
नयाँ बिकल्प,
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
शर्मासहित कर फछ्र्यौट आयोग, २०७१ का अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो। उनीहरुमाथि एक अर्ब तेत्तीस लाख २० हजार तीन सय ८५ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा सोही बराबरको बिगो दाबी गरिएको छ।
करदाताहरूसँग बदनियतपूर्वक कर फछ्र्यौट सम्झौता गरी सरकारलाई प्राप्त हुने ठूलो मात्राको राजश्व चुहावट गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।
‘करदाताहरूको बिभिन्न कर शीर्षकमा कर बक्यौता रहेको र कर फछ्र्यौट आयोगका पदाधिकारीहरूले आपसी कुराकानीलाई मात्र आधार लिई कर छुट दिने गरी सम्झौता गरी मनोमानी किसिमले बदनियतपूर्वक एक अर्ब तेत्तीस लाख बीस हजार तीन सय पचासी रुपैयाँ बक्यौता कर छुट दिएको पुष्टि हुन आयो’ अख्तियारले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
उनीहरुलाई भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र जरिवानाको समेत माग गरिएको छ। अख्तियारको प्रमुख आयुक्तमा नियुक्त भएदेखि भ्रष्टाचारमा अनुसन्धान थालेका प्रेमकुमार राईले एउटा ठूलो प्रकरणको मुद्दा अदालतमा दर्ता गराएका हुन्।
कर फछ्र्यौट आयोगका शर्मासहितका पदाधिकारीविरुद्ध एक अर्ब बढीको भ्रष्टाचार मुद्दा शर्मालगायतसँग लामो समयसम्म बयान लिएपछि प्रमुख आयुक्त राईको निर्देशनमा उक्त मुद्दा दर्ता भएको हो।
आन्तरिक राजश्व विभागका महानिर्देशकमा लामो समयसम्म बस्ने सहसचिव शर्मालाई २०७१ माघ २२ गते आयोग ऐन, २०३३ अनुरुप कर फछ्र्यौट गर्न सरकारी समिति बनेको थियो। उक्त समितिले अधिकारक्षेत्र बाहिर गई करदाताहरूसँग कर फछ्र्यौट सम्झौता गरी सरकारलाई नोक्सान हुनेगरी सम्झौता गरेको थियो।
समितिका पदाधिकारी रहेका प्रतिवादीहरूले कर फछ्र्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी आफ्नो व्यक्तिगत लाभ हुने तथा राज्यलाई हानिनोक्सानी भएको प्रमाण समेत अख्तियारसँग रहेको उल्लेख गरिएको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले उल्लेख गरेबमोजिम बिगो कायम गरी दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम कैद गरी दफा ७ बमोजिम जरीवाना सजाय माग गर्दै विशेष अदालत ऐन, २०५९ को दफा ९ समेतको आधारमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...