
नयाँ बिकल्प,
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीको लागि प्रदेश प्रमुख सीताकुमारी पौडेलले आव्हान गरे बमोजिम समय सीमा भित्रै तीन दलको समर्थनमा मुख्यमन्त्रीको दाबी गरेका कांग्रेसका कृष्णचन्द्र नेपालीलाई बाईपास गरी एमालेका पृथ्वी सुब्बा गुरुङलाई मुख्यमन्त्रीको लागि आव्हान गरेकी छन् ।
नेपाली काँग्रेसले बहुमतको सरकारका लागि दावी पेश गरिरहँदा प्रदेश प्रमुख पौडेलले भने ठूलो दलको हैसियतमा एमालेलाई सरकार गठनको लागि आह्वान गरेकी हुन् । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले धेरै दलको समर्थन आफूलाई रहेको भन्दै मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए ।
तीन जना सांसद सदस्य रहेको राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेशमा दुई सांसदले एमालेको पक्षमा र एकले कांग्रेस नेतृत्वको गठबन्धन सरकारलाई समर्थन गरेपछि कसको पक्षमा बहुमत पुग्छ भन्ने सहज अनुमान गर्न सकिएको थिएन् ।
पार्टीको निर्णयलाई चुनौती दिँदै दुई सांसदले विद्रोह गरेपछि प्रदेश सरकार गठन कसले गर्ने भन्ने अन्योल थियो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले यही साता पदबाट राजिनामा दिएपछि नयाँ सरकार बनाउन बहुमत सदस्य जुटाउन प्रयास गरिरहेका विपक्षी दलहरु राष्ट्रिय जनमोर्चाका दुई सांसदको बिद्रोहपछि सकसमा परेको थियो ।
सत्तारुढ नेकपा एमाले वा विपक्षी कांग्रेसको नेतृत्वमा सरकार बनाउन जनमोर्चाको सहयोग बिना बहुमत पुग्ने अवस्था छैन । मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले दलहरूलाई तीन दिनभित्र बहुमत जुटाएर सरकार गठनका लागि आउन दिएको समयसीमा आज बुधबार ४ बजेसम्म थियो ।
काँग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाको समर्थनमा सरकार बनाउन प्रयास भए पनि जनमोर्चाका दुई सांसदले एमाले बाहेकको सरकारलाई समर्थन गर्ने नैतिकता आफूहरुसँग नरहेको भन्दै पार्टी निर्णयलाई नै अस्वीकार गरेपछि एमालेलाई ठूलो दलको मुख्यमन्त्रीको जिम्मेवारी दिने स्पेस प्रदेश प्रमुखले पाएकी हुन् ।
जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा र खिमविक्रम शाही एमाले तिर लागेका छन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा नयाँ सरकार बनाउनका बहुमत अर्थात ३१ सांसदको समर्थन आवश्यक पर्छ । काँग्रेस नेतृत्वको गठबन्धनमा काँग्रेसका १५, माओवादीका ११ (सभामुख बाहेक) र जनता समाजवादी पार्टीका २ गरी २८ सांसदमात्र छन् ।
राष्ट्रिय जनमोर्चाका तीनमध्ये एक सांसद पियारी थापाले खुलेरै काँग्रेस नेतृत्वको गठबन्धनलाई समर्थन जनाउँदै आएकी छन् । अन्य दुई सांसदले पार्टीको निर्णय र ह्विपसमेत उल्लंघन गर्ने अडान राख्दै आएका कारण उक्त गठबन्धनमा जम्मा २९ सांसदमात्र पुग्ने देखिएको थियो ।
एमालेसँग पनि आफ्ना २७ सांसद र स्वतन्त्र सांसद राजीव गुरुङ (दिपक मनाङे) गरी जम्मा २८ मत छ । ठुलो दलका हैसियतमा एमालेले पुनः सरकारको नेतृत्व गर्न पाउने भए पनि मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...