
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म हुने भनेर पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवादेखि संस्थापनइत्तरका नेताले भन्दै आएका छन् । तर, महाधिवेशन व्यवहार त हुने सम्भव नै छैन ।
महाधिवेशन सारेको वा सार्ने अपजसको भारी पार्टी सभापति देउवा बोक्न चाहँदैनन् । पार्टीका नेता रामचन्द्र पौडेल पनि आफ्नै कारणले महाधिवेशन सरेको वा सारिएको भनेर दोष लिन पनि चाहँदैनन् । नेता पौडेलको चाहना त महाधिवेशन सभापति देउवाकै कारणले सरेको भनेर आधार देखाउन पाए हुन्थ्यो भन्ने छ ।
जहाँसम्म पार्टी सभापति देउवाको कुरा छ, उनले सवैको सहमति र सहकार्यमै महाधिवेशन होस् भन्ने चाहन्छन्, तर सभापति देउवाको आमसहमति खोज्ने, विरोध कसैले नगरोस् भनेर अघि बढ्ने चाहना र स्वभावलाई धेरैले कमजोरीको रुपमा लिएका छन् ।
पार्टीको निर्णयमा कसैको चित्त दुखाई नहोस भनेर अन्य सहकर्मी र संस्थापनइत्तर पक्षका असन्तुष्ट नेतालाई समेटेर लैजाने क्रममा निर्णय र निष्कर्षमा ढिलो पुग्ने देउवाको कार्यशैली नि हो । हतारमा निर्णय नगरी सहमतिमै निर्णय गर्ने सुझाव र सल्लाह लिँदैमा हप्तौं र महिनौं लम्विने गर्दा देउवालाई धेरैले निर्णय क्षमतामा कमजोरी भएको टिप्पणी गर्छन् ।
कांग्रेसको १४औं महाधिवेशनको संघारमा देउवालाई पार्टीका आफ्नै सहकर्मी तथा पार्टी उपसभापति विमलेन्द्र निधीले धोका दिएको, अर्का नेता तथा पूर्वउपसभापति गोपालमान श्रेष्ठले आफू पनि सभापतिको आकांक्षी भएको भन्दै प्रचारमा लागिरहँदा सरकारको काम कारबाहीमा सभापति देउवा व्यस्त हुनु पर्दा महाधिवेशनको व्यवस्थापनमा ध्यान नदिएको टिप्पणी पार्टी संस्थापन समूहबाट हुने गरेको छ ।
पार्टी महाधिवेशनको मुखमा अन्य चार राजनीतिक दलको प्रस्तावमा प्रधानमन्त्री बनेका सभापति देउवाले सरकारको नेतृत्वमा गएपछि दैनिक कामकाज मात्रै नभएर कोरोना संकटमा राज्यले जनधनको क्षतिलाई रोक्नुपर्ने प्रथम दायित्वलाई कार्यान्वयन गर्न बढी नै समय दिनु परेको छ । यस्तो बेला स्वभावैले प्रधानमन्त्रीले पार्टी काममा दिने समय कटौति हुन्छ नै । सभापति देउवाले पार्टी संचालनमा जिम्मेवारी दिएका विश्वास पात्रहरुले सोही बमोजिमको जिम्मेवारी पुरा नगरिदिँदा कहिले काहीँ बिरोध र टिप्पणी हुने गरेका छन् ।
देउवाले उपसभापतिमा नियुक्त गरेका निधीले १४औं महाधिवेशनमा सभापतिमै टक्कर दिने घोषणा गर्नु, आफूसँग सभापतिमा प्रत्यासी भएर पराजित बनेका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, गगनकुमार थापाबाट अन्य निर्वाचित केन्द्रीय सदस्यको भन्दा बढी बिरोध हुनुले देउवाको राजनीति गर्ने शैली र व्यवहार कति उदार रहेछ भन्ने स्पष्ट हुन्छ ।
यहाँसम्मकी एक साताअघि प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा पार्टी पदाधिकारी र केन्द्रीय कार्यसमितिको बैठक राख्दा, स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफै लिएर स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई नियुक्ति गर्दा र आफ्नो सचिवालयबाट आफना बारेमा सकारात्मक सन्देश दिने गरी निर्माण भएका भिडियो क्लिपलाई आत्मप्रसंशा भनी आफैले महामन्त्रीमा नियुक्त गरेका महामन्त्री पूर्णबहादुर खड्का र प्रवक्ता तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माद्वारा सामाजिक सञ्जालमा विरोध भयो ।
सभापति देउवा आफू निकटकाबाटै खासै राजनीतिक लाभ लिने वा लिन पाउने पात्र होइनन्, विगतको इतिहास हेर्ने हो भने देउवाले २०५८ सालमा नेपाली कांग्रेसका तत्कालिन सभपति गिरिजाप्रसाद कोइरालासँग बिद्रोह गरी पार्टी सभापति नै बनाउन प्रस्ताव गरिएका रामन्द्र पौडेलले उनलाई धोखा दिए । त्यसबेला धोका दिएका पौडेल यतिवेला विगत ५ वर्षदेखि देउवालाई नै चुनौति दिइरहेका छन् ।
