टाेकियाे ओलम्पिकमा काेराेना प्रभावः विदेशी दर्शकलाई जापान प्रवेशमा निषेध ! – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

टाेकियाे ओलम्पिकमा काेराेना प्रभावः विदेशी दर्शकलाई जापान प्रवेशमा निषेध !


एजेन्सी,
पेरिस, – कोरोनाभाइरसको सङ्क्रमण फैलिएको भन्दै धेरैवटा युरोपेली मुलुकहरुले नयाँ लकडाउन र प्रतिबन्धहरु घोषणा गरेका छन् । उता, टोकियो ओलम्पिक आयोजना समितिले खेललाई सुरक्षित तवरबाट सञ्चालन गर्न भन्दै विदेशी खेल दर्शकलाई जापान भ्रमणमा प्रतिबन्ध लगाएको छ ।

पोल्यान्ड, फ्रान्स र युक्रेनको राजधानी समेतका कतिपय भागमा नयाँ प्रतिबन्धहरु लगाइएका छन् । अधिकांश पसलहरु बन्द गरिएका छन् भने मानिसलाई घरबाटै काम गर्न आग्रह गरिएको छ ।

कोभिड–१९ फैलिन नदिने भन्दै सरकारहरुले लगाएका प्रतिबन्धको विरोधमा युरोपका विभिन्न स्थानमा प्रदर्शन पनि भएका छन् । जर्मनीको कासेल शहरमा क्रुद्ध प्रदर्शनकारीको ठूलो समूह सडकमा आएको थियो । प्रहरी र प्रदर्शनकारीबीच त्यहाँ झडप पनि भएको छ । यसबाहेक लिस्टल, स्वीट्जरल्यान्ड र लन्डनमा पनि प्रदर्शनहरु भएका छन् ।

कासेलमा भेला भएका प्रदर्शनकारीले “लकडाउन अन्त्य गर” भन्दै प्लेकार्ड सहित सडकमा आएका थिए ।

अफ्रिकामा, म्याडागास्करका राष्ट्रपति आन्द्री रजोलिनाले कोरोनाभाइरसको खोप भ्रम रहेको भन्दै खोप अभियानको आलोचना गरेका छन् ।

केही समय मत्थर देखिन थालेको कोरोनाभाइरस सङ्क्रमण पछिल्ला समय पुनः सक्रिय भएको देखिएको छ । अघिल्लो साता विश्वभर कोरोनाभाइरसको सङ्क्रमण १४ प्रतिशतले वृद्धि भएको एएफपीले सङ्कलन गरेको तथ्याङ्कले देखाएको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई पनि चीनको सिनोफार्म खोप लगाएको दुई दिनपछि कोभिड देखिएको छ । प्रधानमन्त्रीका प्रवक्ताले खान हाल आइसोलेसनमा बस्नु भएको र सामान्य लक्षण मात्र देखिएको बताएका छन् ।

फ्रान्समा एक तिहाईभन्दा बढी जनसंख्या लकडाउनमा रहेको छ । तर यो लकडाउन विगतको जस्तो कठोर भने छैन । विद्यालयहरु खुलेका छन् भने सैलुन र चकलेट पसलहरु खुलेका छन् ।

कोभिड विरुद्धको अस्ट्राजेनिका खोपको विवाद अझै साम्य भएको छैन । युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डर लायनले युरोपेली मुलुकलाई खोपमा प्राथमिकता नदिई अन्यत्र निकासी गर्नेक्रम नरोकिए पूरै निकासी रोक्ने चेतावनी दिएका छन् ।

अस्ट्राजेनिका कम्पनीले ९ करोड डोज खोप युरोपलाई दिने भने पनि हालसम्म ३० प्रतिशत मात्र आपूर्ति गरेको छ । कम्पनीले युरोपेली प्लान्टमा उत्पादनमा ढिलाई भएको बताउँदै आएको छ ।

जर्मनीको फन्के सञ्चार समूहसँग कुरा गर्दै लायनले भने , “हामीसँग निकासी रोक्नुबाहेक अर्को विकल्प छैन । यही नै अस्ट्राजेनिकालाई सन्देश हो । अन्य मुलुकका लागि खोप पठाउनुअघि युरोपलाई पहिले खोप दिनुपर्छ, नत्र हामी निर्यात रोकिदिन्छौं ।”

अस्ट्राजेनिकाले युरोपेली युनियनमा आबद्ध मुलुकलाई खोप नदिई बेलायतलाई पहिलो प्राथमिकता दिएर पूरै खोप पठाएको युरोपेली युनियनको भनाई छ । बेलायतले शनिबारसम्म कूल जनसंख्याको कम्तीमा आधा वयस्क जनसंख्यालाई कम्तीमा एक डोज खोप लगाएको छ ।

युरोपेली नियामक निकाय र विश्व स्वास्थ्य संगठनले अस्ट्राजेनिका खोप सुरक्षित र प्रभावकारी रहेको जनाए पनि डेनमार्क, नर्वे, स्वीडेन र फिनल्यान्डले यो खोप लगाउनुअघि अस्ट्राजेनिका सम्बन्धी विस्तृत विवरण प्राप्त गर्न चाहेका छन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र फ्रान्सेली प्रधानमन्त्री जाँ कास्टेक्स दुबैले शुक्रबार अस्ट्राजेनिका खोप लगाएका थिए ।

विश्वभर करिब ४० करोड डोज खोप लगाइए पनि टोकियो ओलम्पिक आयोजक समितिले ठूलो संख्यामा विदेशी दर्शकलाई तत्कालै आमन्त्रण गर्न नसकिने अवस्था रहेको जनाएको छ । “हामीले सबै सहभागीका लागि सुरक्षित र भरपर्दो वातावरण सुनिश्चित गर्नु पर्दछ,” टोकियो आयोजक समितिका प्रमुख सेको हासिमोतोले भन्नुभयो, “यो अपरिहार्य निर्णय हो ।”

ओलम्पिक खेलको इतिहासमै विदेशी दर्शकलाई आमन्त्रण नगरिएको यो पहिलो पटक हो ।

सम्बन्धित समाचार

सरकारी कर्मचारीलाई अब १५–१५ दिनमै तलब
सरकारी कर्मचारीलाई अब १५–१५ दिनमै तलब
  • २०७७ चैत्र ८, १४: ०६

काठमाडौं : सरकारले सरकारी कर्मचारीहरूको तलबभत्ता भुक्तानी प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्दै अब अर्धमासिक रूपमा रकम उपलब्ध गराउने निर्णय गरेको छ ।...

नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
  • २०७७ चैत्र ८, १४: ०६

काठमाडौँ : देशका विश्वविद्यालयहरूले परीक्षाफल सार्वजनिक गरेपछि १५ दिनभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गर्ने सहमति गरेका छन् ।...

कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
  • २०७७ चैत्र ८, १४: ०६

काठमाडौँ : तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका-३ का...