सामाजिक सुरक्षा भत्ता माग्दा युवालाई बाँधेर कुटपिट गरी प्रहरीकै राेहवरमा मिलापत्र गर्ने वडाध्यक्ष पक्राउ – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

सामाजिक सुरक्षा भत्ता माग्दा युवालाई बाँधेर कुटपिट गरी प्रहरीकै राेहवरमा मिलापत्र गर्ने वडाध्यक्ष पक्राउ


नयाँ विकल्प ।

सुर्खेत । सामाजिक सुरक्षा भत्ता माग्न आउने आफ्ना वडावासीलाई दाम्लाले बाँधेर कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा नं २ का वडाध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ।

साउन १५ गते स्थानीय सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरेका उनलाई बिहीबार जाजरकोट प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय पञ्चालाको टोलीले नेपालीलाई उनकै घरबाटै नियन्त्रणमा लिएर सदरमुकाम खलंगा झिकाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

स्थानीयलाई कुटेको भिडियोका आधार र प्रहरी प्रतिवेदन अनुसार मुद्दा चलाउन लागिएको प्रहरीले जनाएको छ। पीडितलाई पनि सदरमुकाम बोलाइएको छ। पीडितले अहिलेसम्म जाहेरी दिएका छैनन्। पीडितको बयान, घटनाको प्रकृति र भिडियोलाई आधार मानेर कानूनी कारबाही हुने प्रहरीले जनाएको छ।

सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीसहित केही व्यक्तिले सोही ठाउँका सर्ते नेपाली (नवीन परियार) बाँधेर लडाई कुटपिट गरेका हुन्।

स्थानीय एक युवकले खिचेको भिडियोमा वडाध्यक्ष आफैंले कुटपिट गरिरहेको देखिन्छ। वडाध्यक्ष नेपालीले दाम्लोले हातखुट्टा बाँधेर कुटपिट गरिरहेका छन्। ‘हल्ला किन गरेको’ भन्दै लुगा च्यातिने गरी वडाध्यक्ष नेपालीसहितका व्यक्तिहरुले कुटपिट गरेको भिडियोमा देखिन्छ।

घटना साउन १५ गतेको भए पनि कुटपिट गरेको भिडियो भने साउन १९ गते मंगलबार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यतिबेला भाइरल बनेको छ। सामाजिक सुरक्षा भत्ता अनियमितताको आरोप लगाएपछि वडाध्यक्ष नेपालीले सर्पेलाई बाँधेर कुटपिट गरेको प्रत्यक्षदर्शीहरु बताउँछन्।

‘सर्पेले वडाध्यक्षलाई भत्तामा अनियमितता गरेको आरोप लगाएका थिए, वडाध्यक्षले त्यही झोकमा कुटपिट गरे’ एक प्रत्यक्षदर्शीले अनलाइनखबरसँग भने। घटना भएकै दिन प्रहरीको रोहबरमा वडाध्यक्षले पीडितलाई आमा चन्द्रा दमाईको जिम्मा लगाएका थिए।

वडाध्यक्षकै डरका कारण स्थानीयहरु केही बोल्न समेत डराउने गरेको स्थानीय बताउँछन्। वडाध्यक्षको गल्तीलाई ढाकछोप गर्ने प्रयासस्वरुप प्रहरीको रोहबरमा मिलापत्र गरिएको छ।

मिलापत्र कागजमा पीडितले अबदेखि गल्ती नगर्ने र गल्ती गरे प्रचलित नियम कानूनअनुसार सजाय भोग्न तयार हुने प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरेको देखिन्छ। स्थानीयका अनुसार वडाध्यक्षले ती युवकलाई डोरीले बाँधेर कुटपिट गरेको र प्रहरी बोलाएर मिलापत्र गरेको खुलेको छ।

भिडियो सार्वजनिक भएपछि वडाध्यक्षले सार्वजनिक गरेको विज्ञप्तिमा घटनालाई ‘प्रहरीले मिलाइसकेको’ उल्लेख छ। इलाका प्रहरी कार्यालय पन्जालको समन्वयमा मिलापत्र गराइएको स्थानीय बताउँछन्।

वडाध्यक्ष नेपाली भने आफूले कुटपिट नगरेको दाबी गरेका छन्। उनले सम्झाइबुझाइ गर्दा अटेर गरेपछि केही व्यक्तिले कुटपिट गरेको बताए । तर, भिडियोमा भने उनी आफैंंले कुटपिट गरेको देख्न सकिन्छ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले भने भिडियो सार्वजानिक भएपछि प्रहरीले स्थलगत छानविन गरेको र पर्सेलाई वडा अध्यक्ष र स्थानीयले नियन्त्रणमा लिएको स्वीकार गरे।

‘वडा अध्यक्षले इलाका प्रहरीलाई खबर गर्नु भएको रैछ, तर प्रहरी घटनास्थलमा पुग्न हिंडेर दुई र तीन घण्टा लाग्छ, प्रहरी त्यहाँ पुग्दासम्म वडा अध्यक्षको रोहवरमा मिलापत्र भैसकेको रहेछ,’ उनले भने।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ श्रावण २१, १६: ३२

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ श्रावण २१, १६: ३२

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ श्रावण २१, १६: ३२

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...