देउवाले राजनीतिक यात्राको क्रममा पार्टी उपसभापति र कार्यबाहक सभापतिसम्म भएका गोपालमान श्रेष्ठले आफू पूर्वपदाधिकारी भएको नाताले बरिष्ठ नेता हो भन्दै झण्डै तीन वर्षसम्म सभापति देउवासँग गनगन गरिरहे । अहिले पनि श्रेष्ठ आफूलाई पार्टी सभापतिको उम्मेदवार बनाउनु पर्ने भन्दै देउवासँग बार्गेनिङ गरिरहेका छन् । सभापति देउवाले पार्टीको संस्थापनइत्तरका नेता र विचार समूहलाई पनि समेट्ने गरेका छन् । विगतमा पार्टीका प्रभावशाली नेता स्वर्गीय खुमबहादुर खड्काको बलियो समूहलाई देउवाले आफ्नै समूहमा राख्न सफल भएका थिए ।
तत्कालिन नेपाल जनअधिकार फोरम लोकतान्त्रिकलाई नेपाली कांग्रेसमा समाहित गरेका विजयकुमार गच्छदार पनि देउवाको समर्थनमा छन् । यतिमात्रै होइन, तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टीको एउटा बलियो तप्का कांग्रेसमा प्रवेश गराएका सुनिल बहादुर थापा पनि यतिवेला देउवाकै साथ सहयोगी र सारथीको रुपमा उभिएका छन् ।
देउवाले आफूलाई गुन लगाउने वा सहयोग गर्ने पार्टी नेता र कार्यकर्तालाई भने सोही बमोजिमको जिम्मेवारी र अवसर दिने गर्छन् । त्यसको बलियो उदाहरण भनेको पार्टीको केन्द्रीय सदस्यमै चित्त बुझाउन बाध्य पारिएका गृह मन्त्री बालकृष्ण खाँड हुन् । खाँड २०४६ सालको जनआन्दोलनको समयका नेपाल विद्यार्थी संघका शक्तिशाली अध्यक्ष हुन् ।
उनी नेपाल तरुण दलका पनि अध्यक्ष हुन् । पार्टीको १३औं महाधिवेशनमा सभापतिमा देउवालाई जिताउन केन्द्र भागमा रहेर देउवालाई सम्पूर्ण रुपले सहयोग गरेका खाँडले देउवाको नेतृत्वको सरकारले २०७४ सालको प्रदेश र संघीय संसदको निर्वाचन गराउँदा निर्वाचन परिचलानको बागडोर सम्हालेका थिए । पार्टी संसदीय दलको प्रमुख सचेतक खाँडलाई त्यही भएर देउवाले ढिलै भए पनि आकर्षक अवसरको रुपमा गृह मन्त्रालय जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिएका छन् । खाँड सभपाति देउवाको समयका महामन्त्री र सहमहामन्त्रीको स्वभाविक र बलियो दाबेदार थिए ।
देउवाले योगदानको आधारमा मुल्याङ्कन गरेर अवसर पाउने अर्का नेता हुन ज्ञानेन्द्रबहादुर कार्की । उनी नेविसंघका पूर्वअध्यक्ष हुन् । पार्टीमा देउवा सभापति हुँदा महामन्त्री वा सहमहामन्त्रीको बलियो र स्वभाविक दाबा गर्ने कार्कीले देउवासँगै कहिल्यै केही मागेनन्, सँधै देउवालाई विनासर्त सहयोग, साथ, समर्थन र समर्पण गरिरहे ।
देउवाले आगामी भदौको १६ देखि १९ सम्म हुने महाधिवेशनको उद्घाटन गर्ने चाहनालाई ब्रेक लगाउन आफ्ना मात्रै होइन, सभापतिका आकांक्षी रामचन्द्र पौडेलले बाधा नै खडा गरेका छन् । देउवाले विगतको १३ औं महाधिवेशनमा दर्जनौं निर्वाचन क्षेत्रको अधिवेशन नभएको तर यो महाधिवेशनमा बारा र सप्तरी जिल्ला तथा सिन्धुपाल्चोक, धनुषा र सर्लाहीको मात्र बिबाद भएकोले त्यसलाई स्थगित गरेर महाधिवेशन गरौं भन्ने प्रस्तावलाई पौडेलले स्वीकार गर्न सकेका छैनन् ।
उनले १३औं महाधिवेशनका क्रियाशिल सदस्यलाई आधार मानेर महाधिवेशन गरौं वा यही केन्द्रीय कार्य समितिको म्याद २ वर्ष थपौं भनिरहेका छन् । क्रियाशिल सदस्यताको किचलो र बिबाद समाधान गर्न तिर नलाग्ने अनि सभापति देउवाले महाधिवेशन गर्न दिएनन भन्दै असन्तुष्टि व्यक्त गर्न थालेपछि सभापति देउवा यतिवेला सकसमा परेका छन् ।
बरु संस्थापनइत्तरकै भए पनि पार्टी महामन्त्री डा. शशांक कोइरालाले आगामी भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन हुन नसक्ने भन्दै स्थानिय तहको अधिवेशन शुरु गरेर महाधिवेशन आगामी मंसिरमा हुने कुरा सार्वजनिक रुपमा व्यक्त गरिरहेका छन् । महामन्त्री डा. कोइरालाको सो अभिव्यक्तिलाई धेरैले स्वभाविक र व्यवहारिक भएको बताएका छन् ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...