बिबेकशील साझा पार्टीका नेता थापाको कोरोना संक्रमणबाट निधन – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

बिबेकशील साझा पार्टीका नेता थापाको कोरोना संक्रमणबाट निधन


नयाँ बिकल्प,
काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको आज ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा निधन भएको छ।

कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका थापाको उपचारका क्रममा मेडिसिटी अस्पताल ललितपुरमा मंगलबार ४ बजेर २५ मिनेटमा निधन भएको परिवारले पुष्टि गरेको हो।

कोरोना रिपोर्ट नेगेटिभ आएपनि स्वास्थ्य गम्भीर भएपछि उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो। कोरोना संक्रमणबाट मुक्त भए पनि उनको अन्त्येष्टि परिवारका सीमित सदस्यकाबीच गरिने भएकाले अन्त्येष्टि कार्यमा सहभागी नहुन परिवारका सदस्यले आग्रह गरेका छन्।

परिवारको तर्फबाट जारी विज्ञप्ति

हाम्रा छोरा, श्रीमान्, दाई, भान्जा, मित्र, काका, ठूलो बुबा, नाति, मामा, हजूरबुबा, ज्वाइँ, भिनाजु, विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक, विवेकशील साझा पार्टीका पूर्वसंयोजक, उद्यमी, सामाजिक उत्प्रेरक, हाम्रा प्रिय उज्वल बहादुर थापा, ४४, हामी सबैको अथक प्रयास, सहयोग र प्रार्थनाका बाबजुद आज २०७८ साल जेठ १८ गते, अपराह्न ४ः२५ बजे हामीबीच रहनु भएन। हामी उहाँप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौँ ।

उहाँले प्रभाव पारेका जिन्दगीहरू र उनीहरूका सफलताहरू, नेपालको राजनीतिक प्रणालीको सुधार गर्न उहाँले गर्नुभएका हस्तक्षेपहरु, युवाहरूलाई राजनीतिको मूलधारमा समावेश गर्न उहाँको उत्प्रेरणा तथा सहयोग लामो समयसम्म सम्झिइनेछ र त्यसलाई इतिहासले सकारात्मक किसिमले मूल्याङ्कन गर्नेछ भन्ने हामीलाई लागेको छ।

उज्वल थापा व्यक्ति मात्र नभई, एउटा दर्शन र विचार पनि हो र सोहीमा उहाँ जीवन्त रहनु हुनेछ भन्ने हाम्रो अनुभूति हो। उहाँले देखेका सपना पूरा गरी हरेक नेपालीको मुहारमा खुसी ल्याउन हामी सबै दृढ संकल्पित छौँ।

उहाँको उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीहरूप्रति हामी आभारी छौँ। यस्तो विषम परिस्थितिमा धैर्य धारण गरी संयमताका साथ उज्वलको लागि साथ, सहयोग दिनुहुने र अनवरत प्रार्थना गरिरहनु भएका उज्वलका आफन्तजन, नेपाल भित्र र बाहिरका साथी तथा शुभेच्छुक सबैप्रति हामी कृतज्ञ छौँ।

तपाईंहरूले व्यक्त गर्नुभएका सद्भाव, सदिच्छा तथा प्रार्थनाको लागि हामी आभारी छौँ। नेपालका राष्ट्रपतिज्यू, नेपाल सरकार तथा विभिन्न राजनीतिक दलका तर्फबाट व्यक्त भएको सहयोग गर्ने इच्छा, सद्भाव र शुभेच्छाको लागि हामी कृतज्ञ छौँ।

अन्तिम पटक गरिएको कोरोना भाइरस परीक्षणमा नतिजा नेगेटिभ रहेको भए पनि अहिलेको संक्रामक रोगको समयमा उहाँको अन्तिम संस्कार एउटा साधारण पारिवारिक तवरले सम्पन्न गर्ने परिवारको इच्छा भएकोले सम्भव भएसम्म सहभागी नभइदिनुहुन हामी आग्रह गर्दछौँ।
उज्वल बहादुर थापाको परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट,
२०७८ जेठ १८ गते

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७८ जेष्ठ १८, १८: ५६

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७८ जेष्ठ १८, १८: ५६

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७८ जेष्ठ १८, १८: ५६

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...