जनमोर्चामा बिद्रोह भएपछि गण्डकी प्रदेश सरकार निर्माण अन्योलमा – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

जनमोर्चामा बिद्रोह भएपछि गण्डकी प्रदेश सरकार निर्माण अन्योलमा


नयाँ बिकल्प,
पोखरा । राष्ट्रिय जनमोर्चाका तीन सांसद रहेको गण्डकी प्रदेशमा दुई सांसदले पार्टीको निर्णयलाई चुनौती दिँदै विद्रोह गरेपछि प्रदेश सरकार गठन अन्योलमा परेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले यही साता पदबाट राजिनामा दिएपछि नयाँ सरकार बनाउन बहुमत सदस्य जुटाउन प्रयास गरिरहेका विपक्षी दलहरु राष्ट्रिय जनमोर्चाका दुई सांसदे पार्टीको निर्देशन नमान्ने भएपछि अर्को नयाँ सरकार गठन हुने सम्भावनामा चुनौति थपिएको छ ।

सत्तारुढ नेकपा एमाले वा विपक्षी कांग्रेसको नेतृत्वमा सरकार बनाउन जनमोर्चाको सहयोग बिना बहुमत पुग्ने अवस्था छैन । मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीता कुमारी पौडेलले दलहरूलाई तीन दिनभित्र बहुमत जुटाएर सरकार गठनका लागि आउन दिएको समयसीमा आज बुधबार सकिँदैछ ।

काँग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाको समर्थनमा सरकार बनाउन प्रयास भए पनि जनमोर्चाका दुई सांसदले एमाले बाहेकको सरकारलाई समर्थन गर्ने नैतिकता आफूहरुसँग नरहेको भन्दै पार्टी निर्णयलाई नै अस्वीकार गरेपछि बहुमत जुटाउन नसक्ने स्थिति आएको हो ।

जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले काँग्रेस नेतृत्वको गठबन्धनलाई कुनै पनि हालतमा सहयोग नगर्ने बताउँदै आएका छन् । यसअघि मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमाथि मतदान हुने कार्यसूची रहेकै दिन जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएका थिए । तर सोही दिन साँझ उनी अस्पतालमा भर्ना भएको अवस्थामा फेला परेका थिए ।

प्रदेश प्रमुख पौडेलले दुई वा दुईभन्दा बढी दलको सहमतिमा नयाँ सरकार गठनका लागि तोकेको तीन दिनको समयसीमा बुधबार ४ बजे सकिँदैछ । काँग्रेस नेतृत्वको गठबन्धनले बहुमत जुटाउन असफल भएमा प्रदेशमा सबैभन्दा ठूलो दलको हैसियतले पुनः पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्री बन्ने सम्भावना छ ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा नयाँ सरकार बनाउनका बहुमत अर्थात ३१ सांसदको समर्थन आवश्यक पर्छ । काँग्रेस नेतृत्वको गठबन्धनमा काँग्रेसका १५, माओवादीका ११ (सभामुख बाहेक) र जनता समाजवादी पार्टीका २ गरी २८ सांसदमात्र छन् ।

राष्ट्रिय जनमोर्चाका तीनमध्ये एक सांसद पियारी थापाले खुलेरै काँग्रेस नेतृत्वको गठबन्धनलाई समर्थन जनाउँदै आए पनि अन्य दुई सांसदले पार्टीको निर्णय र ह्विपसमेत उल्लंघन गर्ने अडान राख्दै आएका कारण उक्त गठबन्धनमा जम्मा २९ सांसदमात्र पुग्ने देखिएको हो ।

यता एमालेसँग पनि आफ्ना २७ सांसद र स्वतन्त्र सांसद राजीव गुरुङ (दिपक मनाङे) गरी जम्मा २८ मत छ । ठुलो दलका हैसियतमा एमालेले पुनः सरकारको नेतृत्व गर्न पाउने भए पनि मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।

राष्ट्रिय जनमोर्चाले विद्रोही सांसदलाई कारवाहीको तयारी गरेको छ । सांसद कृष्ण थापा र खिमविक्रम शाहीले पार्टी निर्देशनलाई चुनौती दिँदै मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङलाई समर्थन गर्ने जनाएपछि जनमोर्चाका राष्ट्रिय अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेशका आफ्ना सांसदलाई प्रक्रिया पु¥याएर कारवाही गर्ने बताएका छन् ।

२०५१ सालदेखि संसदीय अभ्यासमा आफ्नो पार्टी सामेल रहे पनि अहिलेसम्म कुनै सांसदले अहिलेको जस्तो नालयक चरित्र नदेखाएको भन्दै केसीले पार्टीको निर्देशन नमान्नेलाई कारवाही गरिने बताएका छन् ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ बैशाख २९, १३: ०४

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ बैशाख २९, १३: ०४

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ बैशाख २९, १३: ०४

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...