वनमा लागेको डढेलो गाउँमा पस्दा चार घर र एउटा बाख्रा फार्म जलेर नष्ट – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

वनमा लागेको डढेलो गाउँमा पस्दा चार घर र एउटा बाख्रा फार्म जलेर नष्ट

नयाँ विकल्प
खोटाङ–सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि खोटाङमा चार घर र एउटा बाख्रा फार्म जलेर नष्ट भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित सामुदायिक वनमा लागेको डढेलो बुधबार गाउँमा पस्दा बसेरीका तेजविनोद ढकाल, हेमसागर ढकाल, खेमराज ढकाल र बडहरेका दुर्गाबहादुर भुजेलको घर जलेर नष्ट भएको हो ।

स्थानीय जुरेथुम्का र साँघुरी सामुदायिक वनमा लागेको डढेलो हावाहुरीसँगै गाउँमा पसेपछि उनीहरूको घर जलेर नष्ट भएको स्थानीयवासी सागर खनालले बताए । खनालका अनुसार आठ वर्षअघि जङ्गलमा लागेको डढेलो गाउँ पस्दा घर गुमाएका ढकाल परिवारले पुनः निर्माण गरेका घर पुनः यस वर्ष सामुदायिक वनबाट गाउँ पसेको डढेलोले जलेर नष्ट बनाएको हो ।

सामुदायिक वनमा लागेको डढेलो अनियन्त्रित भई गाउँ पस्दा सहकारी संस्थाबाट रु १ लाख ७० हजार अनुदान लिएर बनाएको आगलागी पीडित भुजेलको बाख्रा फार्मसमेत खरानी भएको जनाइएको छ । आगलागी पीडित भुजेलको घरमा भने वर्षायाममा मात्र बस्ने गरिएको थियो ।

डढेलो नियन्त्रणका लागि दिक्तेलबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली डढेलो प्रभावित क्षेत्रमा पठाइएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्राकृतिक प्रकोप समितिका अध्यक्ष मित्रलाल शर्माले बताए । साँझपख घटनास्थल पुगेका सुरक्षाकर्मी र स्थानीयवासीले अहिले पनि डढेलो निभाउने प्रयास गरिरहेका छन् ।

डढेलो निभाउन चम्पावती माविका कक्षा ९ र १० का छात्रछात्रा र शिक्षकसमेत खटिएका स्थानीयवासी किसन भुजेलले बताए । डढेलोले तीन घर जलेको जानकारी आए पनि क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीतिरबाट तीन दिनअघि शुरु भएको डढेलो विजयखर्कको साँघुरी सामुदायिक वन हुँदै अन्य वनमा प्रवेश गरेको बताइएको छ । डढेलोबाट घर जोगाउन कतिपय स्थानीय बासिन्दाले आ–आफ्नो घरको छानामा पानी छ्यापेर बसिरहेका छन् ।

आगोबाट घर जोगाउन छानामा पानी छ्याप्ने क्रममा लडेर स्थानीय मोहन विश्वकर्मा घाइतेसमेत भएको वडाध्यक्ष वीरेन्द्र ढकालले बताए । विश्वकर्माको देब्रे हात भाँचिएको र एम्बुलेन्समा राखेर उपचारका लागि स्वास्थ्य संस्था पठाइएको वडाध्यक्ष ढकालले जानकारी दिए ।

डढेलोले जुरेथुम्का सामुदायिक वनको पूर्व र पश्चिम मोहडा, साँघुरी सामुदायिक वन र भुन्टेम्मा सामुदायिक वनको अधिकांश भाग जलिसकेको स्थानीय बासिन्दाले बताएका छन् ।

सामुदायिक वनमा डढेलो लाग्नुको कारण पत्ता लागेको छैन । सुक्खाग्रस्त क्षेत्रमा पर्ने विजयखर्क र राजापानीका सामुदायिक वनमा बर्सेनि आगलागी हुँदै आएको छ । सामुदायिक वनमा लाग्ने डढेलो कतिपय स्थानीय बासिन्दाले जानाजान लगाउने गरेको पाइएको स्रोतले जनाएको छ । रासस

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७७ चैत्र १२, १२: १२

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७७ चैत्र १२, १२: १२

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७७ चैत्र १२, १२: १२

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...