा.लिले वडा कार्यालय भवन निर्माणको काम सम्पन्न गरेर निर्माण कम्पनीका प्रतिनिधि लालबहादुर विश्वकर्माले वडाध्यक्ष वीरेन्द्रप्रसाद ढकाललाई उक्त भवनको चाबी हस्तान्तरण गरेका छन् ।

नगरपालिकाको रु १ करोड ७० लाख लागतमा पुष्पाञ्जली कन्स्ट्रक्सन प्रा.लि काठमाडौंले निर्माण गरेको स्वास्थ्यचौकी भवनको चाबी पनि सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ ।

यता राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु ७२ लाख र नगरपालिकाको रु २८ लाखमा निर्माण गरिएको चम्पावती माविमा निर्माण गरिएको भवनको चाबी पनि सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

नवनिर्मित विद्यालय भवनभित्र स्थापना गरिएको कम्प्युटर ल्याब र साइन्स ल्याब स्थापना गरिएको छ भने विद्यालयको प्राङ्गणमा सरस्वती मन्दिर स्थापना गरिएको छ । महिला सामुदायिक भवन निर्माणका लागि विभिन्न निकायबाट विभिन्न समयमा गरी रु ५ लाख प्राप्त भएको वडा सदस्य मनिषा खनालले बताईन् ।

संयुक्तरूपमा आयोजना गरिएको उद्घाटन कार्यक्रममा भवन निर्माणका लागि निःशुल्क जग्गादान गर्ने सात जग्गादातालाई समेत सम्मान गरिएको छ ।

वडा कार्यालय तथा स्वास्थ्यचौकी भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने सबै जग्गादातालाई नगरप्रमुख रिजाल र उपप्रमुख राईले सम्मान गरेका थिए ।

वडा कार्यालय भवन निर्माणका लागि वडाध्यक्ष ढकालले ५ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए । यस्तै स्वास्थ्यचौकी भवन निर्माणका लागि चन्द्रकुमारी पोखरेलले पनि पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको वडा कार्यालयले जनाएको छ ।

नगरपालिकाले विजयखर्कमा एकैसाथ आयोजना गरेको नौवटा कार्यक्रमको उद्घाटनमा स्थानीय बासिन्दाको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकारलगायत सहभागी कार्यक्रममा स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुतिसमेत रहेको थियो ।

भौतिक पूर्वााधार निर्माणमा सबैभन्दा अगाडि देखिएको उक्त वडामा सम्पूर्ण सुविधासहितका नयाँ भवन निर्माण सम्पन्न गरेर सञ्चालनमा आएपछि स्थानीय सरकारको अनुभूति भएको स्थानीय बासिन्दाले बताएका छन् ।

पन्ध्र वडा रहेको यस नगरपालिकामा यस वर्ष भौतिक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिइएको छ । जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा ठूलो यो नगरपालिकामा यस वर्ष १५ मध्ये ११ वटा वडामा एउटै किसिमको भवन निर्माण भइरहेको छ ।

एउटा वडाका लागि रु ७० लाखका दरले बजेट विनियोजन गरिएको छ । एउटै किसिमको सबै वडा कार्यालय भवन यही चैत मसान्तभित्र सम्पन्न हुने नगरप्रमुख रिजालले बताए । नगरपालिकामा निर्माणाधीन वडा कार्यालय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । रासस

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७७ चैत्र ३, १३: १४

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७७ चैत्र ३, १३: १४

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७७ चैत्र ३, १३: १४

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...