मुलुकको ४४औं प्रधानमन्त्रीमा देउवा (रुवाखोलादेखि सिंहदरबारसम्मको यात्रा) – Naya Bikalpa
November 8, 2025, Saturday      Epaper

मुलुकको ४४औं प्रधानमन्त्रीमा देउवा (रुवाखोलादेखि सिंहदरबारसम्मको यात्रा)


नयाँ विकल्प,

काठमाडौं । सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुराको दुर्गम एवम् ग्रामिण क्षेत्र असिग्रामस्थित रुवाखोलामा २००३ जेठ ३१ गते जन्मिएका शेरबहादुर देउवा मुलुकको ४४औं प्रधानमन्त्री भएका छन्।

नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका पार्टी सभापति देउवाको लागि प्रधानमन्त्री पदको जिम्मेवारी पाचौँ पटक हो। उनी नेपालको संसदीय इतिहासमा लगातार ६ पटकसम्म जनताबाट निर्वाचित हुने भाग्यमानी नेता हुन् (विजय गच्छदार ६ पटक)।


२०४८, २०५१ र २०५६ सालको संसदीय निर्वाचन, २०६४ र २०७० को संविधानसभा सदस्य निर्वाचन तथा २०७४ को संघीय संसदको प्रतिनिधिसभामा लगातार डडेलधुरा जिल्लाबाट निर्वाचित हुँदै आएका छन्।

पीता प्रसादसिंह र माता धनादेवी देउवाका जेठा छोरा देउवाले प्राथमिक शिक्षा स्थानीय असीग्राम प्राथमिक विद्यालयबाट, निम्न माध्यमिक शिक्षा महेन्द्र माध्यमिक विद्यालय र माध्यमिक शिक्षा डोटीको उच्चकोट सीताराम माध्यमिक विद्यालयबाट लिएका थिए।

२०२१ सालमा प्रवेशिका परिक्षा (एसएलसी) उतिर्ण गरेपछि देउवा स्थानीय र जिल्लावासीले रोज्दै आएको भारतको नैनीतालमा उच्च शिक्षा लिने बाटो परिवर्तन गर्दै राजधानी काठमाडौं आएका थिए। उनको सो यात्रा नै मुलुकको नेतृत्व गर्ने बाटो थियो।

२०२१ सालमा काठमाडौंको त्रिचन्द्र कलेजमा भर्ना भएका देउवाले कानूनमा स्नातक र त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रामा स्नातकोत्तर गरेका छन्। देउवाले लण्डन स्कूल अफ इकोनोमीमा अध्ययनको फेलोसीपको अवसर पनि पाएका थिए।

देउवाको चुनौतिपूर्ण राजनीतिक यात्रा

२०२१ सालमा सुदूरपश्चिमबाट नेपाल (काठमाडौं) पढ्न आएका देउवाको निडर, दृढ र प्रतिवद्ध हुने स्वभावबाट प्रभावित भएर कांग्रेसका तत्कालिन नेता महामना बिपी कोइरालाले उनलाई नेपाल विद्यार्थी संघको सभापतिमा रोजे र नेविसंघको पहिलो अधिवेशनबाट पहिलो निर्वाचित सभापति बने।

नेविसंघको सभापति हुन उनलाई कोइराला परिवारकै सदस्य बिपिन कोइराला र रामचन्द्र पौडेलले प्रतिष्पर्धाको चुनौति समेत दिएका थिए। नेविसंघभित्र राजनीतिमा सक्रिय भएसँगै पञ्चायतकालिन कालरात्रीमा देउवाले जेलनेलसहित चरम शारिरीक यातना पनि बेहोरे।

निडर, हठी स्वभावका कारण उनलाई जेलमा दिएको यातनाबाट जिब्रोमा लागेको चोटका कारण उनको आवाज माधुर्य नभएकोमा कतिपयले टिप्पणी पनि गर्ने गर्छन।

विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको राजनीतिमा होमिएका देउवालाई बीपीले सुदूरपश्चिममा पार्टीको जिम्मेवारी दिएर खटाउनु भएको थियो। त्यसबेला देउवा बीरगंज र भैरहवा हुँदै भारतको बाटोबाट दार्चुला, बैतडी हुँदै डडेलधुरासम्मका जिल्लाका ग्रामिण क्षेत्रमा खटिएका थिए।

बेलायतमा अध्ययनका लागि पुगेको देउवालाई पार्टीका तत्कालिन सभापति कृष्णप्रसाद भट्टराईले २०४६ सालको जनआन्दोलनका समयमा नेपाल बोलाएका थिए। २०४७ सालमा पार्टीको केन्द्रीय सदस्य भएका देउवा २०४८ को संसदीय निर्वाचनमा डडेलधुराबाट निर्वाचित भए।

०४८को आमनिर्वाचनमा डडेलधुराबाट देउवाले निकटतम प्रतिद्वन्दी एमालका उम्मेदवार गोविन्दप्रसाद कलौनीलाई २१ हजार बढी अर्थात सो निर्वाचनमा सबैभन्दा बढी मतान्तरले पराजित गरेर आफूलाई लोकप्रीय जनप्रतिनिधि भएको प्रमाणीत गरेका थिए।

पार्टी महामन्त्री तथा पार्टी संसदीय दलका नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा देउवा गृहमन्त्री बनेका थिए। गृहमन्त्री बनेको पाँच वर्षभित्रै देउवा मुलुकको प्रधानमन्त्री बनेका थिए।

२०५०मा काठमाडौं क्षेत्र नं १ मा भएको उपनिर्वाचनमा कांग्रेस सभापति कृष्णप्रसाद भट्टराई उम्मेदवार बनेपछि प्रधानमन्त्री कोइरालासँग भएको टकरावको बेला देउवाले, नेताहरु रामचन्द्र पौडेल र शैलजा आचार्य(स्वर्गीय)को जस्तै तठस्थ र सन्तुलित भूमिका निर्वाह गरेका थिए।

२०५१ मा तत्कालिन प्रधानमन्त्री कोइरालाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम फेल भएपछि भएको मध्यवधि निर्वाचनमा बहुमतप्राप्त दल कांग्रेस दोश्रो ठूलो दल बन्यो। तर, देउवा संसदीय दलको नेता बने।

एमाले अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको सरकार २०५२ साल भदौमा ढालेर देउवा संयुक्त सरकारको प्रधानमन्त्री बनेका थिए। मन्त्रिपरिषद् गठन गर्दा ५१ सदस्य बनाएको भनेर टिप्पणी पनि भएको थियो।

राजनीतिको धेरै उतार चढाव बेहोरेका देउवा २०५३ मा काठमाडौंमा भएको पार्टीको ९औं महाधिवेशनमा गिरिजाप्रसाद कोइरालाको सारथीको रुपमा सुदूरपश्चिमाञ्चल प्रदेशबाट केन्द्रीय सदस्यमा पहिलो पटक निर्वाचित भए। त्यसवेला देउवासँगै सुशिल कोइराला, रामचन्द्र पौडेल, भिमबहादुर तामाङ र विजयकुमार गच्छदार गरी पाँच जना मात्र निर्वाचित भएका थिए।

२०५६ सालको आमनिर्वाचनमा देउवा फेरि डडेलधुराबाट निर्वाचित भए। प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई बनाउन सर्बसम्मत निर्णयमा पुगेको तत्कालिन केन्द्रीय कार्यसमितिमा उनको पूर्ण समर्थन थियो, तर जव २०५६ फागुनमा भट्टराईलाई हटाउन खोजियो तब देउवा कोइराला समूहबाट अलग भएका थिए।

पार्टी भित्र तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला भर्सेस कृष्णप्रसाद भट्टराईको आन्तरिक द्वन्द्वमा देउवाले भट्टराईको साथ लिने र दिने काम गरेका थिए।

कोइरालाले अघि बढाएका देउवाले २०५७ माघमा पोखरामा भएको पार्टीको १०औं महाधिवेशनमा भट्टराईको सद्भाव, पुरानो ३६से समूहको समर्थन र आफ्नै बलमा कोइरालालाई नै नेतृत्वका लागि चुनौती दिँदै सभापतिमा उम्मेदवारी दिए।

कोइरालासँग पराजित भएका देउवाको पार्टी भित्रको आन्तरिक संघर्ष त्यसमै रोकिएन। माओवादी जनयुद्धले मुलुक असान्त भएको बेला राजा र सेनाले असहयोग गरेको तथा प्रमुख प्रतिपक्षी दल एमालेले ५७ दिनसम्मको संसद अबरुद्ध गरेपछि पार्टी सभापति कोइरालाले प्रधानमन्त्री भएको एक वर्षमै राजिनामा दिए।

कोइरालाले राजिनामा दिएपछि २०५८ असारमा भएको कांग्रेस संसदीय दलको नेतामा देउवाले शुशिल कोईरालालाई पराजित गर्दै निर्वाचित भएपछि देउवा दोस्रोपटक प्रधानमन्त्री भए।

माओबादी द्वन्द्वका कारण मुलुक हिंसाको भूमरीमा रुमलिएको बेला २०५८ मंसिर ८ गते माओबादीले दाङमा सेनाको गणमा आक्रमण गरेपछि संकटकाल लगायो। संकटकाल थप्ने विषयमा प्रधानमन्त्री देउवा र सभापति कोइरालाबीच बिबाद बढ्दै जाँदा देउवाले सदन अधिवेशन आव्हान गरेको एक दिन अघि २०५९ जेठ ८ गते संसद विघटनको सिफारिस गरे।

२०५९ कात्तिक र मसिरमा पाँच चरणमा मध्यावधि निर्वाचनको घोषणा गरेका देउवाले २०५९ असार ४ गते नेपाली कांग्रेसको सभापति भएको भेलाबाट घोषणा गरे तर पछि सो समूहलाई नेपाली काग्रेस प्रजातान्त्रिक बनाए।

२०५९ असोज १८ गते तत्कालिन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रधानमन्त्री देउवा नेतृत्वको सरकार विघटन गरी लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाए।

तत्कालिन नेकपा एमालेसँगको गठबन्धनमा २०६१ जेठमा कांग्रेस प्रजातान्त्रिकका सभापति देउवालाई प्रधानमन्त्री बनाइयो। सोही वर्षको माघ १९ गते तत्कालिन राजा ज्ञानेन्द्र शाहले मन्त्रिपरिषद्को अध्यक्ष आफै हुने घोषणा भएपछि देउवाले नेतृत्व गरेको कांग्रेस प्रजातान्त्रिकसहित सात दलले आन्दोलन गरेका थिए।

हिंसात्मक राजनीतिमा लागेको माओबादीलाई १२ बुँदे समझदारीमार्फत शान्तिपूर्ण राजनीतिमा ल्याउने कार्यको एक हिस्सेदार दलको सभापतिको हैसियत देउवाले बनाए पनि कांग्रेस सभापति कोइरालाको आग्रहमा देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिक र नेपाली कांग्रेसबीच २०६४ भदौमा एकीकरण भयो।

२०६४ देखि नेपाली कांग्रेसको बरिष्ठ नेता भएका देउवाले २०६७ सालमा भएको पार्टीको १२ औं महाधिवेशनमा शुशिल कोइरालासँग पराजित भए। यसअघि २०६५ मा देउवा कांग्रेस संविधानसभा संसदीय दलको नेतामा रामचन्द्र पौडेलसँग पराजित भएका थिए।

पार्टीको २०७२ फागुनमा भएको १३औं महाधिवेशनमा देउवा प्रतिष्पर्धी रामचन्द्र पौडेललाई पराजित गरी नेपाली कांग्रेसको सभापतिमा पहिलो पटक निर्वाचित भएका थिए। पार्टी सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछिको पहिलो स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन गराए।

२०७४ बैशाखमा चौथो पटक प्रधानमन्त्री भएका देउवाले मंसिर १० र २० गते गरेको निर्वाचनमा पार्टी पराजित भएको भन्दै असन्तुष्ट पार्टी भित्रकै नेताले राजिनामा समेत मागे।

स्थानीय तहको निर्वाचनमा माओबादीसँग गठबन्धन गरेको भन्दै आरोप खेपेका देउवाले मधेशमा आन्दोलनरत दलहरुलाई विश्वासमा लिएर तीनै तहको निर्वाचन गराउन सफल भएका थिए।

देउवा प्रधानमन्त्री भएकै बेला आदिवासी जनजाति प्रतिष्ठान, राष्ट्रिय दलित आयोग गठन भएको थियो भने कमैया मुक्तिको घोषणा, हलिया प्रथाको अन्त्यको घोषणा भएको थियो भने पार्टीमा महिला, दलित, आदिवासी जनजाति, मधेशी वर्गको समानुपातिक प्रतिनिधित्वको प्रावधान शुरु गरेका थिए।

देउवा सन् २००८ देखि २०१२ सम्म सोसलिस्ट इन्टरनेसनलको एसिया प्रसान्त क्षेत्रिय उपाध्यक्ष थिए भने २०१३ देखि सो सङ्गठनको अन्तर्राष्ट्रिय उपाध्यक्ष छन्। प्रजातान्त्रिक आन्दोलनका क्रममा देउवा पटक–पटक गरी नौ वर्ष जेल जीवन बिताएका छन्।

देउवाकी धर्मपत्नी श्रीमती डा.आरजु राणा देउवा संविधानसभाकी सदस्य हुन भने गत २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा कैलाली क्षेत्र नं ६ बाट प्रत्यासी भएकी थिइन्। देउवाका छोरा जयवीर देउवा हुन भने उनको स्वकिय सचिवको भूमिकामा लामो समयदेखि भतिज भान (भानु)प्रसाद देउवा छन्।

प्रधानमन्त्री देउवाले भारत, चीन, भुटान, माल्दिभ्स, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्विट्जरल्यान्ड, ग्रिस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलियालगायत देशको भ्रमण गरेका छन्।

सम्बन्धित समाचार

मतदाता नामावली संकलन उत्साहजनक : आयोग
मतदाता नामावली संकलन उत्साहजनक : आयोग
  • २०७८ असार २९, १७: ५७

काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन  जारी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा...

नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान
नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान
  • २०७८ असार २९, १७: ५७

काठमाडौँ : नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि तत्कालीन कार्यको आह्वान गरेको छ...

नेपाल दक्षिण अफ्रिकासँग पराजित
नेपाल दक्षिण अफ्रिकासँग पराजित
  • २०७८ असार २९, १७: ५७

काठमाडौं : हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ । जितका लागि नेपालले दिएको